बझाङ,१५ वैशाख/ बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्ने मौसमको सुरुवातमै यस वर्ष बझाङको साइपाल गाउँपालिका–३, घर भएका २० वर्षका भीनबहादुर बोहराको हिमाली क्षेत्र फरालखेत भन्ने ठाउँमा हिँउ पहिरोमा पुरिएर ज्यान गयो ।
यार्सा टिप्ने क्रममा यसपाली ज्यान गुमाउने उनी पहिलो व्यक्ति नै होलान् । आठ–नौ वर्षको उमेरदेखि आफ्ना अभिभावकसँग यार्सा टिप्न जाने बोहरा यार्सा पाइने ठाँउमा हेरफेर गर्न जाँदा माथिबाट हिउँपहिरो आएर पुरिएपछि १५ महिना अघि विवाह गरेकी उनकी श्रीमतीको सिउँदो पुछियो । घरको एक्लो छोरा भीमको ज्यान गएको खबरले घर परिवारदेखि उनको गाउँनै शोकाकुल बनेको छ ।
यसरी यार्सा टिप्ने मौसममा बर्सेनी २–४ जना नागरिकले ज्यान जानु भनेको यहाँका लागि सामान्य जस्तै भइसकेको छ । बहमूल्य जडिबुटी यार्सा सानै भए धेरै मूल्यमा बिक्रि हुने भएपछि मर्ने वा बाँच्ने भगवान भरोसा भएर हिमाल जाने होडबाजी नै चल्ने गरेको छ । जसका कारण यार्सा संकलकहरुको अमूल्य जीवन पनि बर्सेनी यार्सा टिपेर धनी बन्ने सपनामा गुम्ने गरेको छ ।
यर्सा टिप्ने समयको सुरुवातमा नै काँडाका भीमबहादुर बोहरा जस्तै गएको बिहीबार पनि छविसपाथीभेरा गाउँपालिकाका–५, थलारा घर भएका २० वर्षीय रमेश जाग्रीको पनि यार्सा टिप्ने ठाँउ जाँदै गर्दा भिरको बाटोमा लडेर ज्यान गएको खबर आयो ।
यार्सा टिप्ने सुरुको यो साता २ जनाको ज्यान गइसकेको छ भने हिमालबाट फर्कने बेला असारसम्म त अझै कतिले मृत्युलाई अगाल्नुपर्ने हो त्यसको कुनै लेखाजोखा छैन् । यार्सा टिप्न राइढुङ्गा गइरहेका काँडाका दीपक बोहराले टेलिफोनमा भने, ‘ज्यान नै जोखिम पारेर यार्सा टिप्न जाँदै छु, लाश आउछ कि सास ! थाहा छैन ।
बर्सेनी यार्साले धेरैको ज्यान लिइरहेको छ, तर न सरकारी पक्षले त्यतातिर ध्यान दिएको छ न जनचेतनाको कुनै काम सुरु गरिएको छ । गएको वर्ष कैलाश गाउँका ४ जना डम्मर सिंह, महेश सिंह, सन्तोस सिंह र रंगे शाहीको यार्सा टिपेर घर फर्कने बेला धुलिमा खोलाको काठेपुल तर्दा खसेर बेपत्ता भएका थिए । यस अघि पनि यार्सा टिप्ने क्षेत्रको राइढुङ्गेमा समेत २ समूहबीच झगडा हुँदा काँडाका एक जनाको ज्यान गएको थियो ।
यार्सा टिप्ने प्रचलन सुरु भएपछि मात्रै बझाङको सुर्मा दौलिचौरमा मात्रै प्रत्यक वर्ष एक–दुई जनाको ज्यान जाने गरेको छ । सुर्मा गाउँपालिकाका वडा नम्बर–१, का वडा अध्यक्ष पुस्कल बोहरा भन्नुहुन्छ, ‘हिमलमा नै मान्छेहरु मर्छन, उतै दाहसंस्कार हुन्छ । यार्सा टिप्ने समयमा कति जना मान्छे मरे भन्ने एकिन विवरण छैन । तर वर्षमा ४–५ जनाको यार्साकै कारण ज्यान जाने गरेको छ ।
बझाङको उत्तरी क्षेत्र साइपाल हिमालको छेउछाउ, कालापानी माँझा, अमलागाड, इमुलद्धार, सुर्मा सरोबरको छेउछाउ, जलजला, चुपी, ढोलढुङ, धनसेरी, पाथिकुण्ड, बीरु, तपोबन, माली लगायतका क्षेत्रमा २० हजारभन्दा बढी मानिसहरु यो समयमा यार्सा टिप्न जाने गर्दछन् ।
उच्च हिमाली क्षेत्रमा यार्सा पाइने भएकाले यहाँ जान भिर, पहिरोको बाटो, लेक लाग्ने, हिउँ पहिरोमा पुरिने, ढुङ्गा खसेर चोट लाग्ने, खोेलामा तर्दा बगाउने र बेपत्ता हुने लगायत डर हुने गरेको यार्सा संकलन गर्न जानेहरु बताउछन् । साथै हिमालमा हिउँसँगै बसेर यार्सा टिप्नु पर्ने भएकाले लत्ता कपडा, बस्ने ठाउँ, खाद्यान्नको उचित व्यवस्थापन नहुँदा पनि चिसोका कारण महिला तथा बालबालिकाहरु बिरामी पर्ने समस्या रहेको छ ।
यार्सा पाइने क्षेत्र नजिक रहेका गाउँपालिका साइपाल, सुर्मा, बुंगल नगरपलिका, छविसपाथीभेरा गाउँपालिकाले यार्सा संकलकहरुबाट कर असुल्ने गरेको भए पनि यो मौसममा यार्सा संकलन गर्ने ठाँउमा कति मान्छेहरु गएका छन् र उनीहरुको अवस्था के छ , त्यहाँ पुग्न बाटोको समस्या के छ ? जस्ता पक्षमा कुनै ध्यान दिएका छैनन् ।
चैतको अन्तिम सातादेखि असरको दोस्रो सातासम्म हजाराैं मानिसहरुको चहल–पहल र भीडभाड हुने हिमाली क्षेत्रमा पछिल्लो समय यार्सा लुटपाट गर्ने समूहहरुको पनि चलखेल हुने गरेको छ । ‘यार्सा टिप्ने सिजनमा बर्सेनी चार पाँच जनाको ज्यान जाने खबर हामीले पनि सुन्ने गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका रामसिंह बोहराले भन्नुभयो, ‘प्रहरीलाई मृतकका आफन्तहरुले जानकारी नदिने हुँदा अहिलेसम्म कतिको ज्यान गयो भनेर कुनै अभिलेख राखिएको छैन ।’
यार्सा टिप्ने यो मौसममा नेपाल सरकाकोतर्फबाट यार्सा संकलकहरुको सुरक्षाका लागि हिमाली क्षेत्रमा प्रहरी परिचालन गरिए पनि टाढाटाढा विभिन्न स्थानहरुमा यार्सा संकलन गर्न नागरिकहरु जाने हुँदा कुन व्यक्ती कहाँ कसरी मर्यो थाहा नहुँदा अभिलेख राख्न नसकेको प्रहरीको भनाई छ ।
प्रति किलो १५ देखि २२ लाखसम्म बिक्री हुने यार्सा प्रति गोटा (पिस) ३ सय देखि १ हजारसम्म बिक्री हुने भएकाले काँडा, सुर्मा, नौबिस, छबिस, दहबगरका स्थानीयबासिन्दा र बाहिरी जिल्लाबाट आएका पनि आफ्ना १२ वर्ष भन्दा माथिका बालबालिकासहित ३ महिना हिमालमा बस्ने गर्दछन् ।
यर्सा संकलन गर्ने समयमा हजारौं नागरिकहरुको उच्च हिमालमा चहल–पहल हुने र त्यहाँ बर्सेनी ४–५ जनाको ज्यान जाने हुँदा यार्सा संकलकहरुको पास बनाउनु पर्ने र मृतकहरुलाई सरकारी तहबाट क्षतिपूर्ति पाउने व्यावस्था गर्नुपर्ने स्थानीय रमेश केसीले बताउनुभयो । यार्सा टिप्ने स्थानमा टेलिफोन सम्पर्क समेत नहुने हुँदा टेलिफोनको टावर राख्नुपर्ने उहाँको भनाई छ ।
सरकारले यार्सा संकलन गर्न जाने नागरिकको उमेर हद तोकेर हिमाल जानमा कडाइ नगरे धेरैले अकालमा नै ज्यान गुमाउने देखिन्छ । नागरिकको सुरक्षामा खटिएका प्रहरी र स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाले पनि यार्सा टिप्न जाने नागरिकको लेखाजोखा राख्न जरुरी देखिन्छ ।
यार्सा टिपेर ल्याएपछि कर लिने गाउँपालिका तथा नगरपालिकाले यार्सा टिप्न जाँदा नागरिकको सुरक्षा नदिने हो भने कर लिनुको पनि कुनै औचित्य देखिँदैन ।-ujyaaloonline









प्रतिक्रिया दिनुहोस्