कोहलपुर ।
बाँके बैजनाथ गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको सकारात्मक सोच सम्बन्धी अनुशिक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि बातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक)को सहकार्य र बैजनाथ गाउँपालिकाका आयोजनामा सुरु गरिएको सकारात्मक सोच सम्बन्धी अनुशिक्षण आइतबार समापन भएको थियो ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले सकारात्मक सोच समृद्धि बैजनाथको आधार हुने बताए । ‘विकासका योजनाहरु पुरा गर्नका लागि निकै समस्या हुने गरेका थिए’ उनले भने, ‘अब विकासका योजनामा आउने समस्यालाई निकारण गर्नेछ ।’ अनुशिक्षण पश्चात बैजनाथ गाउँपालिकाको विकास र समृद्धिको नयाँ मोड लिने उनको भनाई रहेको थियो ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी ‘विश्वकर्मा’ले जनप्रतिनिधि र कर्मचारीहरु सकारात्मक सोचका साथ अगाडि बढे मात्र विकास र समृद्धि सम्भव हुने बताइन् । ‘चूनौति र समस्या सबैसँग हुन्छ’ उनले भनिन्, ‘तर चुनौति र समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ सिकियो । यसले आफ्नो जिवनमा निकै परिवर्तन गरेको छ ।’ यो कार्यक्रम गाउँपालिकाले स्थानीय स्तरमा रहेको युवाहरु माझ लिएर जाने उपाध्यक्ष विश्वकर्माले बताइन् ।
‘समाजमा विभिन्न किसिमका विकृतिहरु फैलिएको छ’ उनले भनिन्, ‘गाउँपालिकामा कलिला युवाहरु नै लागुऔषध दुव्र्यसनी, ड्रक्स जस्ता नकारात्मक बस्तुहरुलाई प्रयोग गरिरहेको छन् ।’ बैजनाथ गाउँपालिका सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाईले जनप्रनितिधि र कर्मचारी एक रुपताले अगाडि बढे नमूना गाउँपालिका बनाउन सकिने बताए ।
‘तिन दिने अनुशिक्षणबाट आफुले महत्वपूर्ण सिकाई सिकेको छु’ उनले भने, ‘सिकेको सिकाई आफ्नो जिवनमा लागु गर्नेछु ।’ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई प्रशिक्षक सुदन ज्ञवालीले अनुशिक्षण गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्