30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

चाणक्य नीति भन्छ, ‘यी चार परिस्थितिको सामना गर्नुभन्दा भाग्नु उचित’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२  

भनिन्छ, कुनै परिस्थितसँग डराएर भाग्ने होइन, त्यसको सामना गर्नुपर्छ । यस्तो मान्यतासँग एउटा तर्क पनि छ, भागेर कुनै पनि समस्या समाधान हुँदैन, त्यसको सामना गर्दा समाधान निस्किन सक्छ । तर, चाणक्य नीतिलाई मान्ने हो भने, ४ वटा परिस्थितिको सामना गर्नुभन्दा त्यसबाट भाग्नु बेस हुन्छ ।

चाणक्य (ईसापूर्व अनुमानित ३७०–२८३) पूर्वीय दर्शनका एक चर्चित विज्ञ थिए । उनको ‘चाणक्य नीति’ आजपनि उत्तिकै सान्दर्भिक छ । आचार्य चाणक्यले चारवटा परिस्थितिबाट भाग्नुमै भलो हुने सुझाएका छन् ।

चाणक्य नीति अनुसार यी हुन् ति चार परिस्थिति:

१. हुलमुल र दंगाबाट
यदि कुनै स्थानमा दंगा वा मारपिट भइरहेको छ र त्यो आफ्नो एकल प्रयासमा नियन्त्रणमा आउन सम्भव छैन भने त्यसबाट भाग्नु बेस हुन्छ । यदि दंगाग्रस्त क्षेत्रमा बसिराख्ने हो भने कुनै पनि बेला हिंसाको सिकार बन्न सकिन्छ । यस्तो अवस्थामा राजद्रोहको मुद्दासमेत लाग्न सक्छ । त्यसैले हुलमुल र दंगाबाट सकेसम्म बच्नुस् ।
२. अचानक भएको दुस्मनको हमलाबाट

दुस्मनले कतिपय समयमा लुकेर अचानक हमला गर्न सक्छन् । जुन अवस्थाको सामना गर्न तपाईं मानसिक रुपमा पनि तयार हुनु भएको हुँदैन भने यस्तो अवस्थामा बचेर भाग्नुमै भलो हुन्छ । यसरी अचानक हुने हमलाबाट तत्कालका लागि आफूलाई सुरक्षित राखेर बल्ल पछि त्यसको सामना गर्ने उपाय सोच्नु हितकर हुन्छ भनेर चाणक्य नीतिले भन्छ ।

३. भोकमरी र अनिकालग्रस्त क्षेत्रबाट

तपाईंको क्षेत्रमा अनिकाल मच्चियो । खानपानको हाहाकार भयो, तत्काल समाधान हुने लक्षण पनि छैन भने त्यहाँबाट तुरुन्त भाग्नु बेस हुन्छ । यदि तपाईं अनिकालग्रस्त क्षेत्रमा बसिराख्नुभयो भने निश्चितरुपमा तपाईंको जीवनमा नै संकट आइपर्न सक्छ । यस्तो क्षेत्रमा अधिक समय जीवत रहन असम्भव हुन्छ ।

४. निच व्यक्तिको संगतबाट

चाणक्य भन्छन्, यदि तपाईं कुनै निच (तल्लोस्तरको सोंच भएको) व्यक्तिको संगतमा पर्नुभयो भने त्यसबाट तुरुन्त भागिहाल्नुस् । यस्ता व्यक्तिको संगतले तपाईंलाई कहिल्यै भलो गर्दैन, बरु समस्या निम्तिन्छ । जसरी कोइला खानीमा जाने मानिसको शरीरमा त्यहाँको कालो लाग्छ, त्यसैगरी निच व्यक्तिको संगतले तपाईं‌को जीवनमा पनि दाग लाग्न सक्छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२     11:15:20 AM  |