कर्णालीमा चाडपर्वलक्षित सुरक्षा योजनाः पाँच हजार ३१४ प्रहरी परिचालन



नन्दराम जैशी । सुर्खेत ।

विभिन्न पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको छ । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो । चाडपर्वका क्रममा हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि छठ पर्व समाप्तिसम्म अर्थात् २०८३ असोज २५ गतेदेखि २०८३ कात्तिक ३० गतेसम्म चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ । चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, सम्पत्ति, जनधन, उपभोक्ताको अधिकार तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले योजना तयार गरिएको प्रहरीले जनाएको छ । चाडपर्वका बेला बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा जोखिम बढ्न सक्ने अनुुमान छ।

विभिन्न गन्तव्यतर्फ जाने यात्रुको चाप बढ्ने तथा फरार कैदीबन्दी र अभियुक्तहरू घरवतनमा आउन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी सुरक्षा निगरानी र प्रहरी परिचालन बढाइएको हो । चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनका लागि कर्णाली प्रदेशका १० जिल्लामा विभिन्न प्रकृतिका एक हजार ४६२ वटा ड्युटी तोकिएको छ । ती ड्युटीमा पाँच हजार ३१४ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । आवश्यकता अनुसार रिजर्भ प्रहरी कार्यालयबाट थप प्रहरी टोलीसमेत परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रहरी परिचालनअन्तर्गत २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्यूआरटी परिचालन, १४८ वटा पैदल गस्ती तथा २०४ वटा लामो तथा छोटो दूरीका गस्ती सञ्चालन हुनेछन् । त्यस्तै, १७६ स्थानमा पिकेट, ६७ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ र ४७ स्थानमा ट्राफिकसहित संयुक्त चेकिङ गरिनेछ । महत्वपूूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ । यात्रु तथा नागरिकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सीमासमेत गरी ३७ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।

त्यसैगरी २४ स्थानमा माइकिङ तथा प्रचारप्रसार, ३१ स्थानमा बैंक तथा वित्तीय संस्था सुरक्षा र बजार अनुगमन, १० वटा विशिष्ट व्यक्ति सुरक्षा ड्युटी तथा अन्य विभिन्न प्रकृतिका ४९४ वटा ड्युटी परिचालन गरिने प्रहरीले जनाएको छ ।

अपराध नियन्त्रण प्राथमिकता

प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधि रोकथाम गर्दै नागरिकलाई सुरक्षित र भयमुक्त वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने लक्ष्य लिएको छ । सार्वजनिक स्थल, मेला तथा पर्व हुने स्थानमा झै–झगडा, हुलदंगा तथा अन्य आपराधिक गतिविधि हुन नदिन विशेष निगरानी गरिने प्रहरीले जनाएको छ । यस्तै, बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी तथा ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था मिलाउने प्रहरीको योजना छ ।

सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्ने र यात्रुमाथि दुव्र्यवहार गर्ने गतिविधिमाथि निगरानी गरिनेछ । सडक दुर्घटना न्यूनीकरण, सडक सुशासन तथा सहज आवागमनका लागि ट्राफिक प्रहरीसहित संयुक्त चेकिङलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा योजनाअन्तर्गत अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा नियन्त्रण गरिनेछ ।

पटका, आतशबाजी तथा अन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार तथा प्रयोग रोक्न कडाइका साथ चेकजाँच गर्ने प्रहरीको तयारी छ । त्यस्तै, अवैध लागूऔषधको ओसारपसार तथा बिक्री वितरण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातास, डाइस, लंगुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजीजस्ता गतिविधिमाथि निगरानी बढाइनेछ । अवैध भन्सार चोरी तथा तस्करी नियन्त्रणका लागि समेत सुरक्षा जाँचलाई प्रभावकारी बनाइने प्रहरीको योजना छ ।

फरार कैदीबन्दी र अभियुक्तको खोजी तीव्र

चाडपर्वका समयमा सम्भावित आपराधिक जोखिमलाई मध्यनजर गर्दै फरार प्रतिवादी तथा विभिन्न आन्दोलनका क्रममा कारागारबाट फरार रहेका कैदीबन्दीको खोजी तथा पक्राउलाई तीव्रता दिइने भएको छ । त्यस्तै, आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठाको बरामद र संलग्न व्यक्तिको पक्राउलाई पनि प्राथमिकतामा राखिएको छ । यस्ता हतियार तथा गोलीगठ्ठाको दुरुपयोग हुन नदिन सुरक्षा निगरानी बढाइने प्रहरीले जनाएको छ । सुरक्षा योजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिइएको छ ।

सरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्ने कुनै पनि घटना हुन नदिन विशेष निगरानी गरिने प्रहरीले जनाएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई ठगी तथा दुव्र्यवहारबाट जोगाउन यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । यात्राका क्रममा सामान तथा झोला छुटेर हराएमा खोजतलास तथा आवश्यक सहजीकरणसमेत गरिने प्रहरीले जनाएको छ ।

सुरक्षा योजना कार्यान्वयनपछि चाडपर्वका अवधिमा अपराध रोकथाम तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, चोरी, डकैती तथा लुटपाट नियन्त्रण हुने प्रहरीको अपेक्षा छ । त्यस्तै, सार्वजनिक सवारीमा बढी भाडा असुल्ने, दुव्र्यवहार गर्ने तथा क्षमताभन्दा बढी यात्रु र मालसामान राखेर सवारी चलाउने गतिविधिमा नियन्त्रण हुने अपेक्षा गरिएको छ

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार