लकडाउनमा दृष्टिविहीन परिवारको व्यथा, ‘कुनै दिन भोको पेट भरिएकाे छैन



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँसका टुक्रा जोडेर बनाइएको त्रिपालको झुपडीकाे  अगाडि मिना बादी मलिन अनुहार निधारमा हात लाएर बसिरहेकी छिन् । छेउमा शिरमा ढाका टोपि, चाउरी परेको अनुहार र आधा शरिर ढाक्ने कपडामा उनका श्रीमान टोलाइरहेका छन् । अघिल्लो रात भोकै सुतिपछि झिसमिसे उज्यालो हुन नपाउँदै बजारमा माग्न हिड्ने उनको दम्पतिमा चरम गरिबीको प्रभाव देखिन्छ । श्रीमती दृष्टिविहीन, सुस्त श्रवण शक्ति भएका बादी दम्पतिको कति बेला चुल्होमा आगो बल्ने ठेगानै हुदँन ।

धेरै दिनदेखि आगो नबलेको आँगन छेउको चुल्हो खरानी बिहीन छ । सुदूरपश्चिम प्रदेशको कैलाली स्थायी घर भएका बादी दम्पति कोहलपुरमा बस्न थालेको मात्रै २२ वर्ष पुग्यो । उता छोरा, बुहारी, नातीनानिती छन् । उनीहरु प्राय भारततिरै बस्छन् । लामो समयदेखि मागेरै गुजारा गरिरहेका उनीहरुको लकडाउन ले त्यो पनि खोसिदियो । साढे २ महिना यतादेखिको लकडाउनले सबै व्यवसाय ठप्प भए । माग्न बजारमा निस्कने अवस्था पनि भएन । जति लकडाउन बढ्दै जान्छ चरम अभाव पनि थपिदै जान्छ । उनीहरु कहिल्यै पनि पेटभरी खाँदैनन् । ‘के गरम त माग्दै जीवन गुजारा भइरहेको छ, कसैले दिएको दिन चुल्हो बल्छ नदिए बल्दैन, कोरोना आयो भन्छन्, बजारमा माग्न भयो भने परैबाट कोही दिन्छन्, कोही दुव्र्यवहार गर्छन् । कहिल्यै पनि पेटभरी खान पाएको दिन छैन’ मलिन आवाजमा उनले भनिन् ।

दमका रोगी श्रीमान पनि राम्रोसँग कान नसुन्ने भएकोले दोहोरो सम्बाद गर्न समेत सम्भव छैन । कोहलपुर–११ को मुख्य सडक क्षेत्रको अलि भित्र खुल्ला चौरमा रहेको उनीहरुको त्रिपालमा जाँदा उनीहरुको कारुणिक अवस्था झल्किन्थ्यो । मिसन टुडे दैनिक त्यहाँ पुग्दा समेत उनीहरु दुईदिनका भोका रहेछन् । भूईमान्छेहरुको जीवन गुजारा गरिरहेका उनीहरुको भोको पेट पुरा खाने कुनै पनि माध्याम छैन । भोको पेट असह्य पीडा भएपछि सुस्त श्रवण शक्ति भएका श्रीमानले आफूलाई बाटोमा डो¥याउँदै लिने गरेको र दुवै जना माग्ने गरेको मिनाले बताइन् । पहिला आफूले काम गरेरै भएपनि जिविका चलाउँदै आएको भएपनि एक वर्ष अघि आँखाको ज्योति गुमेपछि झन् जटिल अवस्था सिर्जना भएको उनी बताउँछिन् । पहिला आफूले कोहलपुर मै ज्याला मजदुरी र इट्टा भट्टाहरुमा काम गर्ने गरेको उनको भनाई रहेको छ ।

उनका श्रीमान दीपे आफूलाई दैनिक पेट भरिने गरि खानेकुरा सँगै, औषधि उपचारको समस्या रहेको बताउँछन् । उनका अनुसार औषधिमुलो गर्न त परै जाओस दैनिक पेटभरी खाने नै प्रमुख समस्या हो । लकडाउनको लामो समय बितिसक्दा समेत चरम गरिबीको रेखामुनी रहेको उनीहरुको अवस्थाम बारेमा यहाँका सरोकारवाला कसैको ध्यान गएको छैन । ‘वडा कार्यालयमा तीन दिन धाएपछि ५ के.जी. चामल दिएका थिए । त्यही चामलले एक छाक मात्रै खाने गरेर १५ दिन जति गुजारा चल्यो । हिजो पनि यहि एक छिमेकी अलिकति चामल दिएकी थिइन् त्यही खायौँ’ मिनाले भनिन् ।

ती दृष्टिविहीन दम्पति बसिरहेको नजिकै खुद्रा व्यापार गर्दै आएकी दिलमाया मगर उनीहरुको अवस्था एकदमै दयनीय भएको बताउँछिन् । उनका अनुसार स्थानीय सरकारले बाँड्ने भनेको राहत यस्ता गरिब, दुःखी र असहायहरुले अझै पाउन सकेका छैनन् । यिनीहरुको अवस्थाको विषयमा धेरै पटक आफूले वडा जनप्रतिनिधिहरुलाई भनेको भएपनि कसैले उनीहरुको पुकार नसुनेको उनको भनाई छ । यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत कोरोना कहरको उच्च जोखिमका बीच नगरपालिका नियन्त्रण र रोकथाममा लागेको जानकारी दिए । उनले नगरपालिकाले पहिलो र दोस्रो चरणमा राहत वितरण गरिसकेकोे बताए । नगरपालिकामा बेवारिसे जीवन बिताइरहेकाहरुलाई नगरपालिकाले राहत उपलब्ध गराउन सकेको छैन नी भन्ने प्रश्नमा उनी भन्छन्, ‘पहिलो चरणमा राहत वितरण गरेका थियौं । दोस्रो चरणमा समेत केही वडामा भयो धेरैमा हुन पाएन । त्यस्ता समस्या भएका व्यक्ति भए मिलाएर सहयोग गर्न सकिन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २४ गते शनिबार