नकावधारी लुटेरा समूह प्युठानमा पक्राउ



प्युठान ।

जंगलमा बाटो ढुकेर दिउँसै लुटपाट गर्ने ४ जनाको नकावधारी समूहलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घन्टा नबित्दै प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । बुधबार साँझ ५ बजे उक्त घटना भएको थियो । प्युठानको स्वर्गद्वारी नगरपालिका २ मा गाउँबाट समूहको पैसा बोकेर भिङ्ग्रीतर्फ आउँदै गरेकी सूर्योदय लघुवित्त संस्थाकी कर्मचारी सुशीला केसीको साथमा रहेको ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुटिएको थियो।

लुटेरा समूहले ब्ल्यांकेटले ढाकेर केसीको साथमा रहेको रकम लुटेको प्रहरीको भनाइ छ । लुटपाटपछि भाग्न सफल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनीहरुको साथबाट लुटिएको रकम बरामद गरिएको छ । पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका २ का जीवन हमाल, निरज विक, कुशल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २४ गते शुक्रबार