कोहलपुरमा गरिएको सौन्दर्यकरणले खिच्यो नागरिकको ध्यान



कोहलपुर नगर विकास समितिले नगर सौन्दर्यकरण कार्यक्रमअन्र्तगत नगर विकासभित्र रहेका सडक पेटी, प्रविष्टहरू र खाली भित्ताहरूमा सौन्दर्यकरण गरेको छ । त्यति मात्र नभइ न्यू रोडस्थित खुला मञ्चमा खुला जिम र बजारका ठाउँठाउँमा बस्नका लागि आरामदायी बेञ्चहरू समेत राखिएको छ । अहिले बजारको सौन्दर्यकरण अर्थात् रङ्गरोगनले बाह्य तथा आन्तरिक पर्यटकहरूको मन जितेको छ । बजार सौन्दर्यकरणको प्रभावले अहिले बजार केही मात्रामा भएपनि चलायमान बनेको देखिन्छ । बजार सौन्दर्यकरणले बजार सुन्दर राख्नुका साथै सकारात्मक सन्देश दिएको छ ।
गणेश रावत । कोहलपुर ।

कालोपत्रे सडक । चट्ट सफा भित्ता । चारैतिर थरीथरीका ऐतिहासिक तथा विभूतिहरूका चित्र । राष्ट्रिय जनावरदेखि कोहलपुर चिनाउने चित्रहरू एउटै भित्तामा अटाइएको छ । त्यसैको बीचमा छ, कोहलपुरको १० तले भ्यू टावर । अहिले त्यहाँ पुग्ने जोकोही एक तस्बिर नलिएर फर्कन उनीहरूको मनले मान्दैन् ।

कोहलपुर नगर विकास समितिले भ्यू टावरका भित्तामा चित्र र सडक पेटीहरू रङ्गरोगन गरेपश्चात सबैको ध्यान खिचेको छ । जसका कारण अहिले दैनिक सयौँ जना फोटो, भिडिओ र टिकटक बनाउन पुग्ने गरेका छन् । भ्यू टावरभन्दा पनि नगर विकासले भित्तामा बनाएका चित्रहरूले स्थानीय तथा बाह्य पर्यटकहरूको ध्यान खिच्ने गरेको छ ।

थरीथरीका र विभिन्न रङहरूमा भित्ताहरूमा रङ्गिएका चित्रले गोलपार्क क्षेत्र आसपासमा चहलपहल बढाएको छ । त्यसले गर्दा कोहलपुरमा मनोरञ्जन लिन र फ्रेस हुन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय बताउँछन् ।
‘कोहलपुर बजारमा घुम्ने ठाउँहरू नहुँदा अन्य ठाउँहरूमा घुम्न जानुपथ्र्यो । अहिले बजारका विभिन्न ठाउँहरूमा घुम्न र हेर्नलायक वातावरण निर्माण भएका छन्,’ स्थानीय अनिल थारूले भने, ‘आफ्नै सुन्दर नगरीको बजार सौन्दर्यकरण हुँदा केही घण्टा समय बिताउन त्यति गाह्रो छैन् । त्यसैले यस्ता कार्यहरूलाई जनप्रतिनिधिहरूले निरन्तरता दिन आग्रह गर्दछु ।’

अहिले बजार सौन्दर्यकरण हुँदा साँझ बिहान घुम्न जान सहज भएको उनी बताउँछन् । भ्यू टावरका भित्तामा कोरिएका चित्रहरूले मानिसहरूको चहलपहल हुँदा व्यापार व्यवसाय पनि राम्रो हुँदै गएको उनले बताए । त्यहाँ घुम्न आउने मानिसहरूको चलायमानले पहिलाको भन्दा केही मात्रामा व्यापार बढेको व्यवसायी पनि बताउँछन् ।

