बुटवल ।
चार महिनापछि प्रदेश ५ को हिउँदे अधिवेशन आइतबारबाट सुरु भएको छ । प्रदेश सरकारले विजनेश दिन नसक्दा सुरु हुन नसकेको पाँचौं अधिवेशन प्रदेशको नाम र राजधानी टुंग्याउने नैतिक दवावका बीच सुरु भएको हो । आइतबार दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसदले प्रदेशको नामकरण र राजधानीकै विषयलाई जोड तोडका साथ उठान गरेका थिए ।
नाम र राजधानीका विषयमा संसदीय विशेष उपसमितिले तयार पारेको प्रदेशको नामकरण र राजधानीबारे सुझाव प्रतिवेदन संसदमा प्रस्तुत भएको थिएन । बैठकमा बोल्दै प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले नाम र राजधानीका लागि केन्द्रको मुख ताक्नु संबैधानिक नहुने बताए । नामकरण र राजधानीको विषय संबैधानिक रुपमै प्रदेश सभाको भएकाले संसदमा गठित विशेष समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने माग गरेका थिए । ‘उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गर्छ ।
त्यसमा सबै राजनीतिक दलहरूबीच छलफल गरी प्रदेशसभा भित्रैको छलफलबाट यो विषय टुंगो लगाउनु पर्छ’ उनले भने । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले हिँउदे अधिवेशनबाटै प्रदेशले स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन् । प्रदेशको नामकरण र राजधानीको विषयलाई अनीर्णयको बन्दी बनाउन नहुने उनको तर्क थियो । ‘सबै कुरामा अब्बल प्रदेशले अब नामकारण र राजधानीको टुंगो लगाउने विषयमा ढिलाइ गर्न हुँदैन’ उनले भनिन्, ‘यहीँ अधिवेशनले टुंगो लगाएर अगाडि बढनुपर्छ ।’
त्यस्तै नेकपाका अर्का सांसद दिपेश थारूले स्थायी राजधानी र नामकारणको विषय प्रदेश सभाले नै टुंग्याउन प्रदेश सभामा माग गरेका थिए । सरकारले बिजनेस दिन नसकेका कारण चार महिनादेखि संसद बैठक चल्न सकेको थिएन । हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तहसम्बन्धी, विश्व विद्यालय, लोक सेवा, चलचित्रसम्बन्धी विधेयक पेश हुने छन् । प्रदेशसभाको अर्को बैठक आउँदो माघ १२ गते बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो ।
यसैबिच दिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसदको रुपमा विमला वली सहभागी भएकी छन् । उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट वली संसदमा पहिलो पटक सहभागी भएकी हुन् । तत्कालीन नेकपा सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि सोही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् । बैठकमा बोल्ने सांसदले पहिलो पटक सहभागी सांसद वलीलाई बधाई तथा शुभकामना दिएका थिए । गएको मंसिर १८ गते उनलाई सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएका थिए ।








प्रतिक्रिया दिनुहोस्