कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको सम्मुनत विकास र समृद्धिको लागि आर्थिक विकासका सम्भावनाको खोजी गरिएको छ । सहरीकरण र औद्योगिकरणको चरणमा रहेको कोहलपुरको लागि आर्थिक विकासका सम्भावनाका क्षेत्रहरुको विश्लेषण-खोजी गरिएको हो । बुधबार कोहलपुरमा सम्पन्न प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण ‐पाका)को सरोकारवालासँग प्रारम्भिक छलफल कार्यक्रममा सम्भावनाहरुको लागि व्यापक छलफल गरिएको थियो । बाँकेका दुई वटा स्थानीय तहमा आर्थिक विकासको क्षेत्रको क्षेत्रमा साझेदारी गर्नको लागि स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना १ जेष्ठ २०७६ देखि सञ्चालनमा आएको छ । यो परियोजना १७ जेष्ठ २०७९ सम्म सञ्चालन हुनेछ ।
यस परियोजनाले दिगो आर्थिक विकास स्वास्थ्य र पुनः नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दै आएको छ । तीन प्रदेशमा लागु गरिएको परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा पनि आर्थिक विकासका क्षेत्र र प्राथमिकता खाोजी गरिएको हो । उक्त छलफलमा कोहलपुरको समुन्नत आर्थिक विकासको लागि कृषि, पशुपालन, व्यापार, उद्योग र गरिबी निवारणलाई आर्थिक विकासको क्षेत्रको रुपमा खोजी /विश्लेष्ण गरेको गरिएको थियो । सहभागीहरुले कोहलपुरको आर्थिक विकासको आधार कृषिमा आधुनिकिकरण, औद्योगिकरणको लागि लगानी व्यापार व्यवसाय प्रवद्र्धन, पशुपालन शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर परियोजना सञ्चालन गर्नु पर्ने बताएका थिए । स्थानीय दयाराम विकले सरकारको तीन खम्बे अर्थनीति, लक्षित वर्गको लागि तथ्यांक र अवस्थामा आधारित भएर परियोजना सञ्चालन हुनुपर्ने बताए ।
उनका अनुसार समुदायमा रहेका पौराणिक र जातीगत आर्थिक विकासका स्रोतको सदुपयोग गर्ने क्रम घटेकोले यस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उक्त अवसरमा परियोजनाको विषयमा जानकारी दिदै डिपुटी चिफ टेक्निकल एडभाइजर रोशन श्रेष्ठले जर्मन सरकार प्राविधिक सहयोगमा कर्णाली, सुदूर पश्चिम र ५ नम्बर प्रदेशका गरी ११ वटा उप–महानगरपालिका र नगरपालिकामा लागु भएको बताए । उनका अनुसार परियोजनाले सबै स्थानीय तहमा आर्थिक विकासका क्षेत्रको पहिचान, सम्भावना र प्राथमिकताका आधारमा आर्थिक विकासका क्षेत्रमा गतिविधि सञ्चालन गर्नेछ । अहिले सबै स्थानीय तहमा क्षेत्र पहिचान, सम्भावना र प्राथमिकताका क्षेत्रको खोजी भइरहेको उनले बताए । ‘आर्थिक क्षेत्रको विकासको लागि सम्बन्धित स्थानीय तहका विज्ञहरुसँगको सहकार्यमा काम हुनेछ’ उनले भने, ‘सोही अनुसार विभिन्न चरणमा, विभिन्न क्षेत्रका सरोकारवाला निकायसँग छलफल भइरहेको छ ।’
यस्तै परियोजनाका विज्ञ निशान खनालले यो परियोजना विश्वका ४० देशमा निकै सफल भएकोले कोहलपुरमा समेत सबैको सहकार्यमा आर्थिक विकासको लागि टेवा पुग्ने बताएका थिए । उनले परियोजना, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा कोहलपुरको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । छोटो विकास प्रक्रियाबाट अल्पकालिन र दीर्घकालिन आर्थिक विकासको जग बसाल्नेमा उनले जोड दिए । ‘पिछडिएको वर्ग र जिविकोपार्जनको क्षेत्रमा स्थानीय उत्पादनमा जोड दिइन्छ’ उनले भने, ‘यो परियोजना कोहलपुरको आर्थिक विकासको लागि अवसर हो ।’ छलफल समापनको क्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकासमा महत्वपूर्ण गौरवका योजना नगरपालिकाले सञ्चालन गरेको बताए ।
परियोजनाबाट नगरले लिएको नीतिमा थप बल गर्ने दाबी उनले गरेका थिए । ‘व्यापार व्यसायको कुरा गर्दा करको कुरा आउँछ’ नगर प्रमुख रावतले भने, ‘कर आर्थिक विकासको आधार हो, हाँसीखुसी कर तिर्नुहोस्, सचेत नागरिकको कर्तव्य निर्वाह गर्नुहोस् ।’ संघीयतापछि स्थानीय सरकार आएपछि जनताले धेरै सुविधा पाएको भन्दै आगामी दिनमा समेत जनताको आवश्यकतालाई मध्यनजर गर्दै अघि बढ्ने उनले बताए । कोहलपुर आफैमा आर्थिक रुपमा सम्भावना युक्त क्षेत्र भएकोले आर्थिक विकासको प्रसस्तै सम्भावना रहेको नगर प्रमुख रावतको भनाई थियो । उक्त अवसरमा सहभागीहरुलाई तीन समूहमा विभाजन गरी आर्थिक विकासका क्षेत्र र सम्भावनाका क्षेत्रको पहिचान, सुलभ र दुर्लभ पक्षका बारेमा व्यापक छलफल गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्