नगर विकास समितिले नगर सौन्दर्यकरण कार्यक्रमअन्र्तगत नगर विकासभित्र रहेका सडक पेटी, प्रविष्टहरू र खाली भित्ताहरूमा सौन्दर्यकरण गरेको छ । त्यति मात्र नभइ न्यू रोडस्थित खुला मञ्चमा खुला जिम र बजारका ठाउँठाउँमा बस्नका लागि आरामदायी बेञ्चहरू समेत राखिएको छ । जसले नागरिकहरूलाई स्वस्थ रहन र मनोरञ्जन लिन सहज भइरहेको छ ।

अहिले बजारको सौन्दर्यकरण अर्थात् रङ्गरोगनले बाह्य तथा आन्तरिक पर्यटकहरूको मन जितेको छ । बजार सौन्दर्यकरणको प्रभावले अहिले बजार केही मात्रामा भएपनि चलायमान बनेको देखिन्छ । बजार सौन्दर्यकरणले बजार सुन्दर राख्नुका साथै सकारात्मक सन्देश दिएको छ ।

कोहलपुर तीन प्रदेशको केन्द्रविन्दु पनि हो । कोहलपुरले गरेका हरेक कामले तीन प्रदेशका नागरिकहरूले नजिकबाट नियाल्ने गरेका छन् । त्यसले पनि कोहलपुरलाई चिनाउने गरेको छ । सौन्दर्यकरणलाई आगामी दिनहरूमा पनि जोड दिनुपर्ने स्थानीय बताउँछन् । सौन्दर्यकरणले बजारको रुप फेरिएको नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार धनगढी र काठमाडौँमा जसरी कोहलपुरको बजार सौन्दर्यकरण गरिएको हो । नगर विकास समितिको क्षेत्रभित्र रहेका सडक पेटीहरूमा रङ्गरोगन गर्नुका साथै सौन्दर्यकरणमा जोड दिएको अध्यक्ष आचार्यले बताए ।

नगर सौन्दर्यकरणका लागि समितिले ठेक्का आह्वान गरेर रङ्गरोगन कार्य गरिएको उनले जानकारी दिए । बजारमा खाली रहेका सडक पेटी, प्रविष्टहरू र खाली भित्ताहरूमा सौन्दर्यकरण गर्न रङ्गरोगन कार्य सकिएको उनले बताए ।
कोहलपुरको सौन्दर्यकरण र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले भित्ता रङ्गाएको उनले मिसन टुडेलाई जानकारी दिए ।

‘काठमाडौँ र धनगढीमा पनि हामीले रङ्गरोगन गरेको हे¥यौँ,’ उनले भने, ‘यसले विशेष गरेर बजारको सौन्दर्यकरण गर्ने । अर्काेतर्फ त्यसले सन्देश पनि दिने । त्यसकारण चित्र बनाउने र प्रविष्टमा रङ्गरोगन गरे कङ्क्रिटको पनि आयु बढाउने गर्छ ।’ सडक पेटीमात्र नभई कोहलपुरलाई चिनाउन र सौन्दर्यकरण गर्न मद्दत पुग्ने विश्वास लिएको उनी बताउँछन् ।

भित्तामा नेपालका राष्ट्रिय चिन्हहरू, नेपालका राष्ट्रिय विभूतिहरू, राराताल, हात्ती, बाघ, डाँफे र कोहलपुर झल्काउने धार्मिक एवं सांस्कृतिक चित्र बनाइरहेको उनले बताए । आठ लाख रूपैयाँँ लगानीमा भ्यू टावरमा चित्रहरू बनाएको उनको भनाइ छ । जसले अब कोहलपुरमा आन्तरिक र बाह्य पर्यटन घुम्ने ठाउँ निर्माण भएको छ ।

आरामदायी बेञ्च

कोहलपुर नगर विकास समितिले सार्वजनिक स्थानहरूमा राखेका आरामदायी बेञ्च बहुउपयोगी देखिएका छन् । सडक पेटीमा फलफूल बेच्नेदेखि बटुवासम्मलाई थकाइ मेट्न आरामदायी बेञ्चहरू उपयोगी बनेका हुन् ।
नयाँ बसपार्क, पुरानो बसपार्क, न्यूरोड लगायतका सार्वजनिक ठाउँहरूमा रङ्गीन बेञ्चहरू राखिएका छन् । जसले गर्दा यात्रुहरूले गाडी कुर्दा होस् या चर्काे गर्मीमा सितल लिनुका साथै थकाइ मेट्ने गतिला स्थल बनेका छन् ।

सार्वजनिक स्थलहरूमा ५६ वटा बेञ्चहरू राखिएका हुन् । कोहलपुर नगर विकासले गरेको सार्वजनिक स्थलहरूमा राखिएका बेञ्चहरूले सहजता प्रदान गरेको स्थानीय रन्नबहादुर बोहोराले बताए । आजकल साँझतिर बेञ्चमा आराम गर्न र दिनमा यात्रुहरू सवारीसाधन पर्खन सहज भएको उनको भनाइ छ ।

थकाइ मेट्ने दर्जन चौतारी 

नगरपालिकाले फुटपाथमा निर्माण गरेका दर्जनौँ चौतारीहरूले नागरिकहरूलाई राहत प्रदान गरेको छ । अहिले गर्मीयाम रहेकाले पनि रूखको छहरीमुनी चौतारीमा सितलता लिनेहरूको भिड नै देखिन्छ । नगरपालिकाले निर्माण गरेका दर्जन चौतारीहरूमा यात्रुदेखि बटुवा र जुत्ताचप्पल सिलाउनेहरूलाई रातह प्रदान गरेको हो । जसको कारण सहजै रूख र चौतारीको छहारीमा बसेर काम गर्न सहज हुने गरेको दीपा नेपालीले बताइन् ।

विगतमा फोहोर हुने फुटपाथ अहिले टायल र रङ्गीन चौतारीहरूले मजाले बसेर काम गर्ने गरेको उनको भनाइ छ । निकै गर्मी हुने भएकाले दिउँसो र साँझपख छहारीमा बस्नेहरूको भिडभाड हुने गरेको उनले बताइन् । फुटपाथ र न्यूरोडका विभिन्न संरचना निर्माणले व्यापार राम्रो भइरहेको उनले जानकारी दिइन् ।

झिलिमिली रूख

कोहलपुर नगरपालिकाले सौन्दर्यकरणको अर्काे रुप हो, फुटपाथका रूखहरूमा झिलिमिली बत्ती । नगर विकास समितिले नै निर्माण गरेका फुटपाथका झिलिमिली बत्तीले सबैको ध्यान खिचेका थिए । राती १० बजेसम्म त्यहाँ टिकटक बनाउनेदेखि फोटो खिच्नेहरूको सुरुवाती दिनहरूमा भिड लाग्ने गर्थे ।

फुटपाथमा रूखमा झिलिमिली बत्तीले फोटो खिचाउन र टिकटक बनाउन केहीदिन भिडभाड नै देखिएको थियो । जसका कारण फोटोग्राफरहरूले राम्रो आम्दानीसमेत गरे । मासिक ३० हजारमाथि कमाउने गरेका थिए ।
विभिन्न कलरका बत्तीहरूले सबैको ध्यान खिचेको थियो । रङ्गीन बत्तीहरूले अहिले पनि रातिसम्म टिकटक र भिडिओ बनाउन आउने गर्दछन् । जसका कारण चहलपहल बढ्दा आसपासका व्यवसाय बढेको छ । विशेषगरी रातिको समयमा सञ्चालन हुने आइसक्रिम र चटपटे ठेलाहरूले राम्रो कमाइसमेत गर्ने गरेका छन् ।

