कास्की ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर अहिले त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिन पाइने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवा–सुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ अहिले मनग्य आम्दानी र रोजगार सिर्जनाको आधार बनेको छ ।भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बसेका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ तथा बेलायतको व्यापार व्यवसाय छाडेर नेपाल फर्किएका लच्छीन गुरुङले फार्म सुरु गरेका थिए ।
उनीहरूको साझा सोच थियो—विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमै उपयोग गर्ने ।आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किएका उनीहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे । अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ तथा अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखिएपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गरेका थिए ।
दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म अहिले विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेको छ । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । विदेशमा अवसर खोज्ने युवाका लागि पनि यो फार्म प्रेरणाको स्रोत बनेको छ ।विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ ।
नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको छ ।दैनिक चार सयभन्दा बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो संख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङले बताए ।फार्ममा एक किलो माछा पकाएको एक हजार ७०० रुपैयाँ लिने गरिएको उनले बताए ।
“रेष्टुरेन्टसँगै आरामदायी कटेजको पनि व्यवस्था गरिएको छ । राति बस्ने पाहुना बढे पालको व्यवस्था पनि गरिन्छ, जसले पर्यटक थप आकर्षित भएका छन्,” उनले भने । वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उनले बताए । ६६ वर्षीय लच्छीनका अनुसार फार्ममा अहिलेसम्म सात करोड रुपैयाँ लगानी भइसकेको छ । यहाँ २४ जनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र नपुग्दा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरिएको उनले बताए । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको छ । अमृत अहिले ६५ वर्षका छन् । उनले व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको बताए । उनका अनुसार नेपाल सरकार तथा विभिन्न स्वदेशी र विदेशी संघसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।
पोखरा आउने दुई प्रतिशत पर्यटकलाई मात्र पनि उक्त क्षेत्रमा पुर्याउन सके पर्यटकको बसाइ लम्ब्याउन र थप रोजगारी सिर्जना गर्न सकिने उनीहरूको भनाइ छ । पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर, अकला र पुरन्चौर हुँदै करिब १७ किलोमिटर दूरीमा रहेको यो स्थान अहिले केवल व्यवसाय मात्र नभई आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको छ ।
फार्ममा परम्परागत लिङ्गे पिङ, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । त्यसैले सामाजिक सञ्जालमा रमाउने युवापुस्ताको समेत आकर्षण बढ्दो छ । रासस









प्रतिक्रिया दिनुहोस्