काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको र अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने बताएकी छिन्।
मन्त्री रावलको सचिवालयले पठाएको एक भिडियोमा रावलले सुकुमबासी समस्या समाधानका लागि विगतमा अपनाइएका पुराना ढर्रा र संरचनाहरू प्रभावकारी नभएको स्वीकार गरिन्। उनले भनिन्, ‘पुरानो ढर्राबाट हुँदैन, पुराना जति पनि हाम्रा संरचना थिए, त्यसले राम्ररी काम गरेन र केही पनि नतिजा दिन सकेन ।’
विगतको असफलतालाई मध्यनजर गर्दै सरकारले फरक किसिमबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ अध्यादेशमार्फत संरचनामा फेरबदल गरेको उनले जानकारी दिइन्। नयाँ संरचनाहरू बन्ने क्रममा रहेको र यसले चाँडै नतिजा दिने उनले दाबी गरिन्।सरकारको अबको लक्ष्य केही हप्ताभित्रै लालपुर्जा वितरण गर्ने रहेको मन्त्री रावलले स्पष्ट पारिन्।
‘पक्कै पनि अबको केही हप्तामा सुकुमबासीको हकमा हामी लालपुर्जा वितरण गर्छौँ,’ उनले भनिन्। सरकारले सहकारी पछि सुकुमबासी समस्यालाई प्राथमिकतामा राखेर समाधानको प्रयास गरिरहेको उनको भनाइ छ।









प्रतिक्रिया दिनुहोस्