सुरुवाती दिनहरूमा दिनमा एक हजारसम्मको व्यापार हुने गरेकोमा अहिले न्यूरोड, खुला जिम र विभिन्न रङरोगन हुँदा व्यापार बढेको नवीन रोकायाले बताए । गर्मी मौसम रहेकाले पनि घुम्न र फोटो खिच्न आउनेहरूले आइसक्रिम खाने गरेको उनी बताउँछन् ।

खुला जिम

अहिले नगर विकासले निर्माण गरेको खुला जिम गर्नेहरूको भिड लाग्ने गरेको छ । विशेषगरी महिला र बालबालिकाहरूको उपस्थित धेरै हुने गर्छ । हरेक दिनजसो साँझ बिहान जिम गर्न नागरिकहरू पुग्ने गरेका छन् ।

नगर विकासले निर्माण गरेको उक्त जिममा स्वास्थ्यको चिन्ता राख्नेहरूले प्रयोग गर्दै आएका छन् । दिनमा सयौँ जनाले जिम गर्ने गरेका छन् । पानी परेको दिनबाहेक प्रत्येक दिन जिम गर्नेहरूको भिड हुन्छ । कतिपयलाई जिम गर्ने पालो कुर्नुपर्ने अवस्था रहेको निर्मल थापाले बताए ।

चौराहमा विभिन्न जंगली जनावरका मूर्ति

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि कोहलपुर चौराहमा विभिन्न जंगली जनावरका मूर्ति स्थापित गरिएको छ । नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा निकुञ्जले कोहलपुर चौराहमा विभिन्न तीन वटा जंगली जनावरका मूर्तिहरू राखिएको छ ।

दुई वटा बाघ, एउटा चौका र एउटा हात्तीको मूर्ति स्थापित भएपश्चात केही दिन घुम्नेहरूको भिड लाग्ने गरेको थियो । अहिले पनि दैनिक ५० जनाभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटनहरू पुग्ने गरेका छन् । चौराहमा रहेका हात्ती, चौका र बाघका मूर्तिसँग टिकटक बनाउनुका साथै फोटो खिचेर फर्किने गर्दछन् । जसले कोहलपुर सँगसँगै बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारमा टेवा पुगेको छ । कोहलपुर चौराहको बाहिरपट्टी मूर्ति राखिएको छ ।

‘बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो, यहाँ संरक्षित जनावरहरू छन्, संरक्षित जनावरहरूको प्रवद्र्धन तथा निकुञ्जको पर्यापर्यटनको प्रचारप्रसारका लागि कोहलपुर चौराहमा विभिन्न जनावरका मूर्ति राखिएको हो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले भने ।

चौराहको पूर्वतर्फ बाघ, पश्चिमतर्फ चौका, उत्तरतर्फ बाघ र दक्षिणतर्फ हात्तीको मूर्ति राखिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा चितवनबाट मूर्ति बनाएर ल्याइएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले जानकारी दिए । उनका अनुसार मूर्तिहरू फाइबरबाट बनाइएका छन् । टुटुफुट नहुने, नखुइलिने र मजबुद रहेको बताइएको छ ।

यसले निकुञ्जको प्रचारप्रसार, जनावरको प्रवद्र्धन मात्रै नभएर चौराहको सौन्दर्यकरण बढ्ने पनि उनले बताए । बाँके जिल्लाकै गौरव, शान र पहिचान बनेको राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र प्रवद्र्धन गर्न यसले टेवा दिने उनको भनाइ छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्जको अनुरोधमा उक्त जनावरहरूको मूर्ति निर्माण गरेर चौराहमा राखिएको बताए । नगर प्रमुख आचार्यले यी मूर्तिहरूका कारण पर्यटन प्रवद्र्धन भएमा तथा प्रभावकारी देखिएमा नगरका अन्य सडक छेउका मूख्य मूख्य पर्यटकीय स्थानहरूमा पनि विभिन्न जनावरका मूर्तिहरू राख्ने योजना बनाउने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार