10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

हामी नागरिकको सुरक्षाप्रति सचेत छौँः डिएसपी नारायण डाँगी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १, २०८०  

नेपाली दाजुभाइ दिदीबहिनी भारतमा मात्र होइन कहीँ पनि नलुटिऊन भन्ने कुरामा नेपाल प्रहरी सचेत छ । त्यसैले हामीले भारतसँग प्रत्येक महिना काउन्टर पार्ट मिटिङ गर्दै आएका छौँ । चाडबाडलाई लक्षित गरेर हालै मात्र पनि हामीले भारतीय पक्षसँग मिटिङ गरेका थियौँ । त्यसमा नागरिकको सुरक्षाका लागि दुवै पक्षले सहयोग, सहजीकरण र समन्वय गर्ने कुरा भएको छ । हामी हाम्रा नागरिकको सुरक्षाप्रति सचेत छौँ ।

नारायण डाँगी । प्रहरी नायब उपरीक्षक (डिएसपी) । जिल्ला प्रहरी कार्यालय, बाँके

१. जिल्लामा कस्ता–कस्ता सुरक्षा चुनौतीहरू छन् ?

बाँके जिल्ला संवेदनशील जिल्ला हो । यहाँ थुप्रै सुरक्षा चुनौतीहरू छन् । धार्मिक, जातीय विविधता तथा सीमाक्षेत्रको जिल्ला भएकाले पनि यहाँको सुरक्षामा थप चुनौती देखिएका छन् । केही समयअघि मात्र पनि यहाँको सुरक्षामा केही तनावपूर्ण अवस्था देखाप¥यो ।

तर पनि सबैको संयम र सुझबुझबाट यो साम्य भएको छ । यसले पनि धैय, संयम र सुझबुझले नै समाजमा शान्ति स्थापना हुने कुरालाई स्पष्ट गर्दछ ।

२. नेपालीहरूका चाडबाड नजिकिएका छन् । चाडबाडमा सुरक्षा चुनौती अझै थपिएलान् नि त ?

दसैँको समय भएकाले अहिलेको प्रमुख चुनौती भनेको मूर्ति विसर्जन हो । यसलाई कसरी सही ढंगले सुरक्षा व्यवस्थापन गर्ने भन्ने कुरामा हामी केन्द्रित भएका छौँ ।

अर्को कुरा चाडबाड भएकाले यतिबेला मानिसका गाउँकेन्द्रित यात्राहरू जारी छन् । नेपालगन्ज भनेको एउटा ट्रान्जिट पनि हो । भारतबाट आउने अधिकांश नागरिक यही बाटो भएर विभिन्न क्षेत्रमा जाने गरेका छन् ।

त्यसकारण उनीहरूको सुरक्षित यात्राका लागि सहयोग पु¥याउने हिसाबले हामीले विभिन्न स्थानहरूमा यात्रु सहायता कक्षहरू पनि स्थापना गरेका छौँ ।

त्यस्तै तेस्रो कुरा भनेको यतिबेला वित्तीय कारोबार बढी हुने समय हो । मानिसहरूको बैंक तथा वित्तीय संस्थाहरूमा बढी आउजाउ हुने गर्छ । आर्थिक रूपमा संवेदनशील मानिने वित्तीय क्षेत्र तथा सुन पसलहरूमा हामीले सुरक्षा प्रबन्ध मिलाएका छौँ । त्यस्ता ठाउँहरूमा हामीले निगरानी बढाएका छौँ, प्रहरी परिचालन गरेका छौँ ।

त्यस्तै, चौथो नम्बरमा, चाडबाडका बेला दुर्घटनाहरू बढी हुने सम्भावना हुन्छ । मानिसहरू चाडबाडको माहोलमा हुन्छन् । कतिपयले मापसे गरेर सवारी चलाउने गरेको पनि पाइन्छ । यस्ता कुराको रोकथाम गर्नका लागि हामीले संयुक्त सुरक्षा गस्ती पनि बढाएका छौँ ।

ट्राफिक प्रहरीसँगको समन्वयमा चेक प्वाइन्टहरू बढाएर निगरानी गर्ने काम भइरहेका छन् ।

