नियात्राः ह्रदयमा बन्दीपुर, आँखामा मधुपर्क



लीलाराज दाहाल

“ श्री मान्यजनज्यू
यहाँको मेसेन्जर वा ह्वाट्एपमा संलग्न कार्ड अनुसारको कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु । “बिहान बिहानै मोबाइलमा निम्तो सन्देश देखेर आश्चर्यचकित भएँ म ! मनमा लाग्यो, कतै यो सन्देश झुक्किएर त मेरो म्यासेञ्जरमा आएन ? निम्तोकर्ता हुनुहुन्थ्यो लोकपृय साहित्यिक पत्रिका “ मधुपर्क “ का सम्पादक त्रिभुवनचन्द्र वाग्ले ! जानुपर्ने तनहुँको प्रसिद्ध पर्यटकीय स्थल बन्दिपुर !भोलिपल्टै रहेछ प्रस्थान मिति अर्थात बिक्रम सम्वत २०८१ साल फागुन १२ गते ! गोरखापत्र संस्थान र पद्म पुस्तकालयको संयुक्त आयोजनामा फागुन १२ देखि १४ सम्म हुने प्रथम सिर्जना सम्मेलन, २०८१ का सन्दर्भमा प्राप्त भएको निम्ताले खुसी नदिने कुरै भएन तर मलाई भने मनमा दोधार हुन थाल्यो ! त्यही समयतिर सर्लाही जाने सोच पनि बनाइरहेको थिएँ ! अपर्झट भ्रमणको निम्तो पाइएको थियोे ! अहिलेसम्म साहित्यिक समूहमा यति लामो यात्रा नगरेको हुँदा मन एकातिर त्यसैत्यसै फुर्किन थाल्यो ! मनले यो मौका कसैगरी नगुमा केटा भनेर भित्रभित्रै दवाव पनि दिइरहेको थियोे ! यो यात्राको सुखद पक्ष भनेको मधुपर्क र बन्दिपुरको मिलन हुनेवाला थियोे ! यस्तो प्रेमिल मिलनको साक्षी बस्न पाउनु पनि रमाइलै कुरा थियो मेरो लागि ! आफू सामान्य रुपमा मात्रै भए पनि रचनामार्फत मधुपर्कसँग जोडिँदै आएको र मधुपर्कबाटै निम्ता पाएकाले खुसी नै भएँ ! त्रिभुवन सरलाई सम्पर्क गरिहेरें ! निम्तो त साँच्चैको रहेछ ! उहाँले भन्नुभयो,“ तपाईंको नाम पनि समावेश छ ! आउनुस् ! “यस्तो जानकारी पाएपछि मनमा खुसीको रफ्तार बढ्न थाल्यो ! जाने समूहमा को को छन् भन्ने मलाई केही जानकारी थिएन ! सोध्ने कुरा पनि भएन ! मनलाई खुल्दुलीको बादलले घप्लक्क छोपेको थियो ! जानेहरुसँग भोलि बिहान त कलङ्कीमा भेट भइहाल्छ नि भन्ने सोचेपछि भने मनको खुल्दुली केही कम हुँदै आयो ! अनि त पहाडकी रानी बन्दिपुरलाई सम्झँदै म निद्रादेवीको काखमा लुटपुटिएँ !

बिहान निर्धारित समयअगाडि नै कलङ्की आइपुगें ! मनमा उत्साहको लहर सल्बलाइरहेको थियो ! बिहानी चिसोले कक्रिएको कलङ्की हामीलाई देखेर सकिनसकी मुस्कुराउन थाल्यो ! पर्खनु भनिएको स्थानमा चन्द्रप्रसाद न्यौपाने र लालबहादुर भुजेललाई देखेपछि ढुक्क भयो मन ! पछिबाट मुसुमुसु हाँस्दै किशोर पहाडी र शरद प्रधान आइपुग्नु भयो ! डिल्लीराम मिश्र, निरुपा प्रसून, बैरागी जेठा, मिसन अधिकारी, रमेशचन्द्र अधिकारी, धन्वन्तरि मिश्र कात्यायन, दीपक लोहनी, सुमन थापा सङ्गम, बिन्दु अधिकारी ढकाल, पौडेल विमुन्स, दुर्गा किरण तिवारी, राज रजक, बिक्रमभक्त जोशी, जगत बाशिष्ठ, त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा र वसन्त महर्जन लगायतको उपस्थितिले मेरो मनभित्रको उकुसमुकुसको भेल निकै घटेको थियो ! ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, मुकेश मल्ल, ललिता मल्ल, प्रमोद प्रधान, दिव्य गिरी आदिको उपस्थितिले हाम्रो जमघट गरिमामय बन्न पुग्यो ! प्रस्थान समय ८ः३० भनेको त झण्डै ९ बज्यो ! हामीलाई बोक्ने बस आइपुगेको थिएन ! त्रिभुवनचन्द्र वाग्लेले कुशलतापूर्वक यात्राको संयोजन गरिरहनु भएको थियोे ! केहीबेरमा बस आइपुग्यो ! हाम्रा समूह समूहमा भैरहेका गफगाफ बन्द भए ! हामी बस चढ्ने धुनमा लाग्यौं ! सबैजना सिटमा बिराजमान भएपछि बस सुस्तरी सुस्तरी अगाडि बढ्यो ! अलि अगाडि पुगेर बस फेरि रोकियो ! प्राडा ज्ञानु पाण्डे आइपुग्नु भएको रहेनछ ! उहाँको आगमनपछि मात्रै बस गुड्न थाल्यो थानकोटलाई गन्तव्य बनाएर ! बन्दिपुरलाई गन्तव्य बनाएर ! अतिथि यात्रीहरुको अनुहार उज्यालो देखिएको थियोे ! सबै आफ्नो सिट वरिपरि समूह समूहमा आफ्नो रुचि अनुसारका गफमा मग्न हुन थाले ! किशोर पहाडी, भानुप्रकाश जोशी, त्रिभुवनचन्द्र वाग्ले, मिसन अधिकारी, जगत बाशिष्ठ, बैरागी जेठा, पौडेल विमुन्स, देवका सापकोटा र म नजिक नजिकै थियौं ! हाम्रो गफ साहित्यका विविध आयाममाथि केन्द्रित हुन थाल्योे !

धादिङको धार्केमा बिहानी चियाखाजाको कार्यक्रम सम्पन्न भएपछि बस एकैचोटि कुरिनटारमा पुगेर मात्रै अडियो खानाको लागि ! गफमा ब्यस्त रहेका यात्रुहरूलाई बाटो कटेको थाहै भएन ! कुरिनटारस्थित चन्दना होटलको सुस्वादु भोजनले यात्रुहरुको थकित अनुहारमा फेरि खुसी फर्कियो ! खानापछि हाम्रो गाडी अगाडि बढ्यो ! बन्दिपुर पुग्न ढिला भैसकेको थियो ! आजको कार्यक्रमको तालिका प्रभावित हुने सम्भावना बढिसकेको थियो ! त्यसैले गर्दा अल्मलिने छुट कसैलाई थिएन ! मुङ्लिङमा मुक्तककार मुकुन्द पौडेललाई टिपेपछि बसले फेरि गति लियो !
हामीलाई जति हतार भए पनि प्रकृतिलाई भने हतार हुँदो रहेनछ ! आँबु खैरनी पुग्ने बेलामा सडक नै हाम्रो यात्राको व्यवधान बनेर उभियोे ! सडकको मर्मत, सम्भार चलिरहेकाले केहीबेर हामीले रोकिनु पर्यो ! करीब एक घण्टाको प्रतीक्षापछि सडक सुचारु हुन पुगेको थियो !आँबुखैरेनीभन्दा अलिपर केबलकार स्टेसनमा साहित्यकार बिजयराज न्यौपाने र उहाँकी धर्मपत्नीलाई बसमा चढाएर बस फेरि गन्तव्यतिर लम्कियो ! जाँदा केबलकारमा जाने भनेर आयोजकहरुले भन्नुभएको भए पनि बिमारी भएको केबलकार हामीलाई बोक्न तयार भएन ! त्यसैले बिजय दम्पतीलाई पनि हामी सवार बसमा उकालेपछि बस फेरि दौडिन थाल्यो ! करीब ४ः३० बजेतिर बन्दिपुरको भुमिमा टेक्यौं ! यस शुन्दर भूमिमा टेक्न पाउँदा मनमा खुसीको खात लाग्न थाल्यो ! पहिले एकपटक आएको भएपनि अहिले बिल्कुल नयाँ लागिरहेको थियो बन्दिपुर ! यहाँका धेरै सङ्घ, संस्थाद्वारा हामीलाई स्वागत गर्ने कार्यक्रम तय भएको रहेछ ! पहिले बन्दिपुरको माटोले नै गरेको थियोे हाम्रो न्यानो स्वागत ! यस्तो न्यानो स्वागतले पुलकित भएका हामी एकैचोटि होटल दरबारमा प्रवेश गर्यौं !

चिया खाजा चलिरहेको थियो ! होटलभित्रको खानपिन कक्षामा पुग्दा बरिष्ठ कवि द्वारिका श्रेष्ठ लगायत कथाकारत्रय भागिरथी श्रेष्ठ, पद्मावती सिंह र जलेश्वरी श्रेष्ठसँग साक्षात्कार भयो ! उहाँहरु खाजा खाइसकेर बस्नु भएको रहेछ ! उहाँहरु आफ्नै सवारी साधनमा आउनु भएको थियोे ! उहाँहरु केहीबेर अगाडि मात्रै आइपुग्नु भएको रहेछ ! खाजाको काम सकिएपछि ढिला नगरी हामी होटलको पाँचौ तलाको बैठक हलमा पुग्यौं !
सिर्जना सम्मेलनको पहिलो सत्रमा परिचयात्मक स्वागत कार्यक्रम शुरु भयो ! यसमा बन्दिपुरको परिचय, यसको विगत र सम्भावनाका सन्दर्भमा प्रकाश पारिएको थियो ! बन्दिपुरको इतिहास, भूगोल, संस्कृति, पर्यावरण, भाषा, साहित्य लगायतका बिषयमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बोल्नु भएपछि हामीले बन्दिपुरका बारेमा धेरै कुरा थाहा पायौं ! त्यसअघि नै बन्दिपुर नाम रहनुका किंवदन्ती स्थानीय क्याम्पसका प्राचार्य गोबर्धन भट्टराईले भनिसक्नु भएको थियो ! पद्म पुस्तकालयका अध्यक्ष सुदर्शनलाल प्रधान, अभियन्ता एवम् सरसफाइ विज्ञ नमस्तेलाल भूमि श्रेष्ठ, बन्दिपुर भ्रमण बर्ष २०२५ का संयोजक बैस गुरुङ र कवि द्वारिका श्रेष्ठले कार्यक्रमको उद्धेश्य र यस कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ! यसै सत्रमा सहभागीहरुको परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो ! कार्यतालिका अनुसार सिर्जना सम्मेलनको पहिलो दिनको पहिलो सत्रको कार्यक्रम बेलुकी सात बजेतिर सम्पन्न भयो ! बाहिरबाट आएका सहभागी अतिथिहरुलाई विभिन्न होटलमा राख्ने व्यवस्था गर्नु भएको रहेछ स्थानीय आयोजकहरूले ! होटल मायामा पर्ने हामी १८ जना रहेछौं ! त्यसमध्ये पनि जगत बाशिष्ठ, डाक्टर रमेशचन्द्र अधिकारी, मिसन अधिकारी, म र बैरागी जेठा एउटै कोठामा पर्यौं ! कोठामा पुगेर कपडा फेरेपछि भने केहीबेर आराम गर्न लाग्यौं !

बेलुकीको खानापछि रमेशचन्द्र अधिकारी, प्रमोद प्रधान, लालबहादुर भुजेल र डिल्लीराम मिश्र बन्दीपुर र नेपाली साहित्यको विगत र वर्तमानका बिषयमा गफिन थाल्नुभयो भने म, बैरागी, मिसन र जगत बजारतिर निस्कियौं ! बन्दीपुरको पुरानो मुख्य बजार झलमल बत्ती बालेर हामीलाई स्वागत गर्न तम्सिरहेको थियोे ! आन्तरिक पर्यटक बनेर आएका युवायुवतीहरु पनि रातको उज्यालो बन्दीपुरलाई अँगालो मारेर यताउता घुमिरहेका देखिए ! अलि पर मुल बजारमा धन्वन्तरी मिश्र कात्यायन, दीपक लोहनी र बिक्रमभक्त जोशी भेटिए ! दुईतिरबाट आएका नदीहरु मिलेर नयाँ नदी बनेझैं हामी पनि एउटै समूह बनेर घुम्न थाल्यौं ! रातको बन्दीपुर बजार पनि खुसीले फुर्कँदै हामीलाई साथ दिइरहेको थियोे ! कोठामा आइपुग्दा रातको दश बजिसकेको थियोे ! कोठामा आएपछि फेरि शुरु भैहाल्यो साहित्यिक बहस ! महेन्द्र संस्कृत विश्वविद्यालयका प्रथम विद्यावारिधि रमेशचन्द्र अधिकारी सरको नेपाली साहित्यका मुर्धन्य साहित्यकारहरु देवकोटा, सम र लेखनाथ बिषयक विद्वतापूर्ण मन्तव्यले हामी मोहित भएका थियौं ! लाग्थ्यो, मानौं हाम्रो कोठामा ठूलो काव्यगोष्ठी चलिरहेको छ र हामी असल श्रोता मन्त्रमुग्ध भएर सुनिरहेका छौं ! बिहान उज्यालो भएपछि फेरि शुरु भयो हाम्रो बहस ! केही समयपछि बैरागी, म, मिसन र जगत प्रात ः भ्रमण गर्दै लाग्यौं गुरुङचे डाँडातिर ! उकालो उक्लिँदै जाँदा बाटैमा भेटिए कविद्वय बिन्दु अधिकारी ढकाल र सुमन थापा सङ्गम ! जति जति उकालो उक्लियो, त्यति त्यति रोमाञ्चित भैरहेका थियौं हामी ! बन्दिपुरमा हेर्नैपर्ने ठाउँहरुको बारेमा हामीलाई जानकारी दिन पाउँदा गीतकार सागर उदास निकै खुसी देखिए !

उनले भने,“ यो डाँडाभन्दा अझै पर थानीमाईको मन्दिर छ ! “ शिखरमा पुगेर चारैतिर नियाल्दा खुसीको सिमा थिएन हामीमा ! करीब ११५० मिटरको उचाइमा अवस्थित यहाँको प्राकृतिक शुन्दरतामा लठ्ठिएका थियौ हामी ! आकाश छ्याङ्ङ खुल्दा यस डाँडाबाट धवलागिरि, अन्नपूर्ण हिम शृङ्खला र मस्र्याङ्दी उपत्यका देखिने गरे पनि अहिले भने मधुरो मधुरो मात्रै देखिएको थियो ! हुम्लाबाट आएका कवि डबल महतारा र कैलालीबाट आएका कवि भीमबहादुर पडेरा पनि तलैदेखि हामीसँगै आएका थिए ! उनीहरू पनि रौसी रौसी हिँडिरहेका थिए ! यत्तिकैमा हुम्लाका कवि महतारालाई मैले जिस्क्याएँ,“ तपाईं हुम्लाको मान्छेलाई यति होचो शिखर त के शुन्दर लाग्ला र ! “ हुम्लाको शुन्दरता छुट्टै छ ! यहाँको शुन्दरता बेग्लै हो ! ऊ तल हेर्नुहोस् त ! कति शुन्दर देखिएको, कुहिरोको महासागर ! “ कवि डबल महतारा अब भावनाको भेलमा पौडँदै बन्दिपुरको आलिङ्गनमा बाँधिएर हुम्लालाई बिर्सिंदै थिए ! मैले पनि दक्षिणतिरको होचो भागतिर नजर लगाएँ जहाँ कुहिरोले बनाएको श्वेत तालमा सूर्यको बिहानी किरणले अलौकिक सुन्दरता थपिरहेको थियोे ! कुहिरोको शुन्दरतालाई क्यामेरामा कैद गर्न कवि सुमन र बिन्दुको पनि एकछिन प्रतिस्पर्धा चल्योे ! “ कति शुन्दर रहेछ नि ठाउँ त ! यहाँ नआएको भए धेरै कुरा छुट्ने रहेछ ! “ कवि बिन्दुको ओठबाट झरिरहेका यी भावनामा कवि सुमनको मौन समर्थन रहेको कुरा उनीहरूको अनुहार पढ्दा थाहा हुन्थ्यो ! अलि कम बोल्ने सुमनको ओठबाट खस्न भने शव्दहरु पटक्कै मानिरहेका थिएनन् !

