जन ज्ञान ज्योतिमा ‘प्रविधियुक्त कक्षा कोठा’ का अवधारणा



कोहलपुर,  जन ज्ञान ज्योति माध्यमिक विद्यालयले प्रविधियुक्त कक्षा कोठाको अवधारणा अघि सारेको छ । शिक्षण प्रक्रियालाई समय सुहाउँदो प्रविधिमैत्री बनाउने उद्देश्यले प्रविधियुक्त कक्षा कोठाको अवधारणा अघि सारिएको हो ।
उक्त अवधारणाअनुसार प्रविधियुक्त कक्षा कोठा निर्माणको कार्य सुरु भएको विद्यालयले जनाएको छ ।

विद्यालयकी प्रधानाध्यापक सुमीत्रा न्यौपानेले २१औँ शताब्दीमा समय सुहाउँदो पठनपाठनका लागि बाँके जिल्लामै नयाँ अवधारणा अघि सारिएको बताइन् । यसले विद्यार्थीमा प्रविधिको ज्ञान हुनुका साथै प्रविधिसँग अभ्यस्त हुने र प्रयोगात्मक शिक्षा प्रदान हुने उनको भनाइ छ ।

प्रविधियुक्त कक्षा कोठा निर्माणका क्रममा कक्षा १०, ११ र १२ मा स्मार्ट बोर्ड जडान भइसकेको प्रधानाध्यापक न्यौपानेले बताइन् । ती कक्षाहरुमा डिजिटल पठनपाठन र शिक्षणका लागि शिक्षक र विद्यार्थीहरुलाई तालिम प्रदान गर्न सुरु गरिएको उनको भनाइ छ । उक्त सिकाइमा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु पनि सहभागी छन् ।


उक्त कार्यक्रमकै लागि विद्यालयले यस वर्ष तीनवटा स्मार्ट बोर्ड खरिद गरेको छ । गत वर्ष खरिद गरिएको एकवटा गरी चारवटा स्मार्ट बोर्ड जडान भइसकेका उनको भनाइ छ । यस्तै पठनपाठनका लागि आवश्यक पाँचवटा प्रोजेक्टर खरिद गरेर जडान गर्ने तयारी भइरहेको प्रधानाध्यापक न्यौपानेले मिसन टुडे दैनिकसँग बताइन् ।

‘जन ज्ञान ज्योति माविलाई डिजिटल विद्यालय बनाउने हाम्रो उद्देश्य छ । सोहीअनुसार प्रक्रिया अघि बढिरहेको छ,’ उनले भनिन्, ‘बिस्तारै हाम्रो योजना पूरा हुँदैछ । सबैबाट सहयोगको अपेक्षा गरेका छौं ।’ न्यौपानेले एक वर्षअघि उक्त विद्यालयको नेतृत्व सम्हालेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार