‘मेयर कप विद्यार्थीको क्षमता प्रदर्शन गर्ने माध्यम’



बर्दियाको बाँसगढीमा तेस्रो मेयर कप तथा १२औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनोट प्रतियोगिता २०७६ आजबाट सञ्चालन हुँदैछ । बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय माध्यमिक विद्यालय दमौलीको सह-आयोजना र आतिथ्यतामा आजबाट सुरु हुन लोगको हो । प्रतियोगितामा आगामी ८ गतेसम्म प्रतियोगिता चल्नेछ । मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तयारीको बारेमा मेयर कप सञ्चालन मुल समारोह समितिका सदस्य सचिव तथा सह–आयोजक विद्यालयका प्रधानाध्यापक सर्भिस शर्मा सँग मिसन सम्वाददाता रावन विश्वकर्माले गरेको कुराकानी :

१. मेयर कपको तयारी कस्तो छ ?

तेस्रो संस्करणको मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि तयारी पुरा गरेका छौ । प्रतियोगिताका लागि आवश्यक पर्ने प्राविधिक कुराहरु, आवश्यक व्यवस्थापकीय कामहरु पनि लगभग पुरा गरेका छौँ । प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरेर बिशेष तयारी गरेका छौँ । हामीले अघिल्ला संस्करणहरु जस्तै गरी भव्य र सभ्य तरिकाले यो संस्करणका लागि पनि सम्पन्न गर्नका लागि विभिन्न ढंगले कार्य विभाजन गरेका छौँ । मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय मावि दमौलीको सह-आयोजना र आतिथ्यतामा सञ्चालन हुन लागेको हो । मुल आयोजक बाँसगढी नगरपालिका भएकाले सामाजिक विकास समितिका संयोजक तुल प्रसाद गौतम ज्युको संयोजकत्वमा मेयर कप सञ्चालक मुल समारोह समिति गठन भएको छ ।त्यसमा सम्पूर्ण माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरु पदेन सदस्यको रुपमा हुनुहुन्छ । हामी सह–आयोजक भएकाले सदस्य सचिवको जिम्मेवारी बढि छ । मुल आयोजक समितीको मातहतमा रहने गरी हामीले अन्य उपसमितिहरु गठन गरेर खेललाई व्यवस्थित ढंगले अगाढी बढाउन खोजेका छौँ । त्यसमा आवश्यक पर्ने प्राविधिकहरु छनोटका लागि प्राविधिक समितिहरु छन भने व्यवस्थापकीय पक्ष सम्हाल्नका लागि जनप्रिय माविका शिक्षक कर्मचारीहरुको विभिन्न खालका उपसमितिहरु छन् । ति उपसमितिहरुले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । प्रतियोगितालाई थप व्यवस्थित गर्नका लागि अन्य संस्थाहरु निकायहरुबाट पनि सहयोगीहरुका रुपमा विभिन्न व्यक्तिहरुलाई यो कार्यक्रममा समेटेका छौँ ।

२. प्रतियोगिताले खेलकुद विकासमा कस्तो भूमिका खेल्न सक्छ नी ?

खेलकुदले मानिसलाई अनुशासित बनाउछ । अनुशासन कायम भयो भने समाजमा धेरै खालका समस्याहरु हल हुन्छन् । विद्यालय तहमा पनि विद्यार्थी खेलाडी भाई बहिनीहरुलाई एक खालको भविष्य लक्ष्य निर्धारण गर्न पनि सजिलो रहने र अनुशासित तरिकाले अघि बढ्न सजिलो रहने भएकाले रनिङ्ग शिल्डले धेरै सहयोग पु¥याउछ् ।हाम्रा बिभिन्न विद्यालयहरुमा धेरै प्रतिभावान, क्षमतावान खेलाडीहरु हुनुहुन्छ उहाँहरुको लागि यो ठुलो अवसर हो । यसबाट छनोट भएर जिल्ला स्तर, प्रदेशस्तर हँुदै राष्ट्रियस्तर सम्म पनि उहाँहरु खेल्न जान सक्नु हुन्छ । त्यो हिसाबले एउटा अवसर रह्यो सँग–सँगै हामीले यहाँ सञ्चालन गरिरहदाँ दमौलीको विकासका लागि पनि यसले एउटा कोशे ढुंगाको रुपमा कायम गर्छ । दमौली बाँसगढी नगरपालिकाको अलिकति भित्र परेको गाउँ हो । यो गाउँमा धेरै ठाँउका मानिसहरु आउनु हुन्छ हेर्नु हुन्छ । अवलोकन गर्नुहुन्छ । यो रनिङ्ग शिल्डको कार्यक्रमले गर्दा यहाँ विभिन्न कामहरु भएका छन् । विकास निर्माणका कामहरु पनि केही न केही जोडिन्छन् यसमा त्यो जोडिदा समग्र खेलकुद त विकास हुन्छ नै त्यो सँग–सँगै समाजलाई पनि केही न केही विकासमा टेवा पु¥याछ भन्ने मैले विश्वास लिएको छु ।

३ . प्रतियोगिताले बाँसगढीको शिक्षा क्षेत्रको विकासमा के टेवा पुग्छ ?

