सर्वोच्चमा पुग्दा पनि टुंगिएन पालिकाको प्रशासनिक केन्द्र सार्ने विवाद



नन्दराम जैशी । सुर्खेत ।

सुर्खेतको चिंगाड गाउँपालिकामा प्रशासनिक केन्द्र सार्ने विषयलाई लिएर विवाद चर्किएको छ । हाल गाउँपालिकाको कार्यालय वडा नम्बर– ५ को अवलचिङमा सञ्चालन हुँदै आएको छ । अघिल्लो कार्यकालमा गाउँपालिकाको बहुमतले प्रशासनिक केन्द्र पुङखेत सार्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा सर्वोच्च अदालतले २०७८ भदौ १३ गते अन्तिम फैसला नआउञ्जेलसम्मका लागि हाल सञ्चालनमा रहेको अस्थायी मुकाम अवलचिङबाटै सेवा प्रवाह गर्न अन्तरिम आदेश दिएको थियो । तर अदालतको अन्तिम फैसला आउनुअघि नै चैत २६ गते बसेको कार्यपालिका बैठकले पुनः बहुमतका आधारमा प्रशासनिक केन्द्र वडा नम्बर २ को राजीकुनास्थित सामुदायिक भवनमा सार्ने निर्णय गरेको छ ।

उक्त निर्णयपछि गाउँपालिकाले कार्यालय सार्ने तयारी अघि बढाए पनि स्थानीयवासीले अवरोध गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत कार्यालय सार्न खोजिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । उनीहरूले अदालतको आदेशको पालना गर्नुपर्ने माग गर्दै कार्यालय स्थानान्तरण रोक्न दबाब दिएका छन् ।

यसैबीच गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रोकायले कार्यालय जहाँ भए पनि आफूहरूलाई फरक नपर्ने बताइन् । जनताको सेवा नै मुख्य प्राथमिकता भएको उनको प्रतिक्रिया छ । विवाद समाधानका लागि सम्बन्धित पक्षबीच छलफल आवश्यक रहेको उनको भनाइ छ । ‘प्रशासनिक केन्द्रको स्थानसम्बन्धी विवादले स्थानीय तहको सेवा प्रवाहमा असर परेको छैन ।

तर केन्द्र टुंगोबारे सर्वोच्चले पनि छिटो निर्णय दिनुपर्ने हो,’ उनले भनिन्, ‘गाउँपालिकाको प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने विवाद गर्नुभन्दा सेवा प्रवाह प्रभावकारी र पारदर्शि कसरी बनाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौँ । तर केन्द्रको अनिर्णयले पनि काममा केही असर गरेको छ ।’
केन्द्रको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा कार्यपालिकाको बहुमतले कार्यालय सार्ने निर्णय गरेपछि स्थानीयस्तरमा तनाव उत्पन्न भएको हो ।

गाउँपालिकाको अघिल्लो कार्यकालमा बहुमतका आधारमा केन्द्र पुङखेत सार्ने निर्णय भएको थियो । उक्त निर्णयविरुद्ध तत्कालीन उपाध्यक्ष मनमाया आचार्यसहितका पदाधिकारी सर्वोच्च अदालत पुगेका थिए । अदालतको अन्तिम फैसला आउनुअगावै चैत २६ गते बसेको कार्यपालिका बैठकले पुनः बहुमतका आधारमा प्रशासनिक केन्द्र वडा नं. २ को राजीकुनास्थित सामुदायिक भवनमा सार्ने निर्णय ग¥यो ।

सेवा प्रवाहमा समस्या भएको तर्क गर्दै गरिएको यो निर्णयमा जनप्रतिनिधिहरूले नै असहमति जनाएका थिए । कार्यपालिकाको निर्णयपछि अवलचिङमा रहेको अस्थायी कार्यालयका कागजात र सामान लिन पुगेका दुई वटा ट्याक्टरलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । अदालतको अवहेलना गर्दै जबर्जस्ती कार्यालय सार्न खोजेको भन्दै स्थानीयहरू हातमा लाठी बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बहुमतको धम्की दिँदै अदालतको आदेशविपरीत केन्द्र सार्न खोजेको वडाध्यक्ष लालबहादुर जिसीले बताए । उनका अनुसार केन्द्र विवादकै कारण विगत एक सातादेखि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ, जसको प्रत्यक्ष मारमा सर्वसाधारण सेवाग्राही परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार