सल्यान/ अवैधानिक रुपमा नागरिकता बनाएकोे भन्दै सल्यानमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको नाम खुलाउन असहज मानी अभिभावकको नाममा अर्कैको नाम राखेर नागरिकता बनाउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।
अवैधानिक रुपमा नागरिकता बनाएको भन्दै दुबै जनाको नागरिकता जिल्ला प्रशासन कार्यालय सल्यानले रद्द गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।
शारदा नगरपािलका–१३ निवासी भन्दै ३० वर्षीया पार्वती बस्नेतले नागरिकता बनाउँदा आमाको नाममा सोही गाँउको नातेदार महिलाको नागरिकता मागेर पेश गरेको थाहा भएपछि नागरिकता रद्द गर्न लागेको उनले बताए ।
आमा बुवा नभएको बताउँदै पार्वतीले आफ्नो पतिको नामबाट नागरिकता बनाउन खोज्दा आमाको नागरिकता पेश गर्नुपर्ने भएकाले शारदा नगरपािलका–१३ कै दानी बुदाथोकीको नागरिकता मागेर पेश गरेको घिमिरेको भनाई छ ।
शारदा नगरपािलका–१३ का वडा अध्यक्ष तुल्सीराम रावतले गरेको सिफारिसका आधारमा पार्वतीले यही आर्थिक वर्ष ०७४ पुष १९ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिइन् । सो घटनाबारे थाहा पाएपछि वडा अध्यक्ष स्वयंले यस विषयमा प्रहरीलाई खबर गरेका थिए ।
यस्तै शारदा नगरपालिका –१ का विशाल बुढाथोकीको पनि नागरिकता रद्द हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । बुढाथोकीले पनि आमाको नामको नागरिकताको साटो गाँउकै नातेदार महिला सीता बुढाथोकीको नागरिकता पेश गरेको खुल्न आएपछि नागरिकता रद्द गरिएको उनले बताए ।
विशालले गत आर्थिक वर्ष ०७३ पुष १३ गते जिल्ला प्रशासन कार्यालय बाट नागरिकता लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्