भारतीय नक्सा विरुद्ध देशभर प्रदर्शन जारी कोहलपुरमा र नेपालगञ्जमा प्रदर्शन



कोहलपुर ।

नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालका विभिन्न स्थानहरुमा भारतविरुद्ध प्रदर्शन गरिएको छ । अहिले देशका विभिन्न स्थानहरुमा दैनिकजसो प्रदर्शन भइरहेको छ । कालापानी लगायतका नेपाली भूमि समावेश गरिएको नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको हो । कश्मिर मुद्दापछि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रको भू–भाग भारतमा पारिएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको हो ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालमा पर्छन् । बाँकेका नेपालगञ्ज र कोहलपुरमा बुधबारदेखि नै विभिन्न संघ संगठनहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले शुक्रबार समेत प्रदर्शन जारी राखेका थिए । नेपालगञ्जमा प्रमुख सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थीहरुले भारत विरुद्ध प्रदर्शन गरेका थिए भने कोहलपुरमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थीहरुले प्रदर्शन गरे । नेपालगञ्जको विपी चोकबाट राष्ट्रिय युवा संघ बाँके र अनेरास्ववियूको अगुवाईमा सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गर्दै धम्बोझी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राष्ट्रिय युवा संघ बाँकेका नेता किशोर थापाले सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हामी नेपालको सिमा रक्षाको निम्ति मर्न पनि तयार रहेको बताए । लिपुलेक विशुद्ध हाम्रो हुदा हुँदै पनि भारतले आफ्नो निजि स्वार्थको निम्ति आफ्नो नयाँ नक्सामा हाम्रो भु–भाग समावेश गरेकोमा उनले आपत्ति जनाए ।

‘भारतले जुन ढंगले नेपालको २३ वटा सिमा मिचेको छ र आज पनि हामी बाँकेबासिहरु डुबानको मार खेपिरहनु परेको छ त्यसको कारण पनि भारत नै हो, त्यसैले हामी हाम्रो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार छौं’ उनले भने । कोहलपुरमा पनी भारतको नयाँ नक्सा नेपाली भूमी राखेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको थियो । बागेश्वरी बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गर्दै कोहलपुर चौराहामा पुगेर समापन भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ बाँकेका सभापति पुर्ण आचार्यले भारतीय विस्तारबाद र सिमा अतिक्रमण नेपालको लागि सह्य विषय नभएको बताए । सिमा अतिक्रमण बारे सरकार र प्रधानमन्त्रीको मौनता शंकाको विषय रहेको उनको भनाई रहेको थियो ।

उनले सबै नेपालीलाई भारतका विरुद्ध एकजुट हुन समेत आह्वान गरे । प्रदर्शनमा सहभागीहरुले ‘ब्याक अफ इन्डिया’, ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद् मुर्दावाद’, ‘असमान सन्धीहरु खारेज गर’, ‘कालापानी हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए । भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको  छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ । भारतले भने ७० वर्षदेखिको अभ्यास भन्दै नक्साको बचाउ गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार