बर्दियामा पालिका स्तरीय फुटबल प्रतियोगिता, गेरुवाको सुरुवाती जित



अनोज थारु, बढैयाताल ।

प्रथम बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिता बढैयातालमा सुरु भएको छ । प्रतियोगिताको शनिबार पुर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतमले उद्घाटन गरेका थिए । उनले कृषि, पर्यटन र खेलकुद क्षेत्रको विकास बिना बर्दियाको समृद्धि सम्भव नभएको बताए । बर्दियाको समग्र विकासका लागि दलगत स्वार्थ त्यागेर सबै एक हुन आवश्यक रहेको पुर्व मन्त्री गौतमले दाबी गरे ।

बढैयाताललाई सिमसार क्षेत्रको रुपमा विकास गरी बर्दियाको सुन्दरतालाई बचाउन बढैयाताल गाउँपालिकालाई उनले अनुरोध समेत गरेका थिए । ‘खेलकुद र पर्यटनको प्रबद्र्धनः बर्दियाको समर्पण’ भन्ने मुल नाराका साथ कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालको आयोजना र विजय कन्ट्रक्सन एण्ड विना सप्लायर्स तथा ऊँ सत्य साई कन्ट्रक्सन प्रा.लिको मुख्य प्रायोजन प्रतियोगिता सुरु भएको हो ।

यसैबिच प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा गेरुवा गाउँपालिकाले जित हात पारेको छ । बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिका बीच भएको पहिलो खेलमा ० का विरुद्ध १ गोलले बढैयाताललाई हराउँदै गेरुवाले जित हात पारेको हो । प्रतियोगिताको दोस्रो खेल आईतबार ‐आज) २ बजे देखि बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका बीच हुने आयोजकले जनाएको छ । मंसिर २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ पालिकाका टिम सहभागी भएका छन् ।

प्रतियोगितामा बिजेता टिमले १ लाख र उपविजेता टिमले ६० हजार नगद तथा शिल्ड तथा प्रमाण पत्र पाउने छन् । खेलाडीहरुको पहिचान र खेल क्षेत्रको विकासका लागि आयोजना गरिएको प्रतियोगितामा बढैयाताल गाउँपालिका, मयुर युवा क्लव श्याउलीबजार र जिल्ला फुटबल संघ बर्दियाले सहकार्य गरेका छन् ।

उद्घाटन समारोहमा प्रदेश सांसद कविराम थारु, भुवनेश्वर थारु, कुल प्रसाद पोख्रेल, बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत भनाई बढैयाताल गाउँपालिका ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठले राखेका थिए ।

 

 

 

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार