काठमाडौँ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर व्यतीत (लाप्स) भएका बिमालेखको पुनर्जागरणलक्षित विशेष छुट योजना सार्वजनिक गरेको छ । आर्थिक रूपमा चुनौतीपूर्ण वर्तमान परिवेशमा धेरै बीमितका बिमालेख नवीकरण हुन नसकी व्यतीत भइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यही वैशाख ७ देखि आउँदो जेठ ५ गतेसम्म लागू हुने गरी ‘विशेष बीमा पुनर्जागरण योजना २०८२–०८३’ सञ्चालनमा ल्याइएको छ । यो अवधिमा व्यतीत बिमालेख पुनः सक्रिय (रिभाइभ) गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
कम्पनीले यो योजनामार्फत बीमितलाई सहज रूपमा नवीकरण बीमा शुल्क भुक्तान गरी आफ्नो बीमा सुरक्षालाई पुनः कायम गर्ने अवसर उपलब्ध गराएको जनाएको छ । रजतजयन्तीका अवसरमा पहिलोपटक यति ठूलोस्तरमा विलम्ब शुल्क छुट योजना ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।
३० दिनको अवधिका निम्ति लागू हुने यो योजनालाई अधिकतम रूपमा उपयोग गर्न कम्पनीले सम्पूर्ण बीमितलाई आग्रह गरेको छ । व्यतीत बिमालेख भएका ग्राहकले यस अवसरमा बिनाअतिरिक्त आर्थिक भार आफ्नो बीमा पुनः सक्रिय गर्न सक्नेछन् । नेपाल लाइफले बीमा सेवा केवल बचत वा लगानी मात्र नभई परिवारको दीर्घकालीन आर्थिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको र निरन्तर बीमा संरक्षण कायम राख्न बिमालेख नवीकरण अत्यावश्यक रहेको जनाएको छ ।
कम्पनीले यो योजनाले बीमितलाई पुनः सुरक्षाको दायरामा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा परिचित छ । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले विगत २५ वर्षदेखि लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको दाबी गरेको छ । देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताका माध्यमबाट कम्पनीले सेवा विस्तार गर्दै आएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्राहक विश्वासलाई केन्द्रमा राख्दै नेपाल लाइफले निरन्तर सेवा सुधार गर्दै आएको बताए । बिमालेख व्यतीत हुनु विभिन्न व्यक्तिगत वा आर्थिक कारणले हुन सक्ने यथार्थलाई स्वीकार गर्दै ग्राहकलाई पुनः बीमा सुरक्षामा फर्काउने उद्देश्यले यस्तो विशेष योजना ल्याइएको उनले स्पष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्