बाँकेमा उत्कृष्ट सामुदायिक वन र किसान पुरस्कृत



नेपालगञ्ज ।

बाँके जिल्लाका उत्कृष्ट तीन सामुदायिक वन र निर्जीवनका किसान पुरस्कृत भएका छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा वन क्षेत्रको विकास लागि उत्कृष्ट काम गर्ने सामुदायिक वन र किसान पुरस्कृत भएका हुन् । आईतबार एक कार्यक्रमका बीच डिभिजन वन कार्यालय बाँकेले उनीहरुलाई नगद सहित प्रमाण सहित पुरस्कृत गरेको हो । बाँकेका डिभिजन वन प्रमुख मोहन प्रसाद श्रेष्ठका अनुसार जिल्लामा रहेका १ सय १९ सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै विभिन्न ३ वटा सामुदायिक वन उपभोक्ता समूह र ४ वटा निजीवनका किसानहरुलाई प्रमाणपत्र सहित नगद रकमले पुरस्कृत गरिएको हो ।

वर्षभरीको कार्य सम्पादनको आधामा खजुरा गाउँपालिका वडा नम्बर – ५ स्थित गिजरा सामुदायिक वन उपभोक्ता समूह प्रथम, राप्तिसोनारी गाउँपालिका वडा नम्बर – २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूह द्वितीय र राप्तिसोनारी गाउँपालिका वडा नम्बर – ४ स्थित जलहन सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको उनले बताए । यस्तै उत्कृष्ट निर्जिवन तर्फ नरैनापुर गाउँपालिका – ६ का किसान प्रेम चन्द्र मौर्य प्रथम, खजुरा गाउँपालिका २ का किसान बाबुराम गौतम द्वितीय, नेपालगन्ज उपमहानगरपालिका – २२ का किसान जुमई दर्जी तृतीय र बैजनाथ गाउँपालिका ५ का किसान सुरत बहादुर शाहीलाई सान्त्वना भएको प्रमुख श्रेष्ठको भनाई छ ।

उनीहरुले क्रमशः १० हजार,७ हजार, ५ हजार र ३ हजार रुपैया सहित प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६ मा डिभिजन वन कार्यालय बाँकेले गरेका विभिन्न कार्यहरुको समिक्षा समेत गरिएको बताइएको छ । उत्कृष्टहरुलाई जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन कुमार भुजेल लगायतले प्रमाणपत्र तथा नगदले पुरस्कृत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार