​राजनीतिको सिन्डिकेट अन्त्य गर्न सरकारलाई यातायात व्यवसायीको चुनौति



सल्यान,२५ वैशाख/ सिन्डिकेटको पूर्ण रुपमा अन्त्यका लागि सरकारले चालेको कदममा आफूहरु बाधक नभएको सल्यान रुकुम यातायात व्यवसायी समितिले बताएका छन् ।

मंगलबार सल्यानको बागचौरमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष लोकमान बुढाथोकीले सरकारले चालेका हरेक कानुनसम्मत कामलाई सम्मान गर्न आफूहरुको दायित्व रहेको बताउनुभयो ।

‘सल्यान–रुकुम यातायातले कहिल्यै सिन्डिकेटको समर्थन गरेन’, उहाँले भन्नुभयो, ‘अहिले चालेको सरकारको कदममा आफूहरुको पूर्ण समर्थन छ ।’

नागरिकलाई सजिलोका लागि आलोपालो गरेको दावी गर्दै उहाँले अहिलैकै अवस्थामा सबै गाडी एकैसाथ चलाउँदा दुर्घटना ह्वात्तै बढ्ने बताउनुभयो । उहाँले सरकारले सिन्डिकेट अन्त्यका लागि थालेको अभियान बीचैमा छाडेमा ठूलो दुर्घटना हुने बताउनुभयो ।

तत्कालीन समयमा जनमुक्ति सेनाका कमाण्डर तथा अहिले बागचौर नगरपालिकाका मेयर समेत रहेका बुढाथोकीले तत्कालीन समयमा पार्टीले यातायात क्षेत्रको जिम्मेवारी दिएर समिति खोल्न पठाएको स्मरण गर्दै आफूहरुले अहिले नागरिकको मन जित्ने गरी काम गर्दा समेत राज्यले सबै समितिलाई एउटै डालोमा राखेको गुनासो गर्नुभयो ।

‘हुन त हाम्रै पार्टीका नेता गृहमन्त्री हुनुहुन्छ’, बुढाथोकीले भन्नुभयो, ‘उहाँले सिन्डिकेट नरहेका समितिलाई समेत अपराधिको जस्तो व्यवहार गर्नु राम्रो भएन ।’

मेयर समेत रहेका बुढाथोकीले आफूहरु समिति भंग गरी प्रालिमा जान तयार गरेको बताउनुभयो । ‘हामी राज्यका सबै नियमहरुलाई अक्षरंस पालना गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म प्रालिले तिर्ने करको विषयमा स्पष्ट कार्यविधि बनेको छैन ।

सरकारले पनि तत्काल विधि र प्रकृया स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले यातायातमा सिन्डिकेट हटाए जस्तै अन्य क्षेत्रमा भएका सिन्डिकेटको पनि अन्त्य गर्नुपर्ने माग गर्नुभयो । मेयर बुढाथोकीले सरकारलाई राजनीतिको सिन्डिकेट अन्त्य गर्न चुनौति दिनुभयो ।

‘सरकारले यातायातमा रहेको सिन्डिकेट त हटाउने तयारी गर्यो’, बुढाथोकीले भन्नुभयो, ‘तर अब राजनीतिमा रहेको सिन्डिकेट पनि हटाओस साथै यातायात व्यवसायी जस्तै संघसंस्था ऐन अनुसार दर्ता भएर काम गरी रहेका अन्य एनजीओ तथा आईएनजीओमा रहेको सिन्डिकेटको अन्त्य गर्न म सरकारलाई चुनौति दिन्छु ।’

‘अहिले पार्टीभित्र महासिन्डिकेट रहेको भन्दै बुढाथोकीले त्यो सिन्डिकेट तोड्न एकदमै जरुरी रहेको बताउनुभयो । बुढाथोकीले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री हुने कुरामा नागरिकलाई अलमल्याइरहेको आरोप लगाउनुभयो ।

‘देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुँदा आलोपालो प्रणाली हुने अनि व्यवसायीले पनि त्यही आलोपालो गर्दा त्यो अपराध कसरी भयो ?’ बुढाथोकीले प्रतिप्रश्न गर्नुभयो ।-उज्यालो अनलाइन

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २५ गते मंगलबार