ट्राफिक ब्यवस्थापनका लागि डिभाइडर हटाइदै



नेपालगन्ज,१५ माघ/ नेपालगन्जको चारलेनको सडकमा राखिएका डिभाईटर हटाउन थालिएको छ । ट्राफिक ब्यवस्थापनका लागि आइतबार रातीदेखि डिभाईडर हटाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र ब्यवसायीहरुले निर्माण सामाग्री, ठेला राखेर तथा पार्किङ गरेर आवागमनमा थप समस्या आएको भन्दै सर्बपक्षीय बैठकको निर्णय अनुसार डिभाईडर हटाउन सुरु गरिएको हो । बढी वजन भएका कारण डिभाईडर राती हटाउन थालिएको हो ।

उपमहानगरपालिका भित्रको राझा चोकदेखि गणेशमान चोकसम्मका ३ सय २५ वटा डिभाईडर हटाइने सूचना अधिकारी शरद पौडेलले बताउनुभयो । हटाइएका केही डिभाईडर ग्रीन वेल्टसँगै जोडेर मोड क्षेत्रमै राखिनेछ, पौडेलले भन्नुभयो, ‘केही दिनमै यो काम सम्पन्न हुनेछ ।’

मोड क्षेत्र धेरै भएका कारण यात्रुहरुले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि क्रसिङ मोडमा डिभाईडर राख्न थालिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको छ ।

नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल सुरु गरिसकिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले जानकारी दिनुभयो । सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिदैछ, थापाले भन्नुभयो, ‘सुर्खेत रोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको छ ।’

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचना मुलक बोर्डलगायतका कामहरु अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार