राजेन्द्र प्रसाद धिताल
हामीले लामो पैदल बाटो छिचोल्यौ । धेरै उकाकाहरु चढ्यौ, धेरै ओरालाहरु झ¥यौ । बाटामा साना ठूला धेरै खोलाहरु र खहरेहरु त¥यौ । मैले कलिलो बाल्यकालमा प्रकृतिको बहुरुपी स्वरुपको दर्शन लाभ गर्न पाएको छु । बज्यूको बुइमा बसेर मैले सेताम्य हिमाल लहरै हासेको हेरेको छु। बाटाभरि आफ्नै सुरमा बोलेका थरिथरि चराका चिरबिर सुनेको छु । एक दिन एकाबिहानै चराले कुखुरी काँ गरेर बोलेको सुनेर म चकित भएको थिए र बज्यूलाई यो कुन चरा हो र यसले के भनेको हो भनेर सोधेको थिए । बज्यूले मलाई पहिलोपटक भालेको बोलीसग परिचित गराउनु भएको थियो । जुम्ला जहाँ हाम्रो घर थियो, मैले त्यहाँ कुखुरा बासेको सुनेको थिएन, सायद त्यहाँ त्यतिबेला कुखुरा पाल्ने चलन थिएन । बिहानै मान्छेलाई ब्युझाउने कुखुराको भाले हाम्रो घरमा किन पालेका छैनन्, मैले बज्यूलाई सोधेको थिए । बाहुनले कुखुरा पाल्नु हुदैन, छुनु हुदैन भन्नुभएको थियो । हामी कसरी बाहुन भयौं र हामीले कुखुरा पाल्न किन हुदैन भनेर मैले बज्यूलाई बारम्बार प्रश्न गरेको थिए । बज्यूले मलाई भुटो नगर भनेर चुप लगाउनु भयो । मलाई पछि थाहा भयो कि बज्यूसग मेरो प्रश्नको सही जफत नै रहेनछ । भालेको डाकोसँगै उठ्नु पर्ने, मिर्मिरे उज्यालोसँगै हिड्नुपर्ने र सूर्य पश्चिमी डाँडामा लुक्न थालेपछि सन्ध्या विश्रामको तयारी गर्नुपर्ने हाम्रो दैनिकी बनिसकेको थियो । म पूर्ण रूपमा बज्यूमाथि निर्भर छु । मलाई मेरो सबथोक बज्यू नै हुन् झै लागिरहेको छ । मेरो ज्ञानको स्रोत पनि बज्यू, मेरो जिज्ञासाको समाधान पनि बज्यू । म बज्यूतिर हेरिरहेको हुन्थे, म हास्दा बज्यूको मुहारमा खुसी झल्केको हुन्थ्यो, म रुँदा बज्यूको आँखामा आँसु छचल्किएको हुन्थ्यो ।
अब बिस्तारै मैले आमालाई सम्झन छोडेको थिए । कहिलेकाँही सपनामा आमालाई देख्थे, ब्युझेर रुन्थे । कति हो कतिपटक म बज्यूले थाहा नपाउने गरी रोएको छु । मलाई थाहा छ, बज्यू मलाई धेरै माया गर्नु हुन्छ, मेरो लागि धेरै कष्ट सहनु भएको छ । सानै भए पनि अनुमान गरिरहेको हुन्छु म बस्दा बस्दा बज्यूको पिठ्युँ कति थाकेको होला । दिनभरि मलाई बोकेर हिड्नु छ, साँझ बिहान र दिउँसोको भोजनको प्रबन्ध गर्नु छ । दुख बाड्ने ठाउँ छैन, वेदना आफैभित्र सँगाल्नु छ, हृदयमा कति वेदना छ थाहा छैन तरल बाहिरबाट सबै कुरालाई सहज रूपमा लिएझैं गरेर यात्रामा हुनुहुन्छ बज्यू । म बज्यूलाई हेर्छु उहाँको थकित मुहारमा कतै पनि उदासी देखिदैन । स्नेहले प्रदिप्त हुनुहुन्छ मेरी बज्यू । बज्यूको मधुर वात्सल्यले म द्रवीभूत भएको हुन्छु, भिजेको हुन्छु र अनायासै रोएको हुन्छु । छिचोल्दै पहाडका अग्ला होचा लेक बेसीहरु हामी वरिपरि पहाड र बीचमा समथर भूभाग भएको मैदानमा आइपुग्छौं । पहाडहरुले घेरिएको त्यो समथर मैदानमा भेरी नदीसग हाम्रो साक्षात्कार हुन जान्छ । अब हामीले त्यो नदी तर्नुछ र पारी जानु छ । नदी किनारमा मान्छेहरुको हुल छ । मान्छेहरु डेरा जमाएर बसेका छन् । हामीले पनि त्यो नदी किनारमा डेरा बनायौ । भेरी नदीपार गर्ने त्यो ठाउँ जामु नामले प्रशिद्ध रहेछ । मलाई घाट छालको बसाइ रोचक र अनौठो लागेको छ । धेरै दिनदेखि नाउँमा पालो पर्खेर बस्नुपर्ने रहेछ । राति मान्छेहरु समूह समूहमा बाडिएर बसेका छन् । कतै देउडा गीतको गुन्जन सुनिन्छ ।
कतै युवा युवतीको ठाडिभाकाले घाट छालमा रौनक भरिएको छ । कोही तासमा रमाएका छन् । ठाउँठाउँबाट आएका छन् मान्छेहरु । छालभरि हटारुको गल्लागल्ली छ । यात्रा अनिश्चित छ । जीवन अनिश्चित छ । काठको डुङ्गामा गङ्गा पार गर्नु छ । अलिकति डर छ । कोही देवता सम्झिरहेका छन् । कोही देवीको भाकल गर्दै छन् । यात्रामा बालकहरु छन्, तन्नेरीहरु छन् र वृद्धहरु पनि छन् । सबै मुग्लान हिडेका छन्। कोही नूनका लागि हिडेका छन् त कोही सुनका लागि हिडेका छन् । कोही खानाका लागि मधेस झर्दै छन् त कोही लत्ताकपडा र भाडाकुडाको प्रबन्ध गर्न हटारु बनेका छन् । जामुको घाटमा हामी दुई दिनजति बस्यौं र नदी तर्ने पालो पायौं । हामी काठका ठूला नाउँमा बसेका छौं । बज्यूले मलाई काखमा राख्नुभएको छ । कान्छोबुबा मेरो नजिकै हुनुहुन्छ । बज्यू भगवानको पुकारा गर्दै हुन्छन् । कुल देवता बुढो मस्टो, गुरो, देउती बज्यै, भवानी, कालिका, मालिका महादेव, फुटाशिली, गाङ्गोडे लगायतका देवता र बाहनहरुलाई पुकारिरहनु भएको छ । धेरै मानिसहरू नाउँमा बसेका छन् । नाउँ बीच घाटमा छ । दुई जनाले नाउँ चलाएका छन् । म डराएको छैन, केवल आश्चर्य चकित भएको छु, रोमान्चित भएको छु । जामु तरेर पारी गयौं र अगाडि बढ्यौं ।यो नवीनतालाई मैले उत्सुक भएर हेरिरहेको थिए । बज्यू अब तराई नजिकै छ भन्दै हुन्नथ्यो । हिड्दै हिड्दै जाँदा अर्को घाट आयो । त्यो नदी कुइनेको भन्दा ठूलो थियो । बज्यूले मलाई मलाई यो नदी कर्णाली हो भनेर चिनाउनु भयो ।
कुइनेको घाटमा पनि त्यस्तै चाप थियो, नाउँमा पालो पाउनका लागि हानथाप थियो । घाटमा केही मानिस एकनास नाउ चलाइरहेका छन् । यात्रीहरु आउछन्, जान्छन् तर नाउ चलाउनेहरु उहीका उही छन् । मैले नाउँ चलाउने मान्छेका बारेमा बज्यूसग जिज्ञासा राखे । बज्यूले ती नाउ चलाउन सक्ने मान्छेहरुलाई राजी भन्नुभएको थियो, कसैकसैले उनीहरूलाई माझी पनि भनेको सुने । मैले त्यत्रो ठूलो नदीमा नाउँ चलाएर धेरै मान्छेहरु पार गराउन सक्ने माझीहरु निकै बलिया मान्छे हुन् भन्ने ठानेको थिए । कुइनेमा कर्णाली त¥यौ । यो नदी तरिसकेपछि मधेस प्रस्थानको ठूलो अवरोध सकिएको ठान्दा रहेछन् हटारुहरु । उनीहरूका कुरा सुनेर मैले थाहा पाए, अब यात्रा सहज भइसकेको छ । नदी तरिसकेपछि बिहानको खानाको समय भयो, कर्णाली किनारमा हामी भात पकाउन लाग्यौं । बिहानको कलिलो घाम लागेको छ । घामका किरणहरुले नदीलाई स्पर्श गरिरहेका छन् । छालभरि मान्छेहरु भान्साको तयारीमा छन् । सुन्दर बिहानीमा कर्णाली किनारमा जीवनको आभा टल्कीरहेको छ । बज्यूले कर्णालीमा हिमा तिला मिसिएकी छन् भन्नुभएको छ । मैले कर्णालीलाई अत्यन्तै नजिककी आफन्त झै सम्झेको छु । म कर्णालीको जल किनारमा छु । यहाँ धेरै मान्छे छन् । सबै मान्छेहरु आ–आफ्नै सुर र धुनमा छन् । म भने निर्निमेष कर्णाली नियाली रहेको छु । कर्णाली हिमालबाट हिमा नदीलाई बोकेर यहाँ कुइने घाटामा मेरो समीप फैलिएकी छन् ।
मलाई बज्यूले पिठ्युँमा बोकेर यहाँ कुइनेमा ल्याइपु¥याउनु भएको छ । लामो समय मसँग बिछुडिएकी हिमा नदीलाई मैले यहाँ कर्णाली किनारमा भेटाएको छु । कर्णाली अविश्रान्त बगिरहेकी छन्, म भावनाको छालमा बगिरहेको छु । हिमाको काखमा पुग्छु । म जन्मभूमि सम्झन पुग्छु । मेरो जन्म गाउँको शीतल बतासले मलाई छोएको अनुभूति हुन थाल्छ । म घरको आगन सम्झन्छु र आमाको न्यानो अगालो सम्झन्छु र एक्कासि म रुन थाल्छु । यता खाना तयार भइसकेछ । बज्यू मलाई बोलाउनु हुन्छ । म भावनाबाट फर्केर यथार्थको लयमा आउछु । हठात आँखाबाट झरेका आँसु पुच्छु र बज्यूको नजिक गएर भातको थाल समात्छु ।खाना खायौं र फेरि उही क्रममा हाम्रो यात्रा आगाडि बढ्यो । हामी हिडेका छौँ, हाम्रो साथमा कर्णाली बगेकी छन् । कर्णालीको छालछालै साँघुरो बाटो छ, बाटोका छेउछाउमा स–साना घरटहरा छन् । स–साना पसलहरु छन् । बाटो साँघुरो र अप्ठ्यारो छ तर उकालो ओरालो छैन । हिड्दा हिड्दै पहाड सकिन्छ र हामी पुरै मैदानमा आइपुग्छौ । हामी मैदानमा आइपुग्दा घाम डुबिसकेका छन् । हामी विश्रामका लागि डेरा बनाउँछौ । बज्यू त्यो ठाउको नाम बरचौर भन्नुहुन्छ । हामी बरचौरमा रात बिताउछौ । रात बित्छ, बिहान हुन्छ र हाम्रो यात्रा अगाडि बढन थाल्छ । हामी पुरै मैदानी भूभागमा छौं । सूर्योदय हुन थालेको छ । म उदाउँदो सूर्यलाई हेर्छु । सुर्य त पूरै गोलो र रातो छ ।
मैले डाँडाबाट झुल्केको घाममात्र देखेको थिए । यस अघिसम्म मैले झलमल्ल भएको घाम मात्र देखेको थिए । तर आज तराईको फाँटमा मैले रातो सूर्यको दर्शन पाए, सिंगो र रातो घामको दर्शन मेरा लागि दुर्लभ र मोहक थियो । अब हामी मैदानी बाटोमा छौं । बरचौर छोडेपछि घना जङ्गल आउछ । जङ्गलको बाटो सकिएपछि झिलिमिली बजारमा आइपुग्छौ । धेरै मान्छेको चहलपहल छ । नयाँ नयाँ कपडाका दोकानहरु छन् । चिनी, गुड र नूनका खातका खात छन् । मिठो बास्नादार मिठाइ र नास्ताका पसलहरु छन् । हामी केही बेर त्यो बजारमा रुक्यौ । बज्यूले मलाई यही हो हाट भन्नुभयो । म हाट देखेर हर्षित भए । मिठाइ देखेर मन लोभियो, मैले बज्यूसग मिठाइ किनी देऊ भने, बज्यूले पिपलमेटको थैलो किनिदिनु भयो । राता, पहेला रङ्गका गुलिया पिपलमेट पाएर म दङ्ग परेको थिए। मैदान भएकोले हिड्न कठिनाइ थिएन । म पनि बिस्तारै पैदल हिड्दै थिए । हिड्दा हिड्दै फेरि हामी कर्णाली किनारमा आइपुग्यौ । किनारमा दिउँसोको खाना खायौं । फेरि त्यसै गरी नाउँबाट कर्णाली त¥र्यौ र मैदानी बस्तीमा लाग्यौं । बाङ्गाटिङ्गा बाटा हिड्दा हिड्दै साँझ पर्न थालेको थियो । बाटामा ठूल्ठूला खेतका फाटहहरु छन् । पहँेला धानका बाला झुलेका छन् । थरीथरीका फूल फुलेका छन् । घाम ओरालो लाग्दैछ्न, डुब्न लाग्दै छन् । म घाम हेरिरहेको छु । यहाँ घामलाई लुकाउने डाँडाकाँडा छैनन् । फेरि मैले हेर्दाहेर्दै डुब्न थालेका राता घाम देखे । मैले चकित भएर यो दृश्य बज्यूलाई देखाए ।









प्रतिक्रिया दिनुहोस्