जीवन बुटी



कथा

भेरी नदी उसै गरी सुस्साईरहेको छ । हतार गरिरहेको छ, समुन्द्रलाई भेट्न । ठूली भाउजूलाई पटक्कै निद्रा लागेको छैन । कति बज्यो थाहा छैन । छानोको उत्तर पट्टि किनारामा माटोले छोपेको प्लाष्टिको सानो टुक्रा बाहिर निस्किएको छ । हावा चलेको खबर दिन्छ फ्यार्र फ्यार्र गर्दै । कति बेला कति बेला हुईयाँ हावा चल्छ । प्लाष्टिकको टुक्रा जोडले फर्फराउँछ ।
पुरानो कलेटी परेको सिरक केही गरी तात्दैन । पातलो बिच्छौन, झिला लाम्टा परेको छ । छोरो त्यसैमा हुर्कियो, नाती पनि त्यसैमा हुर्कियो । अझै पनि छिया छिया परेको अस्तित्व बोकेर पुरानो खाटमा चप्पिईरहेको छ । अझै कहिलेसम्म चप्की रहने हो थाहा छैन । उनी भित्तातिर कोल्टे फर्किन् । झल्यास्स नातिलाई सम्झिन्, सधैभरि नाति सुत्थ्यो कुनातिर । आफु भन्दा पहिले नै मीठो निद्रामा स्वाँ स्वाँ गथ्र्याे नाति । अँध्यारोमा टुकी बालेर घण्टौं नातिको अनुहार हेरिरहन्थिन् । नाति अहिले आफूसँग छैन । माथि हिमालको पाटनतिर जीवनबुटी टिप्न गएको छ ।
नातिको हँसिलो अनुहार आँखा वरिपरि नाच्न थाल्यो । जुँगाका रेखी बसेका छैनन् अझै । बल्ल तेह्र पुगेर चौधमा लाग्यो । ऊ पाटनतिर गएको उनले औंला गन्न थालिन्, “पाँच, दश, बाह्र । हो बाह्र दिन भयो । माथि पाटनतिर कीरा टिप्न गएको छ । केटाकेटीका आँखा तेजिला हुन्छन् । सजिलै भेटाउँछन् । पोहोर साल त भुसुक्कै ल्याएको थियो । तिनै कीरा बेचेर अहिलेसम्म गुजारा चलेको छ । पोहोर साल त नाति अलिक सानो थियो अहिले त एकवर्ष ठूलो भएको छ । अहिले त पोहोर भन्दा धेरै नै ल्याउँछ ।” सम्झेर मुसुक्क हाँसिन् । अझै निद्रा लागेन । बाटोमा कितबेला कतिबेला मान्छे हिडेको आवाज सुनिन्छ । अनि नातिलाई सम्झिछिन् । “कतै नाति ढोका ढक्ढकाउन आइपुग्छ कि ?” उनका कान टाँठा हुछन् । अनि केही बेरमै सुस्ताउँछन् ।
अझै निद्रा लागेन, उनी बिस्तराबाट उठेर बिस्तारै ढोका खेलिन् । बाहिरको चिसो हावा उनलाई छिचोल्दै घरभित्र प्रवेश ग¥यो । भेरी नदीको एकोहोरो सुस्साहट अहिले पनि उस्तै छ । सायद युगौंदेखि उस्तै थियो । उनी सानी हुँदा पनि उहि गतिमा सुस्साउँदै बगिरहेको थियो । अहिले पनि उस्तै छ ।
एक टुक्रा आँगन, छोरो खेल्थ्यो, नाति पनि खेल्दै छ । आफ्ना पतिसँग आफू पनि त्यही आँगनमा खेलेको भर्खरै जस्तो लाग्छ । कति रातहरु बिते, कति दिनहरु बिते, कति हिउँदहरु बिते । कति वर्षहरु बिते । तर आँगन उस्तै छ । आफ्नो घर पनि उस्तै छ । आफ्नो अवस्था पनि उस्तै छ तर आफू डाँडामाथिको घाम भएको पत्तै भएन ।
