भुरीगाउँ–सुर्खेत सुरुङ मार्ग



चेत नारायण पाण्डेय ,सुर्खेत ।

कर्णाली प्रदेश सरकारले भुरीगाउँ–तेलपानी–वीरेन्द्रनगर सुरुङ्ग मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न चिनिया चिंदाबो म्यूनिसिपाल कन्ट्रक्सन ग्रुप कम्पनीलाई दिने निर्णय गरेको छ । गत कार्तिक महिनाको १९ गते बसेको मन्त्रीपरिषद् बैठकले सम्भाव्यता अध्ययन गर्न नेपाल सरकार मार्फत अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, कर्णाली बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली लगाएका कार्यक्रम समेत स्वीकृत गरेको छ । त्यस्तै प्रदेश सरकारका तर्फबाट प्रदेश स्थापना दिवस र सहिद दिवस भाद्र ४ गते, माघे संक्रान्ति माघ १ गते, देउडा पर्व तथा साउने संक्रन्ति श्रावण १ गते लगाएत भोट–ल्होसार र बकर इदको दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।

प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार हालको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधको दाँया किनाराबाट थप विद्युत् निकाल्नका लागि सम्भाव्यता अध्ययन गरिने र सोही आयोजनाको संचालक समितीमा प्रदेश सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नियूक्त गर्ने निर्णय गरिएको बताइन् ।

बैठकले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई आवश्यक पूर्वाधार निर्माण गरी सुर्खेत मेडिकल कलेज निर्माणार्थ पूर्वाधार निर्माण विकास आयोजनालाई सहमति दिने निर्णय गरेको छ । ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न, क्रसिङ र बिक्रि, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ लाई समेत प्रथम संशोधन प्रदान गरेको छ ।

त्यस्तै दुर दराजमा रहेका कर्णालीबासीका लागि सहयोग गर्ने उद्देश्यले कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ समेत स्विकृति प्रदान गरीएको मन्त्री केसीले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ६ गते शुक्रबार