गण्डकी ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समयसापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड दिएका छन् । पोखराको छिनेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसीमा) सोमबारदेखि आयोजित ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’ विषयक पाँच दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समयसापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताए ।
सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड दिँदै उनले हाम्रो वास्तविकता, भूगोलसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात् गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताए ।पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यताका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाइराख्नु होटल व्यवसायीको मुख्य जिम्मेवारी रहेको स्मरण गराए ।
पोखरालाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको सङ्गमका रूपमा चिनाउँदै यी तिनै कुरालाई एकसाथ अगाडि बढाउन होटलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।नेपाल बाहिर विभिन्न देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति र पोखराकै कलेजबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाइराख्ने वा फर्काउने वातावरण बनाउनुपर्ने प्रमुख आचार्यको भनाइ थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएका अवस्थामा यहाँका गतिविधि अन्य प्रदेशका लागि उदाहरणीय हुनुपर्ने बताए । तालिमका सहभागीले यहाँ सिकेका कुरालाई आ–आफ्ना प्रतिष्ठान र होटलमा व्यावहारिक रूपमा लागू गर्न उनले आग्रह गरे ।
कलेजका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’ कार्यक्रमको सुरुआत गरिएको बताए । स्वीस कन्ट्याक्ट र प्रसिद्ध होटल म्यानेजमेन्ट कलेज ‘एसएचएल लुजानी’सँगको सहकार्यमा कलेजले विशेष तालिम आयोजना गरेको बताए ।पोखराका पर्यटन क्षेत्रका १५ व्यवस्थापकस्तरका व्यक्तिलाई दिइने तालिममार्फत पर्यटन क्षेत्रका लागि प्रशिक्षक तयार पार्ने उद्देश्य लिइएको छ ।
तालिमप्राप्त प्रशिक्षकले आगामी जुलाई महिनामा पोखरा र यस क्षेत्रका होटलमा कार्यरत करिब ५०० कर्मचारीलाई हस्पिटालिटी, फ्रन्ट डेस्कलगायत विभिन्न विधामा विशेष तालिम प्रदान गर्ने आयोजकले जनाएको छ ।कार्यक्रममा प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको बताए । उनले कलेजको २७ वर्षको इतिहासमा यो तालिम एक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्