सञ्चालनमा आएनन् ट्राफिक लाइट



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरका मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक लाइट लामो समयदेखि सञ्चालनमा आउन सकेका छैनन् । सवारीसाधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत बढिरहेको अवस्थामा लाखौँ रूपैयाँँ खर्च गरेर जडान गरिएका लाइट प्रयोगविहीन बनेका हुन् । सडक विभागले वीरेन्द्रनगरका चारवटा मुख्य चोकमा ट्राफिक लाइट जडानको काम सम्पन्न गरी निर्माण कम्पनीबाट हस्तान्तरणसमेत लिइसकेको छ ।

तर, लाइट जडान भएको लामो समय बितिसक्दा पनि नियमित सञ्चालन हुन सकेको छैन । वीरेन्द्रचोकमा भने नगरपालिकाले यसअघि नै जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । अन्य चोकमा जडान गरिएका लाइट सञ्चालनको प्रतीक्षामा छन् । वीरेन्द्रनगरमा बढ्दो सवारी चाप र अव्यवस्थित ट्राफिक आवागमनलाई व्यवस्थित गर्ने उद्देश्यले सडक विभागले पहिलो चरणमा मंगलगढी चोक, यरीचोक, तीनकुने चोक र पीपीराचोकमा ट्राफिक लाइट जडान गरेको हो ।

करिब ८० लाख रूपैयाँँ लागतमा सम्पन्न योजनाअन्तर्गत चारवटै स्थानमा लाइट जडान भइसकेका छन् । तर, भौतिक संरचना निर्माण सकिए पनि सञ्चालनका लागि आवश्यक व्यवस्थापन पूरा नहुँदा सर्वसाधारणले त्यसको सुविधा पाउन सकेका छैनन् । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनका अनुसार ट्राफिक लाइट जडानको काम सम्पन्न भइसकेको छ । हालै परीक्षणसमेत गरिएको र केही समयभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

उनका अनुसार लाइट सञ्चालन गर्नुअघि पैदलयात्री र सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराउने तथा ट्राफिक प्रहरीलाई आवश्यक तालिम दिने तयारी गरिएको छ । तर, लाइट सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको उनले बताए । ‘थपिएका चार स्थानमा ट्राफिक लाइट सञ्चालन र व्यवस्थापन गर्न पर्याप्त जनशक्ति छैन,’ उनले भने, ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत हाल उपलब्ध जनशक्तिबाटै थप स्थानमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने जनाएको छ ।’

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख रोहितकुमार शाहीका अनुसार ट्राफिक लाइट प्रभावकारी बनाउन नागरिकमा सचेतना आवश्यक छ । लाइट जडान गर्दैमा मात्रै ट्राफिक व्यवस्थापन प्रभावकारी नहुने भन्दै उनले जनशक्ति थपेर सञ्चालनमा ल्याउनुपर्ने बताए । उनका अनुसार अहिलेको जनशक्तिले थपिएका स्थानमा समेत प्रभावकारी रूपमा निगरानी र व्यवस्थापन गर्न चुनौती छ । सडक विभागले ट्राफिक जनशक्ति थप गर्न प्रहरी प्रधान कार्यालयमा मागसमेत गरेको जनाएको छ ।वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापनको समस्या पूर्वाधार निर्माणमा सीमित नभई त्यसको सञ्चालन र व्यवस्थापनसँग पनि जोडिएको छ ।

व्यवस्थापनको तयारी अधुरै

वीरेन्द्रनगरका मुख्य चोकमा ट्राफिक लाइट जडान गर्नु बढ्दो सवारी चाप व्यवस्थापन गर्ने योजनाको एउटा महत्वपूर्ण पक्ष हो । तर, लाइट जडान गर्नुअघि नै त्यसको नियमित सञ्चालन, जनशक्ति व्यवस्थापन, प्राविधिक निगरानी प्रभावकारी बनाउन जरुरी छ । ट्राफिक लाइट सञ्चालन भएपछि सवारीसाधनको आवागमनलाई निश्चित समय र संकेतका आधारमा व्यवस्थित गर्न आवश्यक छ । यसले चोकमा हुने अनावश्यक जाम, अव्यवस्थित ओभरटेक र सवारीसाधनबीचको द्वन्द्व घटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

तर, पैदलयात्री र चालकले संकेतको पालना नगर्ने तथा ट्राफिक प्रहरीको निगरानी कमजोर हुने हो भने लाइट जडानमा ठूलो रकम खर्च गर्नुुको अर्थ हुँुदैन । यसअघि वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको थियो । बीचमा प्राविधिक समस्या देखिए पनि अहिले नियमित सञ्चालन भइरहेको छ । उक्त अनुभवले पनि ट्राफिक लाइटको प्रभावकारिता त्यसको नियमित सञ्चालन र व्यवस्थापनमा निर्भर रहन्छ ।

वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापनको समस्या चोकमा मात्रै सीमित छैन । राजमार्गअन्तर्गत पर्ने बजार क्षेत्रको सडकमा सवारी चाप बढ्दै जाँदा पैदलयात्री, साइकलयात्री र सवारी चालक सबै जोखिममा छन् । विशेषगरी सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको करिब आठ किलोमिटर सडक क्षेत्रमा फुटपाथ, नाला र सवारी आवागमन व्यवस्थापनको समस्या रहेको छ । प्रहरीका अनुसार यस क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र कतिपय दुर्घटनामा मानवीय क्षतिसमेत हुने गरेको छ ।

सडकको साँघुरोपन, फुटपाथको अभाव तथा सवारीसाधनको चापले सडक सुरक्षाको चुनौती थपिएको छ । यही समस्यालाई सम्बोधन गर्न सडक डिभिजन कार्यालय सुर्खेतले सडक व्यवस्थापनको बृहत् योजना अघि बढाउने तयारी गरेको छ । चालू आर्थिक वर्षमा सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको आठ किलोमिटर सडक क्षेत्रमा नाला निर्माण, फुटपाथ व्यवस्थापन र सर्भिस ट्र्याक निर्माण गर्ने योजना रहेको कार्यालय प्रमुख विवशबाबु सदादेवले बताए ।

उनका अनुसार बृहत् योजना कार्यान्वयनका लागि यस वर्ष बजेट माग गरिएको छ । बजेट उपलब्ध भए सडक क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइनेछ । वीरेन्द्रनगरमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट जडान, फुटपाथ निर्माण, नाला व्यवस्थापन र सडक विस्तारजस्ता पूर्वाधार आवश्यक छन् । तर, यस्ता योजनाको प्रभावकारिता निर्माण सम्पन्न भएको विवरणमा मात्र सीमित हुनु हुँदैन ।

सर्वसाधारणले त्यसको सुविधा कहिलेदेखि पाउने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । चारवटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट सञ्चालनमा ल्याउन विभागले नागरिक सचेतना, प्रहरी तालिम र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । त्यसैगरी सडक डिभिजन कार्यालयले अघि सारेको आठ किलोमिटर सडक व्यवस्थापन योजना पनि बजेट र कार्यान्वयनको सुनिश्चिततासँग जोडिएको छ ।

वीरेन्द्रनगरमा सडक दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थामा ट्राफिक लाइट जडानलाई मात्रै उपलब्धि मान्न सकिँदैन । ती लाइट नियमित सञ्चालनमा ल्याउने, पर्याप्त ट्राफिक प्रहरी परिचालन गर्ने र सडकलाई पैदलयात्रीमैत्री बनाउने काम एकसाथ अघि बढाउनुपर्ने देखिन्छ । अन्यथा, लाखौँ रूपैयाँँ खर्च गरेर निर्माण गरिएका संरचना प्रयोगविहीन रहने र सडक सुरक्षाको समस्या यथावत् रहने जोखिम छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार