ज्येष्ठ नागरिक दिवासेवा केन्द्रको दानपेटिका चोरी



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–११ स्थित प्रबुद्ध ज्येष्ठ नागरिक दिवासेवा केन्द्रको दानपेटिका चोरी भएको छ । १७ गते रातिको समयमा केन्द्रको पछाडीतर्फको ढोका फोडेर कोठाभित्र ताल्चा लगाएर राखिएको दानपेटिकाभित्र रहेको रकम चोरी भएको हो । केन्द्रका पूर्वअध्यक्ष हरिप्रसाद पौडेलले भवनको ढोका फोडेर अज्ञात समूहले दानपेटिकामा रहेको रकम चोरी गरेको बताए ।

उनका अनुसार प्रबुद्ध ज्येष्ठ नागरिक दिवासेवा केन्द्रजस्तो ज्येष्ठ नागरिकहरूको विश्राम गर्ने थलोमा चोरी गर्ने उद्देश्यले ढोका नै फोडेर रकम लिने घटना अत्यन्तै दुःखद् छ । केन्द्रमा आउने ज्येष्ठ नागरिकहरूले आफ्नो गाँस र नास्ता कटाएर जम्मा गरेको रकम चोरी हुनु गम्भीर सुरक्षा चुनौती रहेको देखिएको उनको भनाइ छ ।दानपेटिकामा रहेको अन्दाजी ८ हजार रूपैयाँँ चोरी भएको उनको भनाइ छ ।

‘केन्द्रमा हरेक दिन बिहान साढे ४ बजेदेखि योगा हुन्छ । सयौँको सङ्ख्यामा मानिसहरू आउनुहुन्छ । उहाँहरू आउँदा ढोका फोडेको देख्नु भएको रहेछ । मलाई खबर गर्नुभयो । म आएपछि सबै पदाधिकारीहरूलाई फोन गरेँ । प्रहरीलाई खबर गरियो । मुचुल्का उठाएको छ । दोषीमाथि कारबाही हुनुपर्छ,’ पौडेलले मिसन टुडे दैनिकसँग भने ।

उनले प्रहरीलाई दोषी पत्ता लगाएर कारबाही गर्नसमेत माग गरेका छन् । २०७५ सालमा स्थापना भएको प्रबुद्ध ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा हरेक दिन दर्जनौँ ज्येष्ठ नागरिकहरू आउने गर्दछन् । उनीहरू केन्द्रमै बसेर रमाइलो गर्ने, गीत संगीत सुन्ने गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार