नोवल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण विश्वमा महामारीका रुपमा फैलिएपछि नेपालमा पनि यसको उच्च सर्तकता अपनाइएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकाले देशभर ‘लकडाउन’ घोषणा गरेको छ । सबै जिल्लाहरुमा कोरोनाको संक्रमण फैलिन नदिन पूर्व तयारी स्वरुप आवश्यक तयारीसंगै विशेष विशेष सावधानी अपनाएका छन् । अन्य जिल्लाहरुमा जस्तै सल्यान जल्लाको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिकाले पनि सचेतनामूलक प्रचार प्रसार, भारत लगायत अन्य तेस्रो मुलुकबाट नगरमा भित्रिएकाहरुको आवश्यक निगरानी, क्वारेन्टाइन निर्माण, नगरक १२ वटै वडाहरुमा विपद् व्यवस्थापन समिति गठन लगमयतका आवश्यक तयारी गरेको छ । यसै सन्दर्भमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सल्यानको बन्गाड कुपिन्डे नगरपालिकाको गरेका पूर्व तयारीहरुबारे नगरप्रमुख गोबिन्द कुमार पुनसंग यानबी साहुले गरेको कुराकानी ।
तस्बिर : नगरप्रमुख गोबिन्द कुमार पुन
१. अहिले विश्वमा महामारीका रुपमा देखा परेको नोवल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलिन नदिन सल्यानमा के कस्तो पूर्व तयारी गरिएको छ ?
कोरोनाको महामारी फैलिन नदिनका लागि नगरपालिका भित्रने नाकाहरुमा उच्च सर्तकता अपनाउँदै कडाई गरिएको छ । अन्य जिल्लाबाट जिल्ला प्रवेश गर्ने र जिल्ला भित्रबाटै अन्य स्थानीय तहहरुमा प्रवेश गर्नमा पनि रोक लगाइएको अवस्था छ । भारत लगायत अन्य तेस्रो मुलुकबाट नगरमा भित्रिएका व्यक्तिहरुलाई निगरानीमा राख्दै कसैमा सम्भावित संक्रमण देखिएको अवस्थामा उनीहरुलाई राख्नका लागि ४० वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । सरकारले ‘लकडाउन’ गर्नु पहिले नै नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई परिवारका अन्य सदस्यहरु र घरपरिवारसंग सम्पर्कमा नआउन भनिएको र उनीहरुलाई जनप्रतिनिधिहरुको निगरानिमा होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरिएको छ । यस्तै नगरका १२ वटै वडाहरुमा विपद् व्यवस्थापन समिति गठन गरेरे आवश्यक तयारी र उच्च सर्तकता अपनाएका छौँ । विपद् व्यवस्थापन समिति, वडामा कमिटि सदस्य र अध्यक्षहरुले वडामा भारत लगायतका मुलुकबाट आएकाहरुको तथ्यांक संकलन गररे नगरपालिकामा पठाउने गर्नु भएको छ । त्यो नगरपालिकमार्फत स्थानीय प्रशासनलाई उपलब्ध गराउने गरेका छौँ ।
२. नगरपालिकाभित्र कोरोनाको सम्भावित संक्रमण भएका कुनै व्यक्ति भटिएको अवस्थामा छिटो छरितो उद्धारका लागि के कस्तो व्यवस्था मिलाउनु भएको छ ?
नगरपालिकाभित्र कोहि व्यक्तिमा कोरोना भाइरसको सम्भावित संक्रमण भएटिएको अवस्थामा छिटो छरिता उद्धारका लागि दुई वटा गाडी भाडामा लिएर तयारी अवस्थामा राखेका छौँ । त्यसैगरी, नगरका सबै वडाहरुमा विपद् व्यवस्थापन समिति र अस्पतालहरुमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जनप्रतिनिधिहरुले पनि उहाँहरुलाई सघाई रहनु भएको छ । त्यस्तो कुनै सम्भावित संक्रमित व्यक्ति भेटिएको अवस्थामा समान्य ज्वरो, रुघाखोकी लागरेको पाइएमा स्वास्थ्य संस्थामा चेकजाँचका सल्लाह सुझाव दिइरहेका छौँ । यदि कुनै व्यक्तिमा अलि धेरै ज्वरो, आउने खोकी लाग्ने जस्ता कोरोनासंग मिल्ने लक्षणहरु देखिएका जिल्ला अस्पताल सल्यानमा पठाउने गरिएको छ ।
३. कोरोना भाइरस चेकजाँचमा खटिएका चिकित्सकहरुको लागि आवश्यक पर्निे सामग्रीको पर्याप्तता कस्तो छ ?
कोरोनाका सम्भावित विरामीहरुलाई चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीहरुको अभाव नै छ नगरपालिका भित्र । हामीले केन्द्र र प्रदेश सरकारबाट पाउनु पर्ने त्यस्ता कुनै सामग्रीहरु पनि पाएका छैनौँ । जसरी सरकारले हरेक स्थानीय तहमा सामग्री पु¥याइसक्नु पर्ने हो, त्यो अवस्थामा पु¥याउन सकिरहेको अवस्था छैन । भएका केहि सेट सामग्रीहरु वडाका सबै स्वास्थ्य संस्थाहरुमा वितरण गरिसकेका छौँ । अहिले अन्य अपुग सामग्रीहरुका लागि मन्त्री ज्युहरुलाई अनुरोध गरेका छौँ । कोरोना चेकजाँचका लागि आवश्यक पर्ने डिजिटल थर्मोमिटर, पीपीई सेट, ग्लाब्स् मास्क लगायतका स्वास्थ्य समाग्रीहरु बजारमा किन्नको लागि पनि नपाइने अवस्था रहेकाले सरकाले उपलब्ध गराई दिएको खण्डमा यसको रोकथाममा अझै सहयोग पुग्थ्यो । सर्तकता अपनाउन हमीलाई धेरै सजिलो हुन्थ्यो । अहिले केहि थान पीपीई सेटहरु काठमाण्डौँ र नेपालगञ्जमा सम्पर्क गरेर ल्याएका छौँ ।
४. कोराना भाइरसको शंका लागरे चेकजाँच गराउन जाँदा कयाँै अस्पतालहरुले विरामी फिर्ता पठाई दिने गरेको गरेको पाइन्छ । तपाइको नगरपालिकामा के छ ?
कुनै शंकास्पद व्यक्ति चेकजाँच गराउन जाँदा अहिलेसम्म त्यस्तो कुनै फिर्ता गराई दिएको भन्ने कुरा सुन्नमा आएको छैन । यदि कसैले त्यस्तो गरेको पाइएमा कानुन अनुसारको कारवाही हुन्छ ।
५. दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारका लागि नगरपालिकाले के कस्ता राहतका कार्यक्रमहरु ल्याएको छ ?
हामीले अहिलेको लकडाउनका कारण छाक टार्न मुस्किल पर्ने दैनिक ज्याला मजदुर तथा विपन्न वर्गका नागरिकहरुलाई नगर विपद् व्यवस्थापन समिति गठन गरेका छौँ । वडाबाट आएको मजदुर तथा विपन्नहरुको तथ्यांकका आधारमा उनीहरुलाई राहत वितरण गर्ने निर्णय भएको छ । जसअन्तर्गत ३ जनाको परिवारलाई २ हजार र ३ जना भन्दा माथिल्लो संख्या भएका घर परिवारलाई ३ हजारका दरले खाद्यान्न दिने निर्णय गरिएको छ । तत्काल अहिले नै त्यस्तो खाद्य संकट पर्ने देखिएको छैन । अहिले वडास्तरमा तथ्यांक संकलन भइरहेकोले तथ्यांक संकलनपछि राहत वितरण सुरु गर्छौँ ।
६. संक्रमित मुलुकबाट मजदुरी गरेर आएका व्यक्तिहरुबाट कोरोना सर्छ भनेर गाउँघरमा त्रास फैलिएको देखिन्छ । त्यसमा यहाँहरुले के कस्तो सूचना प्रवाह गरिरहनु भएको छ ?
हो, पक्कै पनि गाउँघरमा यो वातावरण छ । त्यसमा हामीले उहाँहरुलाई के आग्रह गर्दै आइरहेका छौँ भने तपाइहरु सचेत हुनुहोस्, डराउनु पर्दैन । अहिल नै त्यस्तो डराइहाल्नु पर्ने अवस्था छैन तर आवश्यक सर्तकता चाहिँ अपनाउन जरुरी छ । केहि महिना पहिले अन्य मुलुकबाट आएका नागरिकरुहलाई होम क्वारेन्टाइनमा बस्न लगाएका छौँ । उहाँहरु १०÷१५ दिन होम क्वारेन्टाइनमा बसेर पनि कुनै लक्षण नदेखिएको पाइएको छ । नगरपालिकामा आएकाहरुलाई पनि नेपालगञ्ज लगायतका विभिन्न ठाउँहरुमा चेकजाँच गरेर मात्रै आउन दिइएको छ । त्यसैले ढुक्कसंग आ–आफ्नो घरमै बस्नुहोस् । यदि कुनै व्यक्तिमा त्यस्तो कुनै लक्षण देखिएमा तुरुन्त खबर गर्नुहोस् र हामी उहाँहरुको तत्काल उद्धार गरी क्वोन्टाइनमा राख्छौँ भनेर आस्वस्थ बनाएका छौँ ।
७. भारत लगायत अन्य तेस्रो मुलकहरुमा संक्रमण फैलिएपछि त्यहाँ मजदुरी गरेर फर्केका व्यक्तिहरुको तथ्यांक संकलन गर्नु भएको छ ?
भारत लगायत अन्य तेस्रो मुलकबाट फर्किएका व्यक्तिहरुको नगरपालिकाका १२ वटै वडाहरुबाट तथ्यांक संकलन गरिसकेका छौँ । त्यसमा पनि हाम्रो नगरपालिकामा सबै भन्दा धेरै छिमेकी देश भारतबाट फर्किनु भएका व्यक्तिहरु हुनुहुन्छ । भारतमा काम गरेर आएकाको संख्या १ सय ६१ रहेको भने अन्य तेस्रो मुलुकबाट ३ जना भित्रिएको अवस्था छ । उहाँहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । चेकजाँच गराएकामा पनि रिपोट नेगेटिभ नै आएकोले नगरपालिका भित्र अहिलेसम्म कुनै त्यस्तो संक्रमित व्यक्ति फेला परेका छैनन् ।
८. ‘लकडाउन’ को अवस्थामा अत्यावश्यक खाद्यवस्तुको कालोबजारी, कृतिम अभाव सिर्जन हुन सक्ने सम्भावना पनि हुन्छ । यसको अनुगमन कसरी गर्नु भएको छ ?
नगरक्षेत्रमा अहिलेसम्म खाद्यवस्तुको पर्याप्तता प्रशस्त मात्रामा नै छ । त्यस्तो कुनै संकट हुने अवस्था छैन । नेपालगञ्जबाट पनि आवश्यक खाद्यवस्तुहरु आपूर्ती भइरहेको छ । अहिले नै अभाव हुने देखिँदैन । तर केहि व्यपारीहरुले मुल्य वृद्धि गररे कालोबजारी गर्न खोजेको भन्ने सुन्नमा आएकाले त्यसको अनुगमन तथा निरीक्षणका लागि टोलि खटाइएको छ । यदि कुनै व्यापारीहरुले लकडाउनको अवस्थामा कालोबजारी, कृतिम अभाव सिर्जन गरेमा तत्काल नियन्त्रणमा लिएर कानुन अनुसार कारवाही गर्न निर्देशन दिएका छौँ ।
९. अन्त्यमा कोराना भाइरसबाट बच्नका लागि आम नगरवासीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
म आम नगरवासीहरुलाई के सुझव दिन चाहन्छु भने, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न बाहिर ननिस्केर सुरक्षित साथ घरभित्रै बसौँ । अन्य संक्रमित मुलुकबाट फर्किएका कुनै व्यक्तिहरु गाउँघरमा भेटिएमा तुरुन्त खबर गरौँ । सरकारले गरेको ‘लकडाउन’ पूर्ण रुपमा पालना गराँै । एक दिनको लापरवाहीले सधै पछुताउनु पर्ने हुन सक्छ । कुनै व्यक्तिमा संक्रमण भइहालेको खण्डमा उसको कारण परिवार, समाज हुँदै देश नै बर्वाद हुन सक्ने अवस्था सिर्जन हुन सक्छ । लकडाउनको पालना नगर्दा कयाँै विकसित मुलुकहरुले ठुलो जनधनको क्षेति बेहोर्नु परिरहेको अवस्था छ । त्यसैले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गरौँ र यो संक्रमण हुनबाट हामी आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
अन्तयमा नगरप्रमुख पुनसंग यानबी साहुले मिसन टुडे दैनिक र रेडियो मिसनका लागि गरेको कुराकानी !









प्रतिक्रिया दिनुहोस्