‘निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकिएन’



वीरेन्द्रनगर ।

उज्यालो नेपालका पार्टी अध्यक्ष कुलमान घिसिङले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताएका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष घिसिङले पार्टीको वर्तमान अवस्था, आगामी योजना र समसामयिक विषयमा पनि धारणा राखेका थिए । निर्वाचनमा प्रत्यक्षतर्फ ‘चिम’ र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्ह रहँदा मतदातामा भ्रम सिर्जना भएको उनको दाबी छ । साथै पार्टी स्थापना भएको छोटो समयमै निर्वाचनमा होमिनुपर्दा समय व्यवस्थापन तथा चुनावकेन्द्रित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको उनले बताए ।

उनले केही नेता तथा कार्यकर्ता चुनावकै मुखमा अन्य दलतर्फ गएको उल्लेख गर्दै त्यसले पनि परिणाममा असर पारेको बताए । अध्यक्ष घिसिङले अब डिजिटल मिडियाको प्रयोग गर्दै आधुनिक शैलीमा प्रदेशदेखि वडा तहसम्म संगठन विस्तार गर्ने लक्ष्यसहित कर्णाली प्रदेशमा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्छौँ । यो अवधिमा सरकारको कामकारबाहीप्रति टिप्पणी जारी राख्नेछौँ,’ उनले भने, ‘जनतामुखी काममा समर्थन र गलत कदमविरुद्ध सडकबाटै खबरदारी गर्नेछौँ । वर्तमान सरकारका धेरै सदस्य नयाँ भएकाले परिपक्वता देखाउँदै जनहितमा केन्द्रित हुनुपर्छ ।’

विश्वव्यापी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेका बेला उनले सरकारलाई सञ्चित कोषबाट अनुदान दिएर जनतालाई राहत दिन आग्रह गरे । पेट्रोलियम मूल्यवृद्धिले कर्णाली प्रदेशमा विशेषगरी यातायात क्षेत्रमा प्रत्यक्ष असर पार्दै जनजीवन प्रभावित बनाएको उनको भनाइ थियो ।

कर्णालीप्रति पार्टी विशेष संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणमा रहँदा र मन्त्री हुँदा कर्णालीको विद्युत् विकासलाई प्राथमिकता दिएको स्मरण गरे । ‘जनताको समर्थनका कारण लामो समयसम्म प्राधिकरणमा काम गर्न पाएँ । विगतका सरकारप्रति आभार व्यक्त गर्छु,’ उनले थपे, ‘विगतका कामहरू सफल भएका छन् । हालको निर्वाचन परिणामलाई सिकाइका रूपमा लिएका छौँ । जनताको अपेक्षाअनुसार काम गर्दै आगामी चुनावमा सफलता हासिल गर्नेछौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार