सात लाखको लागतमा विद्यालयको कम्पाउण्ड निर्माण



यानबी साहु : कोहलपुर, ४ माघ/  कोहलपुर नगरपालिका–१३ सिमरीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण गरिएको छ ।

वडा कार्यालयको रु ५ लाख सहयोग तथा रु २ लाख बराबरको जनश्रमदान गरी जम्मा रु ७ लाख बराबरको लागतमा उक्त कम्पाउण्ड वाल निर्माण गरिएको विद्यालयाका प्रधानाध्यापक हस्त बहादुर खत्रीले जानकारी दिए ।

विद्यालयको कम्पाउण्ड नहुँदा विद्यार्थीहरु पढ्दा पढ्दै विचमै भागेर जाने अवस्था रहेको थियो । कम्पाउण्ड निर्माण भएपछि अब त्यो समस्या हट्ने र विद्यालयको शैक्षिक स्तरमा पनि सुधार हुने प्रअ खत्रीले बताए । विद्यालयमा अझै खाने पानी र शौचालयको समस्या रहेको उनले बताए ।

यस्तै आगामी शैक्षिक शत्रबाट विद्यालयमा नर्सरीदेखि अंग्रेजी माध्यममा शिक्षण गराइने समेत प्रअ खत्रीले जानकारी गाएका छन् । विद्यालयको कम्पाउण्ड निर्माणमा स्थानीय वासिन्दाहरुको पनि ठूलो योग्दान रहेको छ ।

स्थानीयले विद्यालयको कम्पाउण्ड निर्माणका लागि रु २ लाख बढिको जनश्रमदान गरेका हुन् । सानो सहयोगले ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण यहाँका स्थानीयले प्रस्तुत गरेको निर्माण समितिका अध्यक्ष चित्र बहादुर नेपालीले बताए ।

त्यस्तै सोही वडाको शिवटोल र मिलनचोक जोड्नका लागि पक्की पुल निमार्ण कार्य शुरु गरिएको छ । नगर पालिकाको रु १४ लाख सहयोग र वडाबासीको जनश्रमदानमा सो पुल निर्माण गर्न लागिएको वडा अध्यक्ष ओम प्रकाश वलीले बताए ।

यस्ता विकास निर्माणका कार्यले सकारात्मक प्रभाव पारेको अध्यक्ष वलीको दावी छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार