नेपालगञ्ज,५ माघ/ बाँकेको राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितलाई लक्षित गरेर शिक्षा र खाद्य सुरक्षा सम्बन्धी दुई वटा छोटो अवधिका परियोजना सञ्चालन गरिएको छ ।
बाढीपीडितका बालबालिकालाई लक्षित गरेर ‘तराइका बाढी प्रभावित क्षेत्रमा शिक्षाको पुनस्र्थापना’ र ‘बाढी प्रभावित समुदायको खाद्य सुरक्षामा वृद्धि’ नामक ती दुबै परियोजना बाँके युनेस्को क्लबले सञ्चालनमा ल्याएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएका ती दुबै परियोजनाको अवधी ६ महिनादेखि ९ महिनाको रहने क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
अध्यक्ष सिद्दिकीका अनुसार राप्तीसोनारी गाउँपालिकाका बाढी प्रभावित विद्यालयहरुमा सञ्चालन गरिने शिक्षाको पुनः स्थापना कार्यक्रम अन्तरगत १५ वटा अतिप्रभावित विद्यालयको मर्मत सम्भार गरिनुका साथै प्रभावित १ हजार ९ सय ८४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिने तथा ३ सय जना शिक्षकलाई शैक्षिक सामाग्री प्रयोग सम्बन्धी तालिम समेत दिइने छ ।
सो गाउँपालिकामा रहेका ११ वटा बालविकास केन्द्रलाई शैक्षिक सामाग्री बितरण गरिनुका साथै जिल्लाका ४ वटा श्रोत बिद्यालयलाई ब्यबस्थापन सहयोग पनि सोही कार्यक्रम अन्गरगत गरिने उनले बताए ।
मर्मत सम्भारका लागि छनोटमा परेका १५ वटा विद्यालयका पुनः निर्माण समितिलाई अभिमुखिकरण गरिने र ती विद्यालयको सामाजिक परीक्षण समेत गरिने जनाइएको छ ।
यसैगरी खाद्य सुरक्षा वृद्धि सम्बन्धी अर्को परियोजना अन्तरगत राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा ११ सय बाढी प्रभावित परिवारलाई लक्षित गरेर त्यहाँ रहेका साना साना कुला, सिचाई, बाँध र हाट बजारको मर्मत सम्भार गरिनुका साथै तरकारी खेतीका लागि बिउ समेत वितरण गरिने योजना रहेको क्लबका अध्यक्ष सिद्दिकीले बताए ।
ती ११ सय प्रभावित परिवारका सदस्यलाई कामको लागि नगद दिएर रोजगारी समेत प्रदान गरी कुला, सिचाई, बाँध र हाट बजारको मर्मत सम्भार गराइने छ । जसबाट उनीहरुले तरकारी खेती लगायत अन्य खेती राम्ररी गर्न सक्ने छन् भने बिक्रिका लागि हाट बजारको उपयोग गर्ने छन् ।
यसका साथै सो वडामा अगुवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर विपद्को अग्रिम तयारी गर्न कार्ययोजना समेत तयार गर्ने कार्यक्रम रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।
छोटै अवधिका भएपनि यी दुबै कार्यक्रमले सो गाउँपालिकाका बाढी पीडित परिवारले केही हदसम्म ठुलो राहत पाउने हुँदा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्