उनले आकाशतिर हेरिन्, पूर्वको ठूलो पहाड ,टाउको छुमाएर दक्षिणतिर फर्किन् । ठूलो अजङ्ग पहाडको शिरमा हिउँ टल्किरहेको छन् । हिउँभन्दा मास्तिर आकाशमा जुन टल्किरहेका छन् । बादलको एउटा डल्लोले जुनलाई पच्छाईरहेछ । जुनले बादललाई छाडेर गए पछि त्यही बादलको डल्लो पहाडको शिरमा बसिरहन्छ । हिउँद लागेपछि त चारैतिर सेताम्मै हुन्छ । घरको आँगनमा सिसाको बिच्छौना जस्तो हुन्छ, घरको छानोमा पनि माटोलाई छपक्कै छोप्न आइँपुग्छ ।
माथि माथि हिमालमा टल्किरहेको हिउँलाई हेर्दै आफ्नो नातिलाई सम्झिन थालिन् । माथि पाटनमा कति जाडो हुन्छ, उनलाई अझै पनि थाह छ । “ढुङ्गाको कापमा हिउँ पन्छाएर सुत्नुपर्छ । खाना पकाएर खान कति लडाइँ गर्नुपर्छ । उनलाई सबै कुरा थाह छ । आफ्नो त्यो सानो नातिले कसरी सकेको होला ? उनको मन खिन्न भएर आउँछ । छोरो यहाँ भएको भए पनि दुईजना सँघै जान्थे होला ।” उनले आफ्नो छोरालाई सम्झिन थालिन् ।
छोरो कालापाहाडतिर लागेको चारवर्ष बितिसक्यो, अझै पनि अत्तो पत्तो छैन । गाउँका मान्छेहरुले अनेकांै हुने नहुने खबरहरु ल्याउँछन् । कसैले गाडीले किचेर म¥यो भन्छन् । कसैले उतै घरजम गरेर बस्यो भन्छन् । कसैले अस्पतालमा पेट चिरेर मृगौला निकालेर मारेर फालिदिए भन्छन् । उनलाई कसैले भनेको कुरामा पनि विश्वास लागेकोछ छैन । एकदिन छोरो फर्केर आउँछ भन्ने कुरामा उनी अझै बिश्वस्त छिन् । दिनभरि बाटोमा हिड्ने मान्छेहरुको अनुहारमा आफ्नो छोरो खोजिरहन्छिन् । यसो गर्दा गर्दै चारवर्ष बितिसक्यो अब त आँखाले पनि त्यति भेउ पाउँदैनन् । उनले छोरो आउने आशा अझै मारेकी छैनिन् । नातिको अनुहार हेर्दै बुढेस कालको शाहारा नातिलाई नै सम्झेर बाँचिरहेकी छिन् ।
माथि हिमालमा हेर्दा हेर्दै जुन हिमालको पछिल्लो पाखातिर लुक्न थालिसके । अँध्यारोमा देखिने गाउँको आकृति पनि कालो डरलाग्दो छायाँमा परिणत हुन थाल्यो । अब सारा गाउँलाई अजङ्ग पहाडको कालो छायाले छपक्कै छोप्न थाल्यो । उनलाई अँध्यारो पटक्कै मन पर्दैन तैपनि जीवनभरी अँध्यारोभित्रै बाँच्नु परेको छ । लामो सुस्केरा हाल्दै उनी घरभित्र प्रवेश गर्न थालिन् । घरको ढोकामा कताकता आफ्नी बुहारी उभिएको जस्तो भान भयो । उनले आफ्नी बुहारीलाई झल्यास्स सम्झिन् । मन खिन्न पार्दै मन्मन्ले “धर्मछाडा !” भम्दै घरभित्र प्रवेश गरिन् । यस्तीलाई के को खान बस्न होला ?” बुहारीले घर छाडेको पनि दुईवर्ष भैसक्यो । खै के भएर घर छाडेकी हो, कसैलाई थाह छैन । गाउँका आइमाईहरुले कहिले काँही कुरा गरेको सुन्थिन् । “उमेरमै पोइ मरेपछि कसले छोरो कुरेर बस्दो हो ? गोई पल्ला गाउँको मगरकोटोसँग पोइला ।” बुहारी पोइला गएको कुरामा भने उनलाई कुनै पनि शङ्का थिएन । आफ्नी बुहारी पोइला जाँदा उनलाई त्यति धेरै पीडा भएको थिएन । तर छोरो घर नफर्केकोमा उनलाई ठूलो पीडा भईरहेको छ । बुहारीले घर छाडेर गए पनि उनले नातिलाई आफ्नो बुढेसकालको एकमात्र शाहारा सम्झेर बाँचिरहेकी छिन् ।
अँध्यारोमा छामछुम गरेर टुकी फेला पारिन्, हल्लाईन्, तेल सक्किईसकेको छैन । चुलोमा आगो अझै निभिसकेको छैन ।
अगुल्टो समातेर टुकीको मुन्टो अगुल्टोमा झोँसेर फुक्न थालिन् । अघिल्ला दाँत छैनन्, दुबै ओठ जोडेर धेरै बेर फुकिरहिन्, बल्ल बल्यो । सानो कोठा उज्यालो भयो । भित्तामा झुण्डाईएको फोटोमा आँखा गएर ठोक्किए । ध्वाँसो लागेर सबै कालै कालो भैसकेको थियो । फोटो झिकेर लुङ्गीको टुप्पोले पुच्न थालिन् । ध्वाँसोले चिन्नै नसकिने भएको फोटोको मधुरो आकृति देखिन थाल्यो । उनलाई अझै मधुरो सम्झना छ । धेरै वर्ष पहिले गाउँमा नागरिकता टोली आउँदा श्रीमान्सँग बसेर खिचेको फोटो हो त्यो । त्यतिबेलै बजारबाट फ्रेम किनेर ल्याई फ्रेममा हालेर राखेकी थिइन् । अहिले आफूसँग श्रीमान् नभए पनि श्रीमान्को सम्झना बाँकी नै छ । फोटो हेर्दा हेर्दै शरीरभरि जिरिङ्गा काँडा उठ्न थाल्यो । शरीर लगलगी काँप्न थाल्यो । उनले झल्यास्स नातिलाई सम्झिन् । “आफ्नो बुढालाई खाएको हिउँपहिरोले कतै नातिलाई पनि खान्छ कि ?” उनले भगवानलाई सम्झिदै भनिन्, “ह ! भगवान मेरो नतिलाई केही नहोस् ।” उनको नातिको अनुहार उनको आँखा अगाडि घुमिरह्यो ।
बिस्तरा तात्दैन । घरमा एक्लै मन लाग्दैन । मनको तापले निर्दा आउँदैन  । हावाको एक झोक्का उनको ढोकामा आएर ठोक्कियो । बुढो निद्रा, तत्काल दुई परेलीका ढोका खुले । उनले ढोकातिर आँखा तेर्साईन् “कोही आयो कि ? छोरा या नाति ?” छानाको प्लाष्टिक जोडजोडले फर्फराईरहेको थियो । मनमनै भनिन् “आज कति नराम्रो हावा चलेको होला ?” केही बेरमै बाटोको अलि परबाट मान्छे गुनगुनाउँदै हिडिरहेको आवाज नजिकिदै आईरहेको थियो । उनको मनले सोच्यो, “यति राति बाटोमा जुत्ताको आवाज ? हैन, हैन, बुटको आवाज ।” ढुङ्गाका गेग्रटा पनि बुटको आवाजसँगै बजिरहेका थिए । यस्तो बुटको आवाज उनले यस पहिला पनि पटक पटक सुनेकी थिईन् र देखेनी थिइन् । उनले मनमनै भनिन् “माथितिर के भएछ ? सेना प्रहरी जाँदैछन् ।” उनी बिस्तारै बिस्तराबाट उठेर ढोका खोलिन् । घरबाहिर आँगनमा उभिएर बाटोतिर हेरिन् । उनको अड्कल साँचो रहेछ । सेनाको लस्कर उकालो लागिरहेको देखिन् । उनलाई कताकता डर लाग्न थाल्यो । “त्यसै त यिनीहरु माथितिर जाँदैनन् । पक्कै पनि केही भएको हुनुपर्छ । खै कुन पाटनतिर हो ?” आफ्नो नाति कुन पाटनतिर गएको छ, उनलाई थाह थिएन । भेरी नदी अहिले चिच्चाउँदै बगिरहेको सुन्न थालिन् । त्यही आवाजभित्र आफ्नो नातिले आफूलाई चिच्चाउँदै बोलाईरहेको सुन्न थालिन् । घरमाथि छानामा अझै पनि प्लाष्टिक फ्यार्रफ्यार्र गरिरहेको छ । गाउँमा टाढाटाढाबाट भाले बासेको आवाज सुनिन थाल्यो “उज्यालो हुन थालेछ,” मन्मनै भनिन् बिहानीको झिसमिसे मै मानिसहरुको लस्कर तलतिर झर्न थाल्यो । उनी घरछेउ बाटोमा उभिएर आफ्नो नातिलाई हेर्न थालिन् । त्यो लस्करमा आफ्नो नाति कतै देखा पर्छ कि भनेर आँखा गाडेर हेर्न थालिन् । मनमनै भनिन् “कोही चिनेको छैन, कहाँ कहाँबाट आउँछन् कीरा टिप्न, यो कीराको लोभले कतिको ज्यान लियो, आझै कतिको लिनी हो ?” उनले लामो सुस्केरा हालिन् । ठूलो पहाडमाथि उक्लिएर घाम देखा परे । मान्छेहरु अझै छिटोछिटो तलतिर झर्दै थिए आपसमा कुरा गर्दै, मानौं कुनै लडाइँबाट भागेर आएका सिपाहीहरु झैं, अनुहारभरी डरको भारी बोकेर भागिरहेका छन् ।
बाटोभरि बिच्छाईएका उनका आँखा थाक्न थाले उनका अाँसु सुक्न थाले । मानिसहरुको हुलमा उनको नाति देखिएन । घाम फेरि पहाडको डाँडातिर लम्किरहेका थिए । उनको अधैर्यको कुनै सीमा थिएन । उनले तलतिर झर्नै एउटा जन्थालाई सोधिन्, “पाटनतिर के भयो र सबै तलतिर झेरका छन् ?” जन्थाको बीचबाट उत्तर अयो, “पाटनमा गोली चल्यो, मान्छेको भागाभाग भयो कति त भाग्दा भाग्दै हिउँ पहिरोमा पुरिए । सेना पनि त्यतै गएको छ । हामी त बल्लबल्ल ज्याँन जोगाएर भाग्यांै ।” उनको सास फुल्न थाल्यो । “मेरो नाति,” भन्दै उनको आँखाबाट आँसु झर्न थाल्यो ।
सँधै झैं धाम हिमालको टाकुरोबाट ओझेन पर्न थाले । पुन अजङ्ग पहाडको कालो छायाँ भित्र गाउँ लुक्न थाल्यो । उनले भोकतिर्खा सबै बिर्सिसकेकी थिइन् । कालो पर्दा ओढेको बाटोतिरै आँखा सोझाउदै नातिको प्रतीक्षा गरिरहेकी थिइन् । आकाशको जुनलाई पनि बाढलको बाक्लो डल्लोले छोपिरहेको थियो । पटक पटक घरबाहिर निस्कदै बाटोतिर हेर्दै उनको रात बित्यो । घाम सँधै झै अजङ्ग पहाड चढेर उनको आँगनमा आईपुगे । तर उनको नातिको कुनै अत्तोपत्तो थिएन ।
दिउँसोतिर एकहुल सिपाही र गाउँकाको चिनेका मान्छे उनको आँगनमा आईपुगे । उनी भित्रबाट बाहिर निस्किन् । ती चिनेका मान्छेहरुसँगै सैनिकहरु पनि थिए । तिनीहरुलाई देखेर उनी एक्कासी अचम्म परिन् । केही बेरमै उनको घरलाई अँध्यारोले छपक्कै छोप्न थाल्यो । दईजना सिपाहीले डल्लो पारेको बोरा उनको सानो आँगनमा पल्टाए । उनले त्यो भिडमा आँखा डुलाएर आफ्नो नातिलाई खोजिन् । तर पाइनन् । सबै मौन थिए । ती गाउँले छिमेकीले आँखा रसिला पार्दै भन्न थाले, “ठूली भाउजू ! तपाईंको नाति हिउँ पहिरोमा परेर बित्यो ।”

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार