खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने



नेपालगञ्ज ।

बाँकेको खजुरा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करीब ५ सय जना मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको हो । उक्त बहुउद्देश्यीय सभाहलको बिहीवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक कार्यक्रमका वीच शिलान्यास गरे । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं. ३ का सदस्य डिल्ली आचार्यले विधिपूर्वक पूजापाठ गर्दै शिलान्यासमा सहयोग गरेका थिए ।

२०७६ साल जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रा. लि. काठामाडौंसंग ठेक्का सम्झौता भई २०७८ साल असार मसान्तसम्म सक्ने गरी २ तले सुविधा सम्पन्न सभाहलको शुरुवात गरिएको अध्यक्ष कक्षपतिले बताए । खजुराको गौरवका योजनामा पर्ने उक्त सभाहल बहुबर्षीय बजेटमा निर्माण गर्ने गरी तय गरिएको
छ ।

सभाहल निर्माणका लागि ४ करोड ८० लाख ३६ हजार ५ सय ६० रुपैयाँ भ्याट बाहेकमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्नका लागि सम्झौता गरेको छ । खजुरा गाउँपालिका वडा नं. ३ खजुरा बजार दक्षिण वडा नं. ३ को कार्यालयसंगै रहेको करीब १० कठ्ठामा निर्माण हुन लागेको सभाहल समयमै निर्माण
सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार