पढ्दै कमाउँदै २१ वर्षीय रमेश थारु
बाँकेको बैजनाथ–३ का २१ वर्षीय रमेश चौधरी चिया बेच्छन् । कोहलपुर–११ स्थित उज्वल रोड लाइनमा उनको मट्का चिया पसल छ । विगत एक वर्षदेखि चिया बेच्दै जीविकोपार्जन गर्दै आइरहेका छन् । उनी पढ्दैछन् । फुर्सदको समयमा व्यवसाय गरेर कमाइरहेका छन् । रमेशले कोहलपुरस्थित कोहलपुर मोडल कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययन पनि गरिरहेका छन् । व्यवस्थापन संकायमा अध्ययन गरिरहेका उनको योजना व्यवसाय नै गर्नेछ । रमेश भन्छन्, ‘साढे एक वर्ष जति अर्काको पसलमा ज्यालादारीमा काम गरे । आफैँ दुःख गरेर पैसा त कमाए । तर असन्तुष्टि मिलेन । आफैँ केही गर्नुपर्छ भनेर चिया बेच्न थालेँ ।’

उनले साढे १ वर्ष सिएम आर्ट (मालिका डिजिटल)मा काम गरे । पछि सन् २०२५ को अन्त्यतिर आफ्नै व्यवसाय सुरु गरे । एक लाख रुपैयाँ लगानीमा आफूले व्यवसाय सुरु गरेको उनको भनाइ छ । उनको दैनिकी एउटा मट्का, केही कप, चियापत्ति र दूधसँग लडिबुडी गर्दै बित्छ । आफ्नै सपना साकार गर्न र आत्मनिर्भरताका लागि उनले हरेक दिन पसिना बगाइरहेका छन् । उनी आफूमात्रै आत्मनिर्भर छैनन् । केहीलाई रोजगारीसमेत दिएका छन् । उनको पसलमा चार जना कामदार छन् ।
‘मेरै उमेरका कति जना विदेश गइसके । म भने आफ्नै देशमा चिया बेचिरहेको छु । म त यसैमा खुसी छु,’ रमेश सुनाउँछन् । विदेश जान १८ देखि २० लाख रुपैयाँ लाग्छ । त्यो रकम यहाँ लगानी गर्न सकियो भने राम्रो व्यवसाय गर्न सकिन्छ । ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने विश्वासले उनी निरन्तर प्रयास गरिरहेका छन् ।
उनका अनुसार युवाहरुको विदेश पलायन रोक्नका लागि आगामी सरकारले युवामैत्री नीति ल्याउनुपर्छ । दिनमा करिब १ सय २० देखि २ सय कप चिया बिक्छ । एक कपको मूल्य ४० रुपैयाँ । हिसाब गर्दा यो ठूलो रकम जस्तो लाग्दैन । तर रमेशका लागि हरेक कप चिया आत्मनिर्भरताको एउटा खुड्किलो हो, आत्मसम्मानको एउटा प्रमाण हो । दैनिक सदर २–३ हजार रुपैयाँ कमाइ हुन्छ । मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको रमेश बताउँछन् । ‘अब व्यवसायलाई केही परिमार्जन गर्छु । मट्का चिया ब्रान्डिङ गर्छु । बैजनाथतिर पनि व्यवसाय सुरु गर्दैछु,’ उनले आफ्नो आगामी योजना सुनाए ।
…
विदेश जाने सपना त्यागेर स्वदेशमै अडेका मनवीर
आम नेपाली युवाजस्तै विदेश जाने योजना बनाए पनि विदेश जाने सपना त्यागेर स्वदेशमा अडेका २६ वर्षीय जेनजी युवा हुन्, बाँकेको कोहलपुर–१२ सुन्तरबस्तीका मनवीर परियार । २०७४ सालतिर उनले भर्खरै प्लस टु सकाएका थिए । लगत्तै कोहलपुरस्थित फुजिसन कन्सलटेन्सीमा दुई हप्ता जापानिज भाषाको कक्षा लिए । कक्षा त लिइरहेका थिए तर निकै दोधारमा थिए । स्नातक तह अध्ययनको लागि कलेज भर्ना गर्ने कि विदेश जाने भनेर ? दुईमध्ये एउटा विकल्प रोजे, स्वेदशमै उच्च शिक्षा अध्ययन गर्ने । उनी एकातिर कलेज पढ्न सुरु गरे । अर्कातिर जीविकोपार्जन र अध्ययनको रकम जोहो गर्न पढाउने काम पनि गरे ।

सुरुमा २०७४ मा गोल्डेल फ्युचर एकेडेमी पढाउन सुरु गरे । त्यहाँ उनले दुई वर्ष पढाए । २०७६ मा ज्ञानकुञ्ज इंग्लिस मेडियम स्कुल र २०७७ मा ब्राइट लाइट एकेडेमी र २०७८ मा याम्स एकेडेमीमा लेखा प्रशिक्षक रुपमा काम गरे । त्यतिबेला मनवीरका भाईलाई विदेश पठाउन परिवारले ऋण निकालेर रकम जम्मा गरेको थियो । साउदी अरेबिया जानको लागि भिसासमेत आइसकेको थियो । मनवीर सुनाउँछन्, ‘त्यतिबेला मेरा भाईको हात भाँचिएपछि भिसा स्थगित गर्नुप¥यो ।’ ऋण निकालेको रकम मासिक ब्याज तिर्नुप¥थ्यो । अब त्यो रकम के गर्ने त ? मनवीरले उक्त रकम व्यवसायमा लगाउने निधो गरे ।
त्यसपछि जन्मियो, ‘एम.पि.एजुकेशनल एण्ड कम्प्युटर इन्स्टिच्युट’ । स्थापना भएको चार वर्षमै उनले व्यवसायलाई व्यवस्थित बनाउँदै लिइरहेका छन् । कोहलपुर–१२ चप्परगौडी रहेको इन्स्टिच्युटमा कप्युटर कलास, अंगेजी भाषा, जापानिज, कोरियन भाषा र ट्युसन कक्षाहरु सञ्चालन हुन्छन् । त्यहाँ अहिले १५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । उनले चार जनालाई रोजगारी दिइरहेका छन् । इन्स्टिच्युट उनी आफैँले सम्हालिरहेका छन् । त्यतिमात्रै होइन विभिन्न विद्यालयमा पार्ट टाइम शिक्षकका रुपमा समेत काम गरिरहेका छन् मनवीरले ।
विदेश जानुभन्दा स्वदेशमा व्यवसाय गर्नुपर्छ । जति कमाए पनि आफ्नै देशमा राम्रो वातावरण रहेको उनी बताउँछन् । युवाहरुलाई सकभर विदेश जानुभन्दा स्वदेशमा स्वरोजगार बन्न उनको सुझाव रहेको छ । व्यवसायबाट सम्पूर्ण खर्च गरेर मासिक ३० हजारभन्दा बढी व्यवसायबाट खुद नाफा हुने गरेको छ । अन्यसमेत गरेर कूल ४० हजार रुपैयाँ मासिक रुपमा आम्दानी हुने गरेको उनको भनाइ छ । लेखा विषयमा स्नात्तकोत्तर सकाएका उनको व्यवसायलाई थप परिमार्जित गर्ने उनले योजना बनाएका छन् ।
…
पाँच जना जेनजीले सुरु गरेको ‘ब्याम्बो क्याफे एण्ड फुड हब’
बाँकेको कोहलपुर–११ स्थित नापी कार्यालयनजिकै सञ्चालित छ ‘ब्याम्बो क्याफे एण्ड फुड हब ।’ १ माघ २०८२ बाट सञ्चालनमा आएको हब ५ जना जेनजी पुस्ताका युवाहरुले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । युवाहरूको आफ्नै पहल र आत्मनिर्भर बन्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको हो । व्यवसाय सुरुवात गर्न करिब ४० लाख रुपैयाँ लगानी गरिएको छ ।यो व्यवसाय ५ जना सञ्चालकहरूको सामूहिक लगानी र सहकार्यमा सञ्चालन गरेका हुन् । व्यवसायको माध्यमबाट प्रत्यक्ष रूपमा ६ जना युवाहरूलाई रोजगारीको अवसर पनि सिर्जना गरिएको छ । सञ्चालकमध्येका एक रमेश वर जसले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग गरिरहेको बताउँछन् । उनका अनुसार हाल व्यवसायबाट दैनिक औसत २५ हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । व्यवसाय अझै प्रारम्भिक चरणमै भए पनि भविष्यमा यसलाई थप विस्तार गर्ने योजना रहेको उनले बताए ।

अहिले युवा पुस्ताले अवसरको खोजीमा विदेश जाने क्रम बढिरहेको छ । युवाहरूले साहस र सिर्जनशीलता देखाएर आफ्नै ठाउँमा सानो–ठूलो व्यवसाय सुरु गरे भने देशमै पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने सन्देश सामूहिक प्रयास गरेर सन्देश खोजेको वरको भनाइ छ । उनले भने, ‘आज धेरै युवाहरू विदेश जान बाध्य भएका छन् । केहीका लागि त्यो रहर पनि हुन सक्छ । तर धेरैका लागि रोजगारीको अभावका कारण बाध्यता बनेको छ । यदि देशभित्रै उद्यमशीलताको वातावरण बनाइयो भने धेरै युवाहरू आफ्नै ठाउँमा बसेर पनि सफल हुन सक्छन् भन्ने विश्वास हाम्रो छ ।’ आम्दानीबाट बचेको केही रकम सामाजिक कार्यमा समेत लगानी गर्ने उनले सुनाए ।
…
अमिन पढेका नरेशले केकसपमा देखे भविष्य
वीरेन्द्रनगर–४, चन्द्रमान चोकको व्यस्त सडक किनारमा बिहानैदेखि मिठास फैलिन थाल्छ । ताजा केकको सुगन्ध, तात्तातो डोनट, नरम क्रिमरोल र स्वादिलो बर्गरको आकर्षणले जो–कोहीलाई रोक्न बाध्य बनाउँछ । यही भीडबीच भेटिन्छन्, मेहनती, लगनशील र समझदार युवा, २० वर्षीय नरेश तिमिल्सेना ।कालीकोटको शुभकालिका गाउँपालिका–२ स्थायी घर भएका नरेशले जीवनको बाटो सामान्य ढर्रामा होइन, आफ्नै सोच र साहसले रोजेका छन् । एसइई उत्तीर्ण गरेपछि उनले ‘अमिन’ कोर्ष अध्ययन गरे । धेरैलेजस्तै सरकारी जागिर वा विदेशको सपना बुन्ने अवसर उनीसँग पनि थियो । तर नरेशले फरक बाटो रोजे । स्वदेशमै केही गर्ने र आफ्नै पहिचान बनाउने ।

घरपरिवारको साथ र विश्वासलाई पूँजीको रुपमा आधार मानेर नरेशले करिब ७ लाख रुपैयाँ लगानीमा ‘कर्णाली केकसप’ सञ्चालनमा ल्याए । सुरुमा चुनौती पनि कम थिएन । किनकी उनीसँग अनुभवको कमी थियो भने बजारको प्रतिस्पर्धा, ग्राहकको विश्वास जित्ने दबाब पनि उत्तिकै थियो । तर उनको लगन र निरन्तर मेहनतले यी सबै कठिनाइहरू बिस्तारै पन्छाइदियो । आज नरेशको केकसपमा केक, पेस्ट्री, बर्गर, डोनट, क्रिमरोल लगायतका परिकारहरू ग्राहकको रोजाइमा परेका छन् । दैनिक करिब ४–५ हजार रुपैयाँसम्मको कारोबार हुन थालेपछि उनको आत्मविश्वास झन् बलियो बनेको छ ।
‘विदेश जाने सोच छैन । यही व्यवसायलाई अझै विस्तार गर्ने योजना छ,’ दृढतापूर्वक नरेशले भने, ‘परिवार, आफन्त र साथीभाइबाट आउने सकारात्मक सुझाव र हौसलाले पनि मलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहेको छ ।’ व्यवसाय मात्र होइन, व्यक्तिगत जीवनमा पनि उनले नयाँ अध्याय सुरु गरिसकेका छन् । यसै वर्ष विवाह गरेका नरेश अब जिम्मेवारी थपिएको महसुस गर्छन् । सात सदस्यीय परिवारको साथले उनको यात्रालाई अझ मजबुत बनाएको छ । आगामी दिनमा आम्दानी अझ राम्रो भए अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्ने उनको योजना छ । सानो लगानी र ठूलो सपना बोकेर सुरु गरेको यो व्यवसाय अब विस्तारतर्फ उन्मुख छ । नरेशको कथा केवल एक केकसप सञ्चालन गर्ने युवाको कथा होइन, यो स्वदेशमै सम्भावना खोज्ने, परिश्रम र आत्मविश्वासले भविष्य निर्माण गर्ने नयाँ पुस्ताको प्रतिविम्ब हो ।
…
पाँच हजारमा व्यवसाय थालेका प्रतीक्षा र जानकी
आमा सबथोक हुन् । पहिलो प्रेम । पहिलो शिक्षक । अनि प्रेरणा पनि । यी तीनवटै कुराको अर्थ ठ्याक्कै मेल खान्छ, कोहलपुर–११ का प्रतीक्षा घर्तीमगर (१९) र जानकी गुरुङ (१८)को जीवनमा । उनीहरुको पहिलो परिचय, दुवैजना विद्यार्थी हुन् । दुवैजना बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत छन् । प्रतीक्षा बीबीएस पढ्छिन् भने जानकी बिएस्सी । उनीहरु दुवै जना अनलाइन विजनेश गर्छन् । यो उनीहरुको दोस्रो परिचय हो । उनीहरुले व्यवसाय मात्र पाँच हजार रुपैयाँ लगानीमा सुरु गरेका हुन् । त्यसमा पनि प्रतीक्षा र जानकीको आधाआधा लगानी छ ।

आफूहरुले कलेजको खाजा खर्च बचाएर अनलाइन विजनेश सुरु गरेका हुन् । गत पुस महिनाबाट सुरु गरेको उनीहरुको व्यवसाय सन्तोषजनक रुपमा चलिरहेको छ । दुवै जना मिलेर कसरी सुरु गरे त अनलाइन विजनेश ? प्रतीक्षा भन्छिन्, ‘घरमा आमाहरुले बुन्नुहुन्छ । उहाँहरुले बुनेको देखेर सिको गर्दै सुरु गरेका हो ।’ उनीहरुले त्यसको लागि कुनै तालिम लिएका छैनन् । त्यससम्बन्धी कुनै ज्ञान पनि छैन । दुवै जना साथीले युट्युव हेरेर विभिन्न सामग्री बुन्न सिकेको जानकीको भनाइ छ ।
उनीहरुले जन्मदिन, विवाह उत्सव तथा पार्टीमा जाँदा आवश्यक पर्ने कोशेली बुन्ने गरेका छन् । बुके, फलावर पट, चोटोकेट स्टल, कलर गिफ्ट र अग्री वर्ड लगायतका कोशेली बन्ने र बनाउने गर्छन् । ती सबै सामग्री अनलाइनमार्फत अर्डर आउने गरेको र त्यसपछि डेलीभरी गर्ने गरिएको प्रतीक्षाको भनाइ छ ।
आफ्ना उत्पादन बजारीकरणका लागि टिकटक अकाउन्ट खोलेका छन् । ‘पिंकहुड’ नामक पेजमा उनीहरु आफ्ना उत्पादनहरु अपलोड गर्छन् । ‘पहिला हामी कोशेलीहरु बनाउँछौँ । त्यसपछि टिकटकमा अपलोड गर्छौँ । विभिन्न स्थानबाट अर्डर आउँछ । अनी डेलीभरी गछौँ,’ उनले सुनाइन् । पछिल्लो समय फोनमार्फत पनि अर्डर आउने गरेको प्रतीक्षाको भनाइ छ ।विभिन्न कार्यक्रम तथा महोत्सव लागेको लागेको समयमा दुवै जना मिलेर आफ्ना कोशेलीहरु बिक्री गर्न लिने गरेका छन् । आफूहरुले सुरु गरेको पुस महिनामा १० हजार रुपैयाँ कमाइ भएको उनले बताइन् । त्यसपछि कोहलपुर महोत्सव र मगर दिवसको बेलामा पनि राम्रो कमाइ भएको थियो ।
भ्यालेनटाइन डे को बेलामा पनि १० हजार रुपैयाँ खुद फाइदा भएको उनको भनाइ छ । त्यसो त दैनिक रुपमा ५ देखि १० जनाले अर्डर गर्ने गरेका छन् । आफूहरु बिहान कलेज जाने र दिउँसोको समयमा व्यवसायमा समय दिने गरेको उनीहरुले बताए । अनलाइन विजनेशका कारण आफूलाई अतिरिक्त खर्च र कापी कलम किन्न र कलेजमा जाँदा खाजा गर्नको लागि सहज भएको जानकी बताउँछिन् । अब उनीहरुको योजना छ, ‘एक वर्ष यसैलाई निरन्तरता दिने । त्यसपछि व्यवसायका लागि केही लगानी गरेर विस्तार गर्दै जाने ।’
…
अभिभावकको विरासत धानिरहेकी ऐश्वर्या
कैलालीको धनगढीमा जन्मिएकी ऐश्वर्या विष्ट एक सामान्य परिवारमा जन्मिइन् । सानैदेखि उनले संघर्ष गरिन् । संघर्षले उनलाई मेहेनत गर्न सिकायो । उनका उमेरका साथीहरुले लाखौँ खर्च गरेर विदेशको यात्रा तय गरे । तर, उनले स्वदेशको माटोमै सम्भावना खोज्न थालिन् । स्वदेशमै केही गरौँ भन्ने सोचको उपज हो, ‘द रेजिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट’ २०५७ सालमा जन्मिएकी उनले आफूलाई व्यवसायमा स्थापित मात्रै गरेकी छैनन् अरुका लागि प्रेरणाको स्रोतसमेत बनेकी छन् ।
एसएलसी र प्लस–टु सकेपछि ऐश्वर्याको जीवन एउटा सामान्य नेपाली विद्यार्थीकोजस्तै दोधारमा उभिएको थियो । वरिपरिका धेरै साथीहरू विदेश जाने तयारीमा थिए । परिवार, समाज र साथीभाइबाट पनि त्यही सुझाव आउँथ्यो– ‘अब विदेश जाऊ, भविष्य बनाऊ ।’ तर ऐश्वर्याको सोच फरक थियो । उनी छोटो तर स्पष्ट जवाफ दिन्थिन्– ‘म यहीँ बस्छु, अझै पढ्छु, केही नयाँ गर्छु ।’

त्यो निर्णय सजिलो थिएन । किनकि त्यतिबेला घरमै पनि आर्थिक अनिश्चितता बढ्दै गएको थियो । उनका बुवा डम्बर विष्टले झन्डै तीन दशकदेखि सञ्चालन गर्दै आएको ज्ञान निकेतन बोर्डिङ स्कुल कोभिड–१९ महामारीपछि संकटमा प¥यो । विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको थियो, तर महामारीले विद्यार्थी संख्या घटायो र सञ्चालन असम्भवजस्तै बनायो । शुल्क बढाएर अभिभावकलाई थप बोझ दिनु उनीहरूलाई स्वीकार्य थिएन । अन्ततः २०७८ सालमा विद्यालय बन्द गर्ने निर्णय भयो ।
२०५४ सालदेखि सञ्चालनमा रहेको विद्यालय केवल व्यवसाय मात्र थिएन, त्यो उनीहरूको पहिचान र सपना पनि थियो । तर यही अन्त्यले अर्को सुरुवातको ढोका खोल्यो । विद्यालय बन्द भएपछि ऐश्वर्याको मनमा लामो समयदेखि पलाएको एउटा विचार स्पष्ट हुँदै गयो– रिसोर्ट सञ्चालन गर्ने । वास्तवमा, उनका बुवाले पहिले नै भविष्यमा रिसोर्ट वा अस्पताल खोल्ने योजना बनाएका थिए । विद्यालयका संरचनाहरू पनि त्यही सोचअनुसार निर्माण गरिएका थिए– खुला ठाउँ, हरियाली वातावरण र शान्त परिवेश ।
ऐश्वर्याले त्यही आधारलाई नयाँ दृष्टिकोणले हेरेर व्यवसाय सुरु गर्ने निर्णय गरिन् । उनले विद्यालयको पूर्वाधारलाई पुनःपरिमार्जन गर्दै ‘द रेजिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट’को रूपमा विकास गरिन् । झन्डै एक बिघा क्षेत्रफलमा फैलिएको यस स्थानमा उनले थप करिब ३ करोड रुपैयाँ लगानी गरिन् । अहिले उनीसँग ९ जना स्थायी कर्मचारी छन् । आवश्यकताअनुसार होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पनि कामको अवसर दिइन्छ । –शुभाकर विश्वकर्मा,कोहलपुर (बाँके)









प्रतिक्रिया दिनुहोस्