अपांगता भएका व्यक्ति भन्छन्, ‘घर देखि सरकारको बोझ भएका छौ’



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का सर्जन वि.क. हिडडुल गर्न सक्दैनन् । ह्विल चियरको सहायताले यताउता आउजाउ गर्छन् । उनी जन्मजात अपांगता भएका व्यक्ति भने होईन् । विगतमा १० वर्ष चलेको शसस्त्र द्वन्द्वमा वि.क. घाईते भएका थिए । त्यसपछि उनको दैनिक सारथी नै ह्विल चियर बन्यो । उनी भन्छन्, सपांग र अपांग जीवन कस्तो हुन्छ सबै भोगेको छु, पहिले र अहिले व्यक्ति, घर र समाजको व्यवहार निकै फरक छ । ‘कहिले काँही त आफ्नै जिन्दगीमा पनि बोझ लाग्छ’ दुःख व्यक्त गर्ने उनी भन्छन्,‘किन बाँचेछु होला भिड्न्तमा मरेको भए त खुस पाउथे की ।’ सहिद परिवारका सदस्य समेत रहेका वि.क.को परिवारमा द्वन्द्व ताका निकै नराम्रो गरी प्रभावित भयो । अपांगता भएका व्यक्तिलाई घर भित्रै विभेदको वातावरण रहेको उनले बताए ।

‘समाजले हामीलाई दोस्रो दर्जाको नागरिक रुपमा व्यवहार गर्दछ’ उनले भने, ‘राज्यले समेत अपांगता भएका व्यक्तिहरुलाई राम्रो व्यवहार गर्दैन ।’  उनका अनुसार अपांगता भएका व्यक्तिको जन्मलाई नै पापको रुपमा हेरिन्छ । आफूहरु घरभित्रै विभेदको सिकार हुने गरेको वि.क.को गुनासो छ । गाउँपालिका स्तरीय अपांगता समन्वय समितिका सदस्य समेत रहेका उनको राज्यले अपांगता भएका व्यक्तिलाई नागरिकको रुपमा स्वतन्त्र रुपले बाँच्न पाउने वातावरण सिर्जना गर्न नसकेको भनाई छ ।

उनी मात्रै जन्मजात अंपाग जन्मिएका बैजनाथ ५ का राम बहादुर थारुको राज्य दिने मानिस ३ हजार नै जिन्दगी जिउने आधार हो । घर आर्थिक अवस्था निकै नाजुक रहेका राम बहादुरको घरमा कमाउने समेत कोही छैन । आमाले ज्याला मजदुरी गरेर जीवन चलाईरहेकी छन् । उनकी सुख,दुःखकी सारथी नै आमा हुन् ।

उनी पनि समाजले सहनै नसकिने व्यवहार गर्ने गरेको बताउँछन् । ‘अपांगता भएका व्यक्तिको लागि आफ्नो भन्नु कोही छैन’ उनले भने, ‘आफ्नो भनेको त्यही लंगडो शरिर र दुई मुठी श्वास मात्रै हो ।’ स्थानीय सरकारले समेत अपांगता भएका व्यक्तिका लागि उल्लेख्य रुपमा काम गर्न नसकेको थारुले बताए । दृष्टिविहिन मन्ती थारु पनि हरेक दिन मरेर बाँचिरहेको बताउँछिन् । उनी भन्छिन्, हामी त पाईला–पाईलामा मरेर बाँचिरहेका छौ, यो समाज र सरकार हाम्रो पक्षमा छैन ।

अपांग सञ्जाल बैजनाथका अध्यक्ष ललित कठायतले समाज रहेका अपांगता भएका व्यक्तिहरुको हक र हितका लागि सधै लागि परेको बताए । अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि स्थानीय सरकार सँग सधै पहल गरिरहेको उनले बताए ।उनका अनुसार गाउँपालिकामा रहेको अपांगता भएकाहरु एकजुट भएका छन् । राज्य सँग अधिकारको लडाई जारी रहेको अध्यक्ष कठायतको भनाई थियो ।

शसक्तिकरणमा जोड दिएका छौ

समाजमा रहेका अपांगता भएका व्यक्तिहरुको शसक्तिकरणमा जोड दिईएको सरोकारवालले बताएका छन् । स्थानीय सरकारको तर्फबाट अपांगता भएका व्यक्तिहरुको हक र हितका लागि आवश्यक रकम समेत निवियोजन गरिएको उनीहरुले बताएका हुन् । २८ औँ अन्र्तराष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक मान बहादुर दमाईले अपांगता भएका शसक्तिकरणमा जोड दिईएको बताए ।

अपांगता भएको व्यक्तिहरुको शसक्तिकरणको लागि चाल आर्थिक वर्षमा १५ लाख रकम विनियोजन गरिएको उनले बताए ।उनका अनुसार अपांगता भएका व्यक्तिहरुको शसक्तिकरणको लागि स्वरोजगार, सिपमुलक, क्षमता विकास लगायतका विर्षकमा विनियोजन गरेको संयोजक दमाईले जानकारी दिए । यस्तै सुस्त मनस्थिति,बहिरा लगायतका व्यक्तिहरुलाई साकेतिक भाषा तालिम समेत गाउँपालिकाले दिएको बताए । गाउँपालिकाले अनुसार गत आर्थिक वर्ष २८ लाख रकम विनियोजन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १८ गते बुधबार