खेलकुद स्वास्थ्यका लागि अनिवार्य हो, खेलकुद हाम्रो जीवनका लागि पनि अनिवार्य जस्तै हो । हामी विद्यालय तहका विद्यार्थी भाईबहिनीहरुलाई कोरा किताबको ज्ञान मात्रै दिएर उनीहरुको सर्वाङ्गिक विकास हुदैन । त्यसकारण विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलकुकदको अत्यन्तै महत्वपुर्ण भूमिका निभाउछ । अब यसको नारा नै स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने राष्ट्रिय नारा नै छ । त्यसले पनि जनाउछ हाम्रो स्वास्थ्यका लागि पनि आवश्यक छ । राष्ट्र निर्माणका लागि पनि यो आवश्यक छ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका भित्र बाट पनि राष्ट्रिय खेलाडी उत्पादन गर्ने एउटा सुवणै अवसर पनि हो । त्यसकारण यसले समग्र शिक्षा क्षेत्रको विकास र बाँसगढी नगरपालिको शिक्षालाई माथिल्लो स्तर सम्म पु¥याउने चिनाउने ढंगले भूमिका निर्भाह गर्न सक्छ ।

४ .सबैको अपनत्वका लागि विद्यालयले कसरी सहजिकरण गरिरहेको अवस्था छ ?

मेयर कप रनिङ्ग शिल्ड खास गरी हामीले राष्ट्र पनि रनिङ्ग शिल्ड निर्देशिका २०७० ले तोके अनुसार नै सञ्चालन गर्छौ । त्यसले रनिङ्ग शिल्ड प्रतियोगिताहरु स्थानीय स्तर देखि राष्ट्रिय स्तर सम्म खेलाउदा विद्यालय तह मै खेलाउने भन्छ । हामीले १ देखि १२ कक्षा सम्म अध्ययनरत नियमित विद्यार्थीहरु जो १८ बर्ष भन्दा मुनिका हुनुहुन्छ उहाँहरुलाई सहभागी गराउछौ । यसले १८ बर्ष भन्दा माथि उमेरका खेलाडीलाई समेटदैन् विद्यालय तह कै हो । हामीेले सबै खेलाडीलाई समेटन नसके पनि सबैको हो भन्ने अपनत्व गराउनका लागि यसमा विभिन्न खालका सामाजिक समूह, संस्थाहरुलाई जोडेका छौँ । उहाँहरु सँग हामीले तपाईहरु पनि हामी सँग जोडिनु पर्छ । हामीलाई सहयोग उपलब्ध गराउनु पर्छ भनेर उहाँहरुलाई बिभिन्न ढंगले आग्रह गरेका छौ जस्तै हामीले दमौलीमा क्रियाशिल भएका आमा समूहहरु, युवा समूह, क्लवहरु, वन समूहहरुलाई आमन्त्रण गरेर भनेका छौँ । तपाईहरुले हामीलाई व्यवस्थापकीय पक्षमा सहयोग गरिदिनुस । कसैले हामीलाई खेल मैदानको निर्माण सहयोग गर्नुहुन्छ भने कसैले भान्सा व्यवस्थापनमा सहयोग गर्नुहुन्छ, कसैले आतिथ्यता तर्फको सहयोगको उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । हामीले कोही नछुटुन् यो हाम्रो खेल हो भनेर सबैको भावना जागरुप होेस भनेर बाँसगढी नगरपालिका भित्रका सम्पूर्ण संघ संस्था, युवाहरु, समूहहरु, वित्तीय संस्थाहरु, व्यापारीहरु सबैलाई जोड्ने कोशिस गरेका छौँ । कसैलाई हामीले ब्यानर प्रायोजकको रुपमा भित्र्याउदै छौ, भने कसैलाई सहयोगकिो रुपमा भित्¥याउदै छौ, कसैलाई हामीले स्वयमसेवकको रुपमा भित्¥याउदै छौँ । कसैबाट हामीले उपलब्ध हुन सक्ने सहयोग प्राप्त गरेका छौँ । जस्तै सामुदायिक वनले हामीलाई मेयर कपका लागि आवश्यक पर्ने बाँस दाउराहरु उपलब्ध गराएको पनि छ । यसरी हामीले सबैलाई जोडेर यो हामी सबैको हो भन्ने खाल्ले हामीले कोशिस गरेका छौँ ।

५.मेयर कप सञ्चालन गर्नु अवसर सगै चुनौती पनि उत्तिकै छ,विद्यालयले कसरी लिएको छ नी ?

मेयर कपको झण्डा हामीले प्राप्त गरे कै दिन देखि हामीलाई चुनौती र अवसरको रुपमा हो भन्ने महशुस भएको हो । ल्याउदा हामी अत्यन्तै उत्साहित थियौ, अहिले पनि हामी उत्साजनक रुपमा अगाडि बढेका छौ । र पनि विभिन्न खाले चुनौतीहरु रहदा रहेछन् । हामी सँग मेयर कप सञ्चालनका लागि खेल मैदान थिएन् नयाँ खेलमैदान बनाउनु पर्ने थियो । मौसमले साथ नदिदा समयमा खेल मैदान निर्माण गर्न सकेनौ । हाम्रो लागि मौसम चुनौती बन्यो । अन्य थुपै चुनौती पनि हुँदा रहेछन् नगरपालिकाले उपलब्ध गराएको रकमले अपुग हुन आउने पनि हँुदो रहेछ । सबै सँग समन्वय र सहकार्य गर्ने पनि चुनौती नै थियो र सँग–सँगै अवसर पनि के थियो भन्दा हामी दमौलीका सबैले हाम्रो खेल हो भन्ने महशुस ण्गर्ने, हामी सबै एक ठाँउमा उभिने, खेलका लागि हामीले एक खालको सहकार्य गर्ने पनि हाम्रा लागि ठुलै अवसर रह्यो ।

६. प्रतियोगितामा कति विद्यालय सहभागी हुदैछन्,खर्चको कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

बाँसगढी नगरपालिकाका स्तरीय खेलकुद भएकाले बाँसगढी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय सहभागी हुनुहुन्छ । बिशेष गरी माध्यामिक र आधारभूत विद्यालयहरु सहभागी हुनेछन् । माध्यमिक तह तर्फ १८ वटा र आधारभूत तहतर्फ ९ वटा विद्यालय गरी २७ वटा विद्यालयका विद्यार्थी भाई बहिनीहरु यहाँ हुनुहुन्छ । हामी सँग खेलकुदका १३÷१४ इभेन्टहरु छन् । त्यस्तै नगरपालिकाबाट मेयर सञ्चालनका लागि बाँसगढी नगरपालिकाबाट ६ लाख विनियोजत छ । यसलाई १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट प्रतियोगिता पनि भनेका छौँ जसले गर्दा स्थानीय तह स्तरको राष्ट्रपति रनिङ्ग शिर्षकको १ लाख पनि हामीलाई उपलब्ध गराउने नगरपालिकाले प्रतिबद्धता गरेको छ । त्यस्तै हामीले बिभिन्न ब्यानर प्रायोजनबाट पनि आर्थिक सहयोग तथा जिन्सी सहयोग हामीले प्राप्त गरेका छौँ । त्यसमा पनि अपुग हुन आएमा विद्यालयको आन्तरिक कोषबाट व्यवस्थापन गर्ने गरी हामीले तयारी गरेका छौँ ।

७. मेयर कपलाई नयाँपनका लागि विद्यालयले के कोशिस गरेको छ ?

हामीले केही अलग गरौ भनेर पनि कार्यक्रमहरु तय गरेका छौँ । विभिन्न सरोकारवाला व्यक्ति, संघ संस्था, समूह, क्लवहरु सँग समन्वय गरेर अगाडि बढ्दा केही नयाँ पन देखिन्छ भनेर हामीले समन्वयको कोशिस गरेका छौँ । त्यसबाट हामीलाई सकारात्मक उर्जा प्राप्त भएको छ । सँग–सँगै नयाँपनका लागि हाम्रा बिजेता खेलाडी भाईबहिनीहरुलाई सक्दो प्रोत्साह स्वरुप नगद पुरस्कारको समेत व्यवस्था गर्ने गरी तयारी अगाडि बढाएका छौँ । त्यसमा हामीले धेरैलाई नसकिएला तर सर्वोउत्कृष्ट खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहनका लागि शिल्ड, मेडल, प्रमाण पत्र मात्रै भन्दा पनि नगद पुरस्कारको रुपमा प्रोत्साहित गर्ने तयारी गरेका छौँ । मैले युवाहरुलाई समेटेर खेलकुद प्रतियोगिता गर्ने कोशिस गरेको छु । सम्पुर्ण युवाहरु नै देशका मेरुदण्ड भएकाले युवालाई परिचालन गरेर युवाहरु कै सहभागितामा मेयर कप सम्पन्न गर्ने हामी तयारी छौँ ।

८. अन्त्यमा के भन्न चाहानु हुन्छ ?

म तपाईको मिडिया मार्फत सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई फागुन ५ गते देखि ८ गते सम्म दमौलीमा सञ्चालन हुने मेयर कप रनिङ्ग शिल्ड तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनोट प्रतियोगितालाई अवलोकन गर्न आइदिन आग्रह गर्न चाहान्छु । हाम्रो प्रतियोगिता अवधि भरी आएर हाम्रो खेलकुद अवलोकन गरिदिने र हामीलाई पृष्ठपोषण प्रदान गरिदिनका लागि म सम्पूर्ण नगरपालिकाका महानुभावहरु लगायत बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्ने महानुभावहरुलाई पनि विभिन्न खेलहरु अवलोकन गरी खेलाडीहरुलाई हौसला प्रदान गरिदिन र आयोजक र सह–आयोजकलाई पनि एक खालको  पृष्ठपोषण गरिदिन पनि हार्दिक आग्रह गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ५ गते सोमबार