त्यसैगरी चाडबाडका बेला चोरी लुटपाटका घटना पनि बढ्न सक्छन् । त्यस्ता घटना हुन नदिन पनि हामी क्रियाशील छौँ । हाम्रो प्र्रयत्न आफ्नो ठाउँमा रहन्छ । आम सर्वसाधारण पनि यसमा सचेत हुन जरुरी छ ।

नागरिक सचेतनाका लागि हामीले विभिन्न सञ्चारमाध्यमहरूबाट पनि अनुरोध गरिरहेका छौँ । रेडियो जिंगलहरू बनाएर नेपाली, अवधिलगायतमा भाषामा सचेतना सामग्री प्रचारप्रसार भइरहेका छन् ।

३. यतिबेला भारतीय नाकाबाट नेपालीहरू आउने क्रम बढेको छ । भारतमा उनीहरू लुटिने ठगिने गरेका समाचार सुनिन्छ । त्यसलाई नियन्त्रण गर्न भारतीय प्रहरीहरूसँग कस्तो समन्वय भइरहेको छ ?

नेपाली दाजुभाइ दिदीबहिनी भारतमा मात्र होइन कहीँ पनि नलुटिऊन भन्ने कुरामा नेपाल प्रहरी सचेत छ । त्यसैले हामीले भारतसँग प्रत्येक महिना काउन्टर पार्ट मिटिङ गर्दै आएका छौँ ।

चाडबाडलाई लक्षित गरेर हालै मात्र पनि हामीले भारतीय पक्षसँग मिटिङ गरेका थियौँ । त्यसमा नागरिकको सुरक्षाका लागि दुवै पक्षले सहयोग, सहजीकरण र समन्वय गर्ने कुरा भएको छ । हामी हाम्रा नागरिकको सुरक्षाप्रति सचेत छौँ ।

४. अर्को कुरा चाडबाडका बेला रमाइलोका नाममा ठूला–ठूला जुवा चल्ने गरेको पाइन्छ । जुवातास नियन्त्रणका लागि पनि कुनै योजना अघि सार्नुभएको छ कि ?

हेर्नोस, जुवातास नियन्त्रण हाम्रो सुरक्षा योजनाअन्तर्गत जहिले पनि पर्छ । हामीले विभिन्न सूचनाहरू संकलन गर्ने काम गरिरहेका हुन्छौँ । सादा पोसाकमा हाम्रा प्रहरी परिचालित भएका हुन्छन् ।

उनीहरूको सूचनाका आधारमा यस्ता काम नियन्त्रण हुने गरेका छन् । कहीँ त्यस्तो अवस्था देखियो भने हामी पक्राउ गरेर कानुनी कारबाही गर्छौं । यो हाम्रो नियमित कामअन्तर्गत नै पर्छ । चाडबाडमा विशेष निगरानी बढाइन्छ ।

५. केही दिनअघि मात्र नेपालगन्जमा जुन तनाव सिर्जना भयो, त्यो समयमै सुरक्षा सचेतता अपनाउन नसक्दा भएको भन्ने आम बुझाइ छ । आगामी दिनमा यस्ता घटना नदोहोरिऊन भन्नका लागि सुरक्षा निकाय कत्तिको सचेत छ ?

बाहिर आएका सबै कुरा सत्य हुन्छन् भन्ने हुँदैन । विगतमा जुन घटना घट्योे त्यस्तो घटना फेरि फेरि नघटोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । सबै नागरिक जिम्मेवार भएर मात्र धार्मिक, सामाजिक सद्भाव कायम राख्न सकिन्छ ।

समाजको सुरक्षा नागरिकको पनि जिम्मेवारी हो । बाँकेबासी सम्पूर्ण नागरिकमा संयम हुन, सामाजिक सद्भाव कायम गर्न र कुनै पनि सुरक्षा अवस्थामा खलल पुग्ने काम नगर्न हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।

प्रकाशित मितिः बुधबार, कार्तिक १, २०८०     6:20:00 AM  |