सल्यानी खुकुरीको माग बढ्यो



सल्यान/  सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ । सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पु¥याउनै मुस्किल भएको छ । सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने जस्ता कारणले पनि सल्यानी खुकुरीको माग बढ्दै गएको हो ।

सल्यानको शारदा नगरपालिका २ खलंगामा रहेको विश्वकर्मा टोलमा रहेका १० परिवार मध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेशा अंगालीरहेका छन् । आफुहरुले विभिन्न प्रकारका खुकुरीका साथै खुँडा, चक्कु, चुलेसी लगायतका समाग्रीहरु समेत बनाउने गरेको स्थानिय जुद्ध बहादुर विकले बताए ।

सशस्त्रद्धन्दको समयमा खुकुरी बनाउने पेशा बन्द नै भएपनि शान्तिप्रक्रिया शुरुभएसँगै यो पेशाको पुनः शुरुवात गरिएको उनले बताए । आफुहरुसँग अहिले सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री, जीडव्लु खुकुरी, डव्लूडव्लू वान, डव्लूडव्लू टु जस्ता एकदर्जन खुकुरी बनाउने सीप भएको उहाँले बताए । खुकुरीको माग अत्याधिक बढेपनि युवा पुस्ताको आकर्षण बढ्न नसक्दा यो पेशा संकटमा पर्न सक्ने देखिएको छ ।

विश्वकर्मा टोलमा रहेका युवाहरु अन्य पेशामा जान थालेको र अन्य समुदायका मानिसहरु समेत यस पेशामा नआएकोले यो पेशा संकटमा पर्न सक्ने देखिएको स्थानीय जुद्ध बहादुर विकले बताए । अहिले खुकुरीको माग अत्याधिक आउने तर माग अनुसारको पूर्ति गर्न नसकेको खुकुरी उद्यमी इन्द्र विकले बताए ।-उज्यालो अनलाइन

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ २ गते शनिबार