पाँच वर्षदेखि डुडुवाको गौशाला प्रयोगविहीन



सहरमा छाडा पशु चौपायाको समस्या बढ्दै जाँदा डुडुवा गाउँपालिका–५ स्थित पशुपति सामुदायिक वनमा २०७६ सालमा निर्माण गरिएको गौशाला पाँच वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रका छाडा चौपाया व्यवस्थापन गर्न समस्या भइरहेका बेला उता डुडुवाको गौशाला भने प्रयोगमै नआएर जीर्ण बन्न थालिसकेको छ । गौशाला निर्माण गरेको डुडुवा गाउँपालिका भने पालिका बाहिरका छाडा पशु चौपायाहरूको व्यवस्थापन गर्ने पक्षमा छैन ।


वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका–५ स्थित पशुपति सामुदायिक वनमा २०७६ सालमा निर्माण गरिएको एक गौशाला पाँच वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । डुडुवा गाउँपालिकाले ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको उक्त गौशाला प्रयोगतर्फ ध्यान नदिँदा उपयोगविहीन बनेको हो ।

पशुपति सामुदायिक वनभित्र बनेको उक्त गौशाला छाडा रूपमा छोडिएका गाईहरू जम्मा गरी पालन गर्ने, दुध, गहुँत, गोबरमललगायत उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको थियो । गौशालामा अधिकतम २ सय ५० गाईहरू पालन गर्न सकिने
क्षमता रहेको छ ।

गौशाला अवस्थित डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर थापा उक्त गौशाला बजेट सक्नका लागि मात्रै निर्माण गरिएको भान आफूलाई भइरहेको बताउँछन् । उनले उक्त गौशालामा बनेको पाँच वर्ष बित्दा पनि अहिलेसम्म गाउँपालिकाले सञ्चालन गर्न नसकेको र वडा कार्यालयलाई सञ्चालनका लागि जिम्मेवारी पनि नदिएको बताए । ठूलो बजेटमा निर्माण भएको संरचना उपयोगविहीन राखिनुले आफूलाई पीडा महसुस हुने गरेको उनले बताए । वडाध्यक्ष थापाले गौशाला सञ्चालन गर्ने हो भने छाडा चौपायाको समस्या समाधान हुनुका साथै राम्रो आम्दानी पनि हुने दाबी गरे ।

‘गौशाला चलायो भने घाटा हुँदैन,’ उनले भने, ‘अहिले गाउँमा छाडा पशु चौपायाको समस्या छ । नेपालगन्जमा पनि त्यस्तै छ । यहाँ ल्याएर गाईहरू पालन गर्ने हो भने दूध पनि उत्पादन गर्न सकिन्छ । अनि अहिले बढ्दो माग रहेको गोबरमल उत्पादन गरेर पनि पैसा कमाउन
सकिन्छ ।’

उक्त गौशाला रहेको पशुपति सामुदायिक वनका अध्यक्ष बेलबहादुर बोहरा भने छाडा गाईहरू ल्याएर पाल्नका लागि स्थानीय बासिन्दाहरूको अवरोध हुने जोखिम रहेको तर्क गर्छन् । उनले भने, ‘यहाँ गौशाला सञ्चालन भयो भने घरमा रहेका अनावश्यक चौपायाहरू पनि मानिसहरू छाडा छोड्छन् । सबै पशुहरूलाई यहाँ पाल्न सकिने अवस्था पनि रहन्न । त्यसकारण पनि सञ्चालन नगरिएको होला ।’

गौशाला सामुदायिक वनमा बनाइएपनि गाउँपालिकाले वन उपभोक्ता समितिलाई हस्तान्तरण भने नगरेको अध्यक्ष बोहराले बताए । अहिले नेपालगन्जमा पुनः छाडा पशु चौपायाको समस्या बढिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कान्जी हाउसमा अहिले १ सय २६ वटा पशु चौपायाहरू राखिएका कान्जी हाउस सञ्चालनमा खटिएका कर्मचारीले जानकारी दिए । कान्जी हाउसमा एक सय ५० पशु चौपायाका लागि मात्रै आहारा र वास व्यवस्थापन गर्न सकिने उनले बताए ।

एक हप्ताअघि मात्रै एकैपटक ६० बढी चौपायाहरू सडकबाट नियन्त्रणमा लिएर कान्जी हाउसमा राखिएका उनले जानकारी दिए । पर्यटन अभियानकर्मी श्रीराम सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा नेपालगन्जका सडकमा भेटिएका छाडा चौपाया र खाली रहेको डुडुवास्थित रित्तो गौशालाका तस्बिरहरू पोस्ट गर्दै लेखेका छन्, ‘नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाँउपालिका बीच समन्वय हुन सके दुबै एक अर्काका पूरक हुन सक्छन् भने नेपालगन्जमा समस्या बनेका छाडा चौपायाले रित्तो कान्जी हाउस (गौशाला) भरिने थिए ।’

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी भने नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका चौपायाहरू गौशालामा राख्ने पक्षमा छैनन् । उक्त गौशाला सञ्चालन भइसकेपछि बाहिरबाट छाडा चौपायाको चाप बढ्ने जोखिम आफूहरूले महसुस गरेर पनि गौशाला हालसम्म सञ्चालनमा ल्याउन नसकेको उनले तर्क गरे । आफूहरूको गौशालामा २ सय ५० भन्दा बढी चौपाया राख्न नसकिने बताउँदै अध्यक्ष चौधरीले सबै स्थानीय तहले आफ्नो क्षेत्रका छाडा चौपायाको व्यवस्थापन आफैँ गर्नुपर्ने बताए ।

यसका साथै, नेपालगन्जको कान्जीहाउसमा चौपायाहरू मरेको घटना स्मरण गर्दै उनले त्यस्तो जोखिम पनि नलिन चाहेको तर्फ संकेत गरे । यद्यपि यसवर्षबाट उक्त गौशाला सञ्चालनमा ल्याउनेतर्फ पहल गरिरहेको उनको भनाइ छ ।

‘मैले स्थानीयहरूसँग भोलि चौपायाहरूको चाप बढेर बालीनाली नोक्सानी हुँदा हुने अलिअलि जोखिम तपाईंहरूले पनि लिनुपर्छ भनेर भनेको छु । धान भित्र्याइसकेपछि सम्भवतः गौशाला सञ्चालनमा ल्याउँछौँ,’ गाउँपालिका अध्यक्ष चौधरीले मिसन टुडेसँग भने ।

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार