कोहलपुर ।
इसाई धर्मावलम्बीहरूको पर्व ख्रिष्टमस डे २०२५ को अवसर पारेर बुधबार बाँकेको कोहलपुरमा बाँके इसाई समाजले आयोजना गरेको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथिका रूपमा रहेका थिए । मन्त्री तिमिल्सिनाले शान्तिका दूत परेवालाई उडाएर शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
उनले हरेक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्न पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको बताए ।
मन्त्री तिमिल्सिनाले भने, ‘नेपालको संविधान २०७२ ले हरेक व्यक्तिले स्वतन्त्र रूपमा आआफ्ना आस्थाअनुसार धर्मको अवलम्ब गर्न पाउने, अभ्यास र संरक्षण गर्ने अधिकार सुनिश्चित गरेको छ, कुन धर्म मान्ने र कुन चाडवाड मनाउने भन्ने कुरामा हरेक व्यक्ति स्वतन्त्र छन्, आआफ्नो आस्थाअनुसार धर्म अवलम्बन गर्न सक्छन् ।’
मन्त्री तिमिल्सिनाले धार्मिक, आर्थिक, सामाजिक, व्यावसायिक रूपमा संविधानले प्रदत्त गरेका अधिकारअनुरुप स्वतन्त्रपूर्वक आफ्ना धारणा र विचार राख्न पाउने व्यवस्था गरको भन्दै हरेक व्यक्ति आफैँमा स्वतन्त्र रहेको बताए । उनले आआफ्ना धार्मिक कार्यक्रमहरू निर्वाध रूपमा गर्न पाउने अधिकार नेपालको संविधानले दिएकाले यो संवैधानिक उपलब्धि भएको बताउँदै हरेक धर्मावलम्बीले अन्य धर्मको सम्मान गर्नुपर्ने धारणा राखे ।
उनले नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा रहेको बताउँदै अन्तरधर्मको सम्मान नेपाली समाजको विशेषता र परिचायक भएको उल्लेख गरे । नेपाली संस्कृतिभित्र भेषभूषा, रीतिरिवाज, धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैलीहरू सामजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको भन्दै हरेक धर्मावलम्बीका चाडपर्वहरू सम्पूर्ण नेपालीका साझा चाडपर्वका रूपमा मनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, विभिन्न जनप्रतिनिधिहरू, इसाई धर्मगुरुहरू, विभिन्न चर्चका पाष्टरहरू लगायतले ख्रिष्टमसको शुभकामना प्रदान गरेको बाँके इसाई समाजका अध्यक्ष शेरबहादुर बोहराले जानकारी दिए । ख्रिष्टमस डे २०२५ को पूर्वसन्ध्यामा कोहलपुरको न्युरोडस्थित खुलामैदानमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमपूर्व इसाई समुदायले विशाल शान्ति ¥यालीसमेत प्रदर्शन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्