नन्दराम जैशी । सुर्खेत ।
देशभर धान रोपाइँ तीब्र गतिमा भइरहेको छ । तर कर्णाली प्रदेशमा पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । सिँचाइ सुविधा सीमित भएका जिल्लामा किसान आकासे पानीकै भरमा बसेपछि यस वर्षको उत्पादन लक्ष्यसमेत प्रभावित हुने चिन्ता बढेको छ । असार मध्यतिर पुग्दा कर्णालीका अधिकांश किसान भने खेतमा रोपाइँभन्दा बढी आकाशतिर नजर लगाइरहेका देखिन्छन् ।
कर्णाली प्रदेशमा यस वर्ष ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिए पनि हालसम्म १२ हजार १५५ हेक्टर अर्थात् करिब ३० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । असार १५ सम्म अधिकांश खेत हराभरा हुनुपर्ने बेला धेरै स्थानका खेत अझै बाँझै देखिनुले कृषकलाई चिन्तित बनाएको हो । निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुनु र सिँचाइको पर्याप्त व्यवस्था नहुनु रोपाइँ ढिलाइको मुख्य कारण हो ।
कर्णालीका अधिकांश किसान अझै पनि आकासे पानीमै निर्भर रहेको भन्दै पर्याप्त वर्षा नहुँदा रोपाइँले गति लिन सकेको उनले बताए । कर्णालीको भूगोलका कारण रोपाइँको अवस्था जिल्लाअनुसार निकै फरक देखिएको छ । उच्च हिमाली जिल्लामा चाँडै रोपाइँ सुरु हुने भएकाले जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । तर मध्यपहाडी तथा भित्री क्षेत्रमा भने अवस्था निराशाजनक छ ।
कालीकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रूकुम पश्चिममा ३५ प्रतिशत, जाजरकोटमा २० प्रतिशत, दैलेखमा १२ प्रतिशत र सुर्खेतमा मात्र ६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाउँछ । विशेषगरी सुर्खेत, दैलेख र जाजरकोटका किसान पर्याप्त वर्षाको प्रतीक्षामा छन् । कतिपय स्थानमा ब्याड तयार भए पनि खेतमा पानी नजमेकाले रोपाइँ रोकिएको छ । देशभर सोमबार राष्ट्रिय धान दिवस मनाइए पनि कर्णालीका धेरै स्थानमा खेतमा हिलो खेल्नेभन्दा पानीको प्रतीक्षा गर्ने किसानको सङ्ख्या बढी देखिएको थियो ।
नेपालमा विसं २०६१ देखि असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको हो भने मन्त्रीपरिषद्को निर्णयपछि विसं २०६२ देखि यसलाई औपचारिक रूपमा मनाइँदै आएको छ । यद्यपि जुम्लामा भने धान खेतीको भौगोलिक विशेषताअनुसार प्रत्येक वर्ष चैत १२ गते मार्सी धान दिवस मनाइन्छ । प्रदेश सरकारले परम्परागत बारुवा पर्वलाई मान्यता दिएपछि यो अभ्यासले औपचारिकता पाएको हो । कर्णालीको पहिचान उत्पादन मात्र नभइ विश्वकै उच्च स्थानमा धान उत्पादन हुने क्षेत्रका रूपमा पनि हो।
नेपाल कृषि अनुसन्धान परिषद्ले दुई हजार ५०० भन्दा बढी धानका आनुवंशिक स्रोत राष्ट्रिय जीन बैंकमा सुरक्षित राखेको जनाएको छ । कालो धान, शुद्धोधन कालानमक, हरियो काउचिन, कालो पात्ले, रातो अनदी, जोरायल बासमती, झिनुवा र एक्ले लगायतका रैथाने जातको संरक्षण, सूचीकरण तथा मूल्य शृंखला विकासमा समेत काम भइरहेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०८२–०८३ मा कर्णालीका ४० हजार ८८४ हेक्टर क्षेत्रबाट करिब एक लाख ४७ हजार २५० मेट्रिकटन धान उत्पादन भएको थियो ।
प्रदेश सरकारले उन्नत बीउबिजन वितरण, साना सिँचाइ आयोजना, मलको उपलब्धता, कृषक तालिम, वर्षाको पानी संकलन तथा जलवायुमैत्री प्रविधिको विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । तर कर्णालीको कृषि अझै पनि वर्षामुखी भएकाले समयमै पर्याप्त वर्षा नहुँदा सरकारी कार्यक्रमभन्दा किसानको भरोसा अझै पनि आकासे पानीमै सीमित देखिन्छ । निर्देशनालयका अनुसार उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै सिँचाइ पूर्वाधार विस्तार, जलवायु अनुकूल प्रविधि र उन्नत बीउको पहुँचलाई तीव्र बनाउनुपर्ने आवश्यकता झन् बढ्दै गएको छ ।
हाल कर्णालीका किसानका लागि सबैभन्दा ठूलो आशा भनेको समयमै पर्ने मनसुनी वर्षा नै बनेको छ । समुद्री सतहदेखि करिब तीन हजार ५० मिटर उचाइसम्म जुम्लामा चिसो सहने चन्दननाथ–१, चन्दननाथ–३ तथा प्रसिद्ध कालीमार्सी धान खेती गरिन्छ । निर्देशक रोकायका अनुसार माथिल्लो कर्णालीमा रोपाइँ लगभग सकिएको भए पनि तल्लो जिल्लामा भने अहिले मात्र सुरु हुने क्रममा छ ।
मध्यपहाडी क्षेत्रमा खुमल–४, खुमल–८, खुमल–११, छोमरोङ जातको खेती गरिन्छ भने भित्री क्षेत्रमा राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्धेश्वरी तथा चैते धानका जात लोकप्रिय छन् । कृषि विज्ञहरूले यस वर्षको ढिलो वर्षालाई मौसमी घटना मात्र नभई जलवायु परिवर्तनको प्रभावसँग पनि जोडेर हेरेका छन् । निर्देशक रोकायका अनुसार धान उत्पादन दिगो बनाउन अब जलवायु अनुकूलित खेती प्रणाली विस्तार अपरिहार्य बन्दै गएको छ । सुक्खा सहन सक्ने सुक्खा–१ देखि सुक्खा–६ सम्मका जात, डुबान सहन सक्ने सावा मसुली सब–१ र सेहराङ सब–१ तथा दुवै अवस्था सहन सक्ने बहुगुणी–१ र बहुगुणी–२ जात किसानस्तरसम्म विस्तार भइरहेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्