
काठमाडौँ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । लुम्बिनीमा यही मंसिर २४ देखि २६ गतेसम्म तीनदिने सम्मेलन गर्न लागिएको महासंघले जनाएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका निम्ति न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्षमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाहरू शान्ति निर्माण र दिगो विकासका माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।
सम्मेलनमा सहभागिताका निम्ति सदस्य संघमार्फत मुलुकभित्र र मुलुकबाहिरका सहकारीकर्मीलाई आग्रह गरिएको उनले बताए । सहकारी शान्ति सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट उत्साहपूर्वक रजिस्ट्रेसन भइरहेको उनको भनाइ छ । सम्मेलनमा करिब ६५० जनाको सहभागिता रहने र इच्छुक सहकारीकर्मीलाई छिटो रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न उनको आग्रह छ । सहकारी शान्ति सम्मेलन भनिए पनि सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा समेत छलफल गरिने हुँदा सम्मेलन फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
मुलुकमा खुलेका केही सहकारी संस्थाले सदस्यको बचतलाई अपचलन गर्दा सिंगो सहकारी अभियानमाथि नै प्रश्न उठाइएको सन्दर्भमा यो क्षेत्रको समस्यालाई समाधान गर्ने गरी सम्मेलनले मार्गप्रशस्त गर्ने अपेक्षा उनको छ । सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीलाई प्रतिव्यक्ति ६ हजार रूपैयाँँ र विदेशीलाई प्रतिव्यक्ति २५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्