डाँडाको दक्षिणतिर कुहिरोले बनाएको सेतो तालले मेरो ध्यान अघि नै तानिसकेको थियोे ! कविले देखाएतिर मैले फेरि एक दृष्टि फ्याँकें ! म यही चुचुरोबाट एकटकले धवलागिरि र अन्नपूर्ण हिमाल हेर्न चाहन्थें ! म यहीँबाट मस्र्याङ्दी उपत्यका हेर्न चाहन्थें ! म त्यो सेतो काल्पनिक तालमा झ्वाम्म फाल हानेर पौडिन चाहन्थें ! कति शुन्दरता छ त्यहाँ ! जति हेरे पनि मन नअघाउने खालको ! यस्को प्राकृतिक शुन्दरताको बखान गरेर कहिले सक्नु ! प्रकृतिको मनमोहक दृश्य हेर्न बन्दिपुर आउने हो ! नेवारी संस्कृतिले सुसज्जित कलात्मक पुरानो शहर हेर्न यहाँ आउने हो ! वास्तुकलाको नमुना हेर्न यहाँ आउने हो ! ढुङ्गा छापेर बनाएको सवारी साधन निषेधित फराकिलो सडक हेर्न यहाँ आउने हो ! तीन चार तला भुईंमुनि रहेका कलात्मक घरहरु हेर्न यहाँ आउने हो ! कुहिरोले बनाउने सेतो ताल हेर्न पनि यहीं आउने हो ! मन लोभ्याउने धेरै कुरा छन् यहाँ ! हर्षविभोर भएर मनमनै बन्दिपुरलाई धेरैपटक सलाम गरें मैले ! बिहानको आठ बजे भानु माविमा सिर्जना सम्मेलनको दोस्रो अर्थात उद्घाटन सत्र शुरु हुने कारणले हामी हतारहतार झर्यौं गुरुङचेबाट ! कुहिरोको श्वेत तालको शुन्दरता पिएर आँखा अघाएकै थिएनन् ! अघाउन त मन पनि अघाएको थिएन तैपनि चित्त बुझाएर अगाडि बढ्न मनले आँखालाई इसारा गरिरहेको थियो ! बिहान ८ः३० बजेबाट भानु माविको सभाहलमा सिर्जना सम्मेलनको दोस्रो सत्र शुरु भयो ! यसलाई प्रतिभा सत्र पनि मान्न सकिन्थ्यो ! हुम्ला, कैलाली, झापा, रुपन्देही, चितवन, लमजुङ, कास्की, नवलपरासी, तनहुँ, गोरखा तथा काठमाडौंबाट आएका केही स्रष्टा लगायत स्थानीय स्रष्टाहरुको रचना वाचन, सुदर्शन प्रधानको बन्दिपुर र साहित्य बिषयक कार्यपत्र प्रस्तुतिका साथसाथै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको बन्दिपुरको साहित्यिक, भाषिक र पर्यटकीय विकासका सम्भावना बिषयक गम्भीर मन्तव्यले बाहिरबाट आएका हामी सहभागीलाई पनि निकै हौस्याएको थियो !

बन्दिपुरमै जन्मेर यहाँको माटोलाई देशैभरि चिनाउन लागि पर्नु भएका प्रख्यात कवि एवम् व्यवसायी द्वारिका श्रेष्ठलाई प्रमुख अतिथि पाएको खुसी सबै बन्दिपुरबासीको अनुहारमा झल्किरहेको थियो ! बिशिष्ट अतिथिका रुपमा ज्ञानुवाकर पौडेल, भागिरथी श्रेष्ठ, किशोर पहाडी, मुकेश मल्ल, प्राडा ज्ञानु पाण्डे, प्रमोद प्रधान, डाक्टर रमेशचन्द्र अधिकारी र साहित्यकार भुवनहरि सिग्देलको मन्तव्यले पनि सहभागीहरुमा बेग्लै खालको छाप छोड्न पुग्यो ! गीता सुवेदीले कविता र टीका भट्टराईले गजल वाचन गरेका थिए ! “ झापादेखि आइयो ! रचना वाचन नगरी त कसरी फर्कनु घर ! “ एक आपसमा कुरा गर्दै गर्दा गीता र टीकाको अनुहारमा खुसीको लहर सलबलाइरहेको थियो ! गोरखापत्रका निमित्त सम्पादक शिवप्रसाद भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको गहकिलो मन्तव्यले यस ठाउँको प्रचारप्रसारलाई उच्च महत्त्व दिएको भनेर सजिलै बुझ्न सकिन्थ्यो ! त्रिभुवनचन्द्र वाग्लेले सञ्चालन गर्नु भएको यस सत्र पनि निकै नै प्रभावकारी थियोे ! दिनको एक बजिसकेको थियोे ! हतारहतार कार्यक्रम सकेर हामी भोजन स्थलतिर दौडियौं ! अघिल्लो दिन नै किशोर प्रधानले भोलिको खाना मेरो तर्फबाट हुनेछ भन्नुभएको थियो ! हाम्रो पेटमा भोकको ज्वाला दन्किरहेको थियोे ! डिठ्ठा बिचारी पार्कस्थित होमस्टेमा खाएको सुस्वादु खानाले सुस्तरी सुस्तरी भोकको आगो निभाउन थाल्यो !

खाना खाइसकेर मुख्य बजारस्थित पद्म पुस्तकालयमा हुने मुल कार्यक्रममा सहभागी हुन बजारतिर लाग्यौं ! बजारभन्दा केही वरै बन्दिपुरमा जन्मनु भएका बरिष्ठ कवि द्वारिका श्रेष्ठलाई बाजागाजा र पुष्पवृष्टि सहित नगर परिक्रमा गराई सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको रहेछ ! परम्परागत, साँस्कृतिक भेषभुषामा सुसज्जित महिला समूहले सहभागी सबैलाई खादा, अविरले स्वागत गर्दा मेरो मन खुसीले त्यसैत्यसै रोमाञ्चित भैरहेको थियो ! मुख्य बजारको ढुङ्गा छापेको फराकिलो बाटोमा बरिष्ठ कविको उपस्थितिमा बाजागाजा सहित सांस्कृतिक झाँकीले बजार परिक्रमा गर्दा सहभागी साहित्यकारहरुको अनुहारमा पनि हर्षको प्रकाश चम्किरहेको थियोे ! उपस्थित साहित्यकारहरुलाई पालिका अध्यक्ष र उपाध्यक्षले खादाद्वारा स्वागत गर्नु भएपछि पद्म पुस्तकालयको प्राङ्गणमा सम्मान कार्यक्रम शुरु भयो ! गाउँपालिका भित्रका सेवानिवृत्त शिक्षकहरुको सम्मान साथसाथै अतिथिहरुको मन्तव्य र फाट्टफुट्ट रचनावाचन पनि भैरहेको थियो ! यही बेला बन्दिपुरलाई समर्पण गरी लेखेका आफ्ना दुईवटा मुक्तक सुनाउन भ्याइहालें मैले पनि !

कुहिरोले ढाके सेतो ताल बनाउँछ
छोप्छ स्नेहले र मायाको पाल बनाउँछ
लीला पनि कति हो कति बन्दिपुरको
आगन्तुकलाई दिन प्रेमको थाल बनाउँछ !

जति हेर्यो हेरुँ लाग्छ रुप बन्दिपुरको
ह्रदयमै सजाउँ तस्वीर खुप बन्दिपुरको
राष्ट्रभरि फैलिरहोस् नाम यसको सधैं
मगमगाओस् चारैतिर धुप बन्दिपुरको !

यसरी दोस्रो दिनको सिर्जना सम्मेलन पनि राम्रैसँग समापन भएको थियोे ! समय व्यवस्थापन गर्न सकेको भए कार्यक्रम अझै प्रभावकारी हुने थियो ! कविहरु रचना वाचन गर्न पाइने नपाइने एकिन नभएको कारण अन्यौल अन्यौलमा रहेका देखिन्थे ! कसले माइक छोड्ला र म समातुँला भनेर चनाखो भएर बस्नुपर्ने कारण कविहरुको ध्यान अन्यत्रबाट मोडिएर माइकमा केन्द्रित भएको थियो ! यस्तो दृश्य सिर्जना सम्मेलनका लागि सुखद कुरा पक्कै थिएन ! अतिथि साहित्यकारहरुको स्वागतमा बेलुकीको मनोरञ्जनात्मक कार्यक्रम तय भएको रहेछ ! सोही अनुसार कार्यक्रमको शुरुआत भयो छ बजेपछि ! दिउँसोको साहित्यिक कार्यक्रमभन्दा यो साँझको कार्यक्रम दमदार रहेको मेरो मुल्यांकन रह्यो ! मिसन अधिकारीको गजल, बिन्दु अधिकारी ढकाल, सुमन थापा सङ्गम, बिक्रमभक्त जोशीको कविता र पौडेल विमुन्सको गजलले एउटा समूहलाई मन्त्रमुग्ध बनाइरहेको थियोे भने ललिता मल्ल, किशोर पहाडी र टीकाकुमारी भट्टराईले गाउनु भएको गीतले अर्को समूहलाई रोमाञ्चक बनाइरहेको थियोे ! सुमधुर स्वरमा गुञ्जिएका गीतहरुले गोधूलि साँझलाई जीबन्त बनाइरहेका थिए ! तेस्रो समूहको नेतृत्व दीपक लोहनीले गरेका थिए र बिजुली पानीको सहारामा गजलको प्रशंसा राउन्ड चलिरहेको थियोे ! यस समूहलाई धन्वन्तरी मिश्र कात्यायनले साथ दिइरहेका थिए भने यस समूहमा प्रमुख अतिथि पौडेल विमुन्स थिइन् ! कोकाकोलाको गिलास र बिजुली पानीको गिलासको गज्जवको मेलमिलाप भैरहेको थियोे यहाँ ! बेलुकीको खानापश्चात् आजको कार्यतालिकामा रहेको मनोरञ्जन सत्र पनि समापन भयो राति दश बजेतिर ! अलिअलि रमरमाइरहेको ज्यान लिएर म पनि फर्कें बासस्थानतिर ! कवि बैरागी जेठाको नाके स्वरमा घन्किरहेको असन्तुष्टिको गीत सुन्दै म माया होटलको अगाडि आइपुगें !

बाटो पारीको होटलको बाहिरी कोठामा हेर्छु त, मेरी बास्सै ! कस्तो रमाइलो दृश्य ! गजल र कविताको संयुक्त महेफिल चलिरहेको थियोे ! प्रमुख वाचिका पौडेल विमुन्स ! श्रोताहरुमा देवका सापकोटा, दीपक लोहनी, बिक्रमभक्त जोशी र कात्यायन ! टिकट काट्नु नपर्ने यो सर्वसुलभ महेफिलमा म पनि सहभागी भइगएँ ! करीब तीन राउन्ड रचना वाचन चलेपछि दीपक र कात्यायन बसेको होटलका साहुजीको आग्रहमा महेफिल समापन भयो रातको करिव ११ः३० तिर ! बिहान उज्यालो भएपछि बन्दिपुरलाई स्पर्श गर्न मन लाग्यो फेरि ! यहाँ आएको आज तेस्रो दिन ! धेरै कुरा देख्न बाँकी थियो यहाँको ! तीनधारा पुग्नै भ्याइएन ! ग्रेटवाल देख्नै पाइएन ! सिद्धगुफा त यहाँबाट झन् टाढा ! करीब दुई घण्टा पैदलयात्रामा पुगिने ! केहीबेरपछि फर्कनुपर्छ भन्ने सोच्दा मात्रै पनि नरमाइलो भयो मन ! बन्दिपुरको मोहकताले लठ्याइसकेको थियोे हामीलाई ! जति माया गरे पनि बन्दिपुरले हामीलाई सधैंभरि त पाल्न सक्दैन थियोे ! बन्दिपुरको मायामा लुटपुटिएर अझै केही दिन बसे पनि हाम्रो व्यवहार र कार्य व्यापारले एक दिन त हामीलाई खोसेरै छोड्थ्यो बन्दिपुरबाट ! बन्दिपुरलाई अझै अघाउञ्जेल हेर्न म, मिसन अधिकारी, बैरागी जेठा र जगत बाशिष्ठ झर्यौं पहाडपानीतिर ओरालै ओरालो ! पानीको आपूर्ति हुने ठाउँ रहेछ यो ! दुईवटा पहराको बिचमा रहेको शिवको मुर्तिमा ढोग्दै थिए भक्तजनहरु ! आस्थाको केन्द्र रहेछ यो पनि ! बैरागीले मुर्तिमा ढोग्दा मिसन भने हाँसीहाँसी फोटो खिचिरहेका थिए ! “ अर्को पटकको गठनमा प्राज्ञ हुन पाउँ भन्नुस् भगवानसँग ! “ मैले जिस्क्याएँ बैरागीलाई ! केहीबेर हाँसोको फोहोरा छुट्यो हामीमाझ !

फेरि माथि नै उक्लियौं ! टुँडिखेल जान मन गरे मिसनले ! लौ भनें मैले पनि ! एकछिनमा फर्कने बेला हुन्छ ! किन नजानु समय हुँदा ! छ्याङ्ग मौसम खुल्दा पूर्व र उत्तरतर्फका हिमाल हेर्न यहाँ आउँछन् पर्यटकहरु ! टुँडिखेलको छेउबाट हिँडिरहँदा मलाई लाग्यो, बन्दिपुर बासीको मन पनि टुँडिखेल जत्तिकै ठूलो र फराकिलो छ ! पहाडपानीको जल जत्तिकै पवित्र छ ! मस्र्याङ्दी उपत्यका जत्तिकै शुन्दर छ ! गुरुङचे डाँडा जत्तिकै अग्लो छ ! मरुभूमि जस्तो ठाउँलाई शुन्दर पर्यटकीय नगरमा रुपान्तरण गर्ने यहाँका परिश्रमी हातहरुलाई मैले मनमनै धन्यवाद दिएँ ! बन्दिपुरको मुख्य शहर भागमा नेवारी संस्कृति र कला झल्कने होटल र शहर बाहिरपट्टि मगर संस्कृति झल्कने होमस्टे व्यवसाय फस्टाएको देखियो ! आफैं एउटा शुन्दर टावर जस्तो यो बन्दिपुर तनहुँ जिल्लाको मुख्य पर्यटकीय गाउँपालिका पनि हो ! यसको शहरी भागभन्दा बाहिरी भागलाई कृषि र पशुपालनमा जोड दिने हो भने कृषि पर्यटनको बिकास हुने र यहाँका बासिन्दा आर्थिक रुपमा आत्मनिर्भर हुने कुरामा भित्रैदेखि बिश्वास लाग्यो मलाई ! स्थानीय बासिन्दाहरुसँग सोधपुछ गर्दा बन्दिपुरभित्र र बाहिर पनि बढी मात्रामा नेवार, मगर र गुरुङको बसोबास रहेको, अन्य जातजातिहरुको पनि बसोबास रहेको हुँदा यस क्षेत्रमा जातीय सहिष्णुताको नमुना देख्न पाएँ मैले ! यस्ता कुराले मात्रै पनि धेरै खुसी भयो मन ! फर्केर आउँदा नौ बजिसकेछ ! ९ः३० सम्म बरालथोक स्थित केबलकारको स्टेसनमा पुगिसक्नु भन्ने उर्दी छ आयोजकको !

झोला भिरेर लाग्यौं केबलकारतिर ! केहीबेरको प्रतिक्षापछि हामीले केबलकारभित्र प्रवेश पायौं ! चलचित्रमा नायक नायिकालाई अलग्याउन खोज्ने खलपात्र जस्तो लाग्यो अहिले मलाई यो केबलकार ! पहाडकी रानी बन्दिपुरसँग हामीलाई अलग्याउन यसले बल गरिरहेजस्तो लाग्यो कताकता ! केबलकारको तल्लो स्टेसनको सभाहलमा दाखेल भयौं हामी ! बन्दिपुर गाउँपालिकाकै प्रायोजन रहेछ यहाँ पनि ! बिदाइ कार्यक्रमको शुरुआत चिया बिस्कुटबाट भैरहेको थियोे ! सानातिना मन्तव्य राखिए आयोजकहरुका तर्फबाट ! अतिथितर्फबाट पनि बन्दिपुर बसाइका अनुभूति पस्कने काम भयो ! फाट्टफुट्ट रचना वाचनले यो पनि सिर्जना सम्मेलनकै एक सत्र हो भन्नेमा दुविधा थिएन ! साहित्य र पर्यटनलाई जोड्ने कसीका रुपमा बन्दिपुर घोषणापत्र जारी भयो ! सबैले स्वतस्फूर्त रुपमा हस्ताक्षर गरेपछि ताली बजाएर समर्थन गरियो ! सभा हलबाट बाहिरिँदा आयोजकबाट प्राप्त खादा र पहाडे कागजबाट बनेको झोलासहित बिदा हुन लाग्यौं ! कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने स्थानीय आयोजक नमस्तेलाल भूमि श्रेष्ठ र सुदर्शनलाल प्रधान लगायतको अनुहार गम्भीर थियोे ! सबैबाट सिर्जना सम्मेलन भव्य रुपमा सफल भएको कुरा व्यक्त भइरहँदा भने उहाँहरुको अनुहारमा खुसीको भाव झल्किएको थियो ! हामीलाई मानौं उहाँहरुका आँखाले भनिरहेका थिए,“ बन्दीपुर बसाइका सुखद अनुभूतिहरु लिएर जानुहोस् अव सबैजना ! तपाईंहरुलाई शुभ यात्रा ! “ यतिखेर मैले धेरैबेर मधुपर्कको आवरण सम्झिएँ ! मधुपर्कले बन्दिपुरसँग मित्रता गाँस्न हामीलाई साक्षी राख्न यहाँसम्म ल्याएको थियो ! मेरा आँखाभरि मधुपर्क नाच्न थाल्यो ! आफ्नो पहिलो रचना २०५६ सालमा मधुपर्कमा छापिएको खुसी मेरो अनुहारमा फेरि पनि फर्कियो ! ह्रदयमा भने बन्दीपुरको तस्वीर बलियोसँग टाँसिएको थियो ! मैले पनि झटपट आफ्नो झोला उठाएँ ! मेरा गोडा गाडीतर्फ बढे पनि मन भने बन्दीपुरलाई छोडेर काठमाडौं फर्कन पटक्कै मानिरहेको थिएन !

                वागमती ११, कर्मैया, सर्लाही

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार