नन्दराम जैशी । सुुर्खेत ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोलीको प्रभावशाली उपस्थिति देखिएको छ । प्रतियोगिताको पहिलो दिन मैदान उत्रिएका सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता रहेका दुवै विभागीय टोलीले पहिलो खेलमै आफ्नो क्षमता प्रदर्शन गरे ।
एपिएफले ब्याटिङ र बलिङ दुवैमा एकपक्षीय प्रदर्शन गर्दै लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हरायो भने आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । पहिलो दिनको नतिजाले महिला क्रिकेटमा विभागीय टोलीको तयारी, खेलाडीको अनुभव र सामूहिक प्रदर्शनको प्रभाव स्पष्ट पारेको छ । विशेषगरी एपिएफको आक्रामक ब्याटिङ र आर्मीको अनुशासित बलिङ विपक्षी टोलीका लागि चुनौती बन्यो ।
वीरेन्द्रनगरस्थित प्रादेशिक रंगशालाभन्दा माथिल्लो क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १५८ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट मात्र गुमाएर १९७ रनको विशाल योगफल तयार पारेको थियो । एपिएफको विशाल स्कोर निर्माणमा कप्तान सीता रानामगर, इन्दु वर्मा र रेवती धामीको अर्धशतकीय योगदान निर्णायक बन्यो ।
कप्तान सीताले ४२ बलमा एक छक्का र नौ चौकाको मद्दतले ६६ रन बनाइन् । उनले सुरुदेखि नै लुम्बिनीका बलरमाथि दबाब सिर्जना गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याइन् । त्यस्तै, इन्दु वर्माले केवल २७ बलमा १२ चौकासहित अविजित ५८ रन बनाइन् । उनको आक्रामक ब्याटिङले एपिएफको रनगति तीव्र बनाएको थियो । रेवती धामीले पनि ५३ बलमा अविजित ५५ रन जोड्दै टोलीको स्कोरलाई १९७ सम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।
तीन ब्याटरको अर्धशतकीय प्रदर्शनसँगै एपिएफले लुम्बिनीमाथि ठूलो लक्ष्यको दबाब सिर्जना ग¥यो । जवाफमा १९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले भने ब्याटिङमा कुनै प्रभाव छाड्न सकेन । लुम्बिनी १५ ओभर चार बलमा ३९ रनमै अलआउट भयो । टोलीका लागि श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाइन् । उनीबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा एपिएफकी करुणा भण्डारीले तीन विकेट लिइन् । बिनु बुढा र राजमती ऐरीले समान दुई–दुई विकेट हात पारे । ब्याटिङमा विशाल योगफल र बलिङमा सटिक प्रदर्शन गरेको एपिएफले पहिलो खेलमै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । लुम्बिनीका लागि भने पहिलो खेलको हारसँगै ब्याटिङ पक्ष सुधार गर्नुपर्ने चुनौती देखिएको छ ।
आर्मीको जितमा यमुना थारूको घातक बलिङ
महिला क्रिकेटकै समूह ‘ए’अन्तर्गत भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको कोशी प्रदेश आर्मीका बलरमाझ टिक्न सकेन । १८ ओभर पाँच बलमा सबै विकेट गुमाएको कोशीले ६५ रन मात्र बनाउन सक्यो। टोलीले अतिरिक्त १२ रन पाएको थियो । कोशीका लागि राष्ट्रिय टोलीकी अनुभवी खेलाडी रुबिना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । उनले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् ।
तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा कोशी सामान्य योगफलमै सीमित भयो । आर्मीको बलिङमा यमुना थारू नायक बनिन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडनसहित केवल ६ रन खर्चेर चार विकेट लिइन् । उनको किफायती र प्रभावकारी बलिङले कोशीको ब्याटिङ क्रमलाई सुरुदेखि नै दबाबमा राख्यो । ६६ रनको सामान्य लक्ष्य पाएको आर्मीले १३ ओभर एक बलमा चार विकेट गुमाएर जित हासिल ग¥यो । आर्मीका लागि बिन्दु रावलले २१ र रुबी पोदारले १८ रन बनाइन् ।
कविता कुँवर १२ रनमा अविजित रहिन् । कोशीकी रुबिना क्षेत्रीले बलिङमा पनि राम्रो प्रदर्शन गरिन् । उनले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिइन् । तर, आर्मीका ब्याटरलाई रोक्न उनको व्यक्तिगत प्रदर्शन पर्याप्त हुन सकेन । पहिलो दिनका दुवै खेलले विभागीय र प्रदेशस्तरीय टोलीबीचको प्रतिस्पर्धामा अनुभव तथा खेलाडीको उपलब्धताको महत्व देखाएका छन् । एपिएफले ब्याटिङमा तीन अर्धशतकसहित विशाल योगफल बनाउनु र आर्मीले विपक्षीलाई ६५ रनमै रोक्नु दुवै विभागीय टोलीको बलियो पक्षका रूपमा देखिए ।
प्रदेशस्तरीय टोलीका लागि विभागीय टोलीसँगको प्रतिस्पर्धा आफ्नो क्षमता परीक्षण गर्ने अवसर पनि हो । ब्याटिङमा साझेदारी निर्माण, दबाबको अवस्थामा विकेट जोगाउने क्षमता र बलिङमा अनुशासन कायम गर्न सके प्रदेश टोलीहरूले पनि प्रतियोगितामा बलियो चुनौती प्रस्तुत गर्न सक्छन् । महिला क्रिकेटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको दोस्रो दिन पनि दुई खेल हुने तालिका छ ।
दोस्रो दिन बिहान साढे ९ बजे हुने पहिलो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आमनेसामने हुनेछन् । त्यस्तै, दिउँसो हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिनको नतिजाले विभागीय टोलीले प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाएका छन् । अब दोस्रो दिनका खेलले प्रदेश टोलीहरूबीचको प्रतिस्पर्धात्मक क्षमता र प्रतियोगिताको आगामी समीकरणलाई थप स्पष्ट पार्नेछ ।
पुरुष फुटबलतर्फ मधेश र पुलिसको विजयी सुरुवात
पुरुष फुटबलमा मधेश प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार कर्णाली रङ्गशालामा सम्पन्न दुई खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशमाथि जित निकालेको हो । प्रतियोगिताको पहिलो दिनका नतिजाले पुरुष फुटबलमा प्रतिस्पर्धाको सुरुवाती संकेत देखाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै तीन अंक जोड्यो ।
आफ्नै मैदान र घरेलु दर्शकको साथ पाएको कर्णालीले खेलमा अपेक्षित नतिजा निकाल्न सकेन । तुलनात्मक रूपमा व्यवस्थित खेल प्रस्तुत गरेको पुलिसले पहिलो हाफमै दुई गोल गर्दै खेलमा आफ्नो पकड बनाएको थियो । पुलिसका लागि धिरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको केही समयपछि सुजन मगरले ४६औँ मिनेटमा दोस्रो गोल थपे । लगातार दुई गोल खाएपछि दबाबमा परेको कर्णालीले खेलमा फर्कने प्रयास गरे पनि पहिलो हाफमा त्यसलाई गोलमा परिणत गर्न सकेन ।
दोस्रो हाफमा कर्णालीले आफ्नो प्रदर्शनमा सुधार ल्याउँदै आक्रमणलाई तीव्रता दिएको थियो । दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि ती अवसर सदुपयोग हुन सकेनन् । दोस्रो हाफ गोलरहित रहँदा पहिलो हाफमा बनाएको दुई गोलको अग्रता नै पुलिसको जितका लागि पर्याप्त बन्यो । घरेलु मैदानमा पहिलो खेलमै पराजय बेहोरेको कर्णालीका लागि यो नतिजा सुरुवाती धक्का बनेको छ । प्रतियोगितामा आयोजक प्रदेशको प्रतिनिधित्व गरिरहेको कर्णालीले अब आगामी खेलमा नतिजा सुधार्नुपर्ने दबाब सामना गर्नेछ ।
खेलका क्रममा नेपाल पुलिसका एक र कर्णालीका दुई खेलाडीले पहेँलो कार्डसमेत प्राप्त गरेका थिए । मंगलबारकै दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात ग¥यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दुवै पक्षले एकअर्काको आक्रमण रोक्दै रक्षात्मक रणनीति अपनाएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर दोस्रो हाफमा मधेशले निर्णायक गोल गर्न सफल भयो । मधेशका विकाश दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो । त्यसपछि सुदूरपश्चिमले बराबरी गोल फर्काउने प्रयास गरे पनि मधेशको रक्षापंक्तिलाई तोड्न सकेन । अन्ततः एक गोलको अग्रता जोगाउँदै मधेशले महत्वपूर्ण जित हात पा¥यो । खेल निर्धारित समयभन्दा ढिलो सुरु भएका कारण दुवै टोलीबीचको खेल अवधि घटाइएको थियो ।
निर्धारित ४५ मिनेटको पहिलो हाफको सट्टा ३५–३५ मिनेटमा खेल सञ्चालन गरिएको थियो । छोट्याइएको खेल अवधिमा पनि मधेशले निर्णायक अवसरको सदुपयोग गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो । दुवै खेलको नतिजाले प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धा रोचक बन्ने संकेत गरेको छ । पुलिसले घरेलु टोलीलाई दुई गोलले पराजित गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ भने मधेशले सुदूरपश्चिमविरुद्ध संयमित प्रदर्शनका साथ तीन अंक जोडेको छ ।
यता पराजित कर्णाली र सुदूरपश्चिमले आगामी खेलमा पुनरागमन गर्ने चुनौती सामना गर्नुपर्नेछ । यसैबीच प्रतियोगिताअन्तर्गत बुधबार पुरुष फुटबलका थप दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।
एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीको विजयी सुरुवात
कर्णालीमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा पहिलो दिन चार खेल सम्पन्न भएका छन् । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन फुल कोर्ट ५०५ र थ्री अन थ्री (३×३) विधामा प्रतिस्पर्धा भएको थियो । चार खेलको नतिजाले महिला बास्केटबलमा विभागीय टोलीसँगै प्रदेशस्तरीय टोलीबीच पनि प्रतिस्पर्धात्मक क्षमता देखाएको छ ।
विशेषगरी सुदूरपश्चिम र बागमतीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो भने एपीएफले पुलिसविरुद्ध फराकिलो जित निकाल्दै आफ्नो प्रभावशाली उपस्थिति देखायो । फुल कोर्ट ५०५ विधाको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित ग¥यो । सुरुदेखि नै खेलमा पकड जमाएको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै पुलिसलाई दबाबमा राखेको थियो । ३३ अंकको अन्तरले प्राप्त जितले एपीएफलाई प्रतियोगिताको सुरुआतमै आत्मविश्वास दिलाएको छ ।
यही विधाको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ ले पराजित ग¥यो । सुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको खेलमा अन्तिमसम्म नतिजा आफ्नो पक्षमा पार्न दुवै टोलीले प्रयास गरेका थिए । तर, तीन अंकको झिनो अन्तरले सुदूरपश्चिमले बाजी मार्दै महत्वपूर्ण जित दर्ता ग¥यो । पहिलो दिनको यो नतिजाले महिला बास्केटबलमा प्रदेशस्तरीय टोलीहरू पनि उपाधि प्रतिस्पर्धामा कमजोर नरहेको संकेत गरेको छ ।
त्यस्तै, थ्री अन थ्री विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१२ ले पराजित ग¥यो । तीव्र गति, छोटो समय र सीमित खेलाडीबीच हुने यो विधामा आर्मीले एपीएफमाथि पाँच अंकको अग्रता कायम गर्दै जित निकालेको हो । थ्री अन थ्रीकै अर्को खेलमा बागमती प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ९–६ ले पराजित ग¥यो । घरेलु कोर्टमा समर्थकको साथ पाएको कर्णालीले जितका लागि प्रयास गरे पनि बागमतीले आफ्नो अग्रता कायम राख्दै पहिलो चरणको खेलमा सफलता हासिल ग¥यो ।
पहिलो दिनका चार खेलले महिला बास्केटबल प्रतियोगितामा विभागीय टोली र प्रदेशबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । फुल कोर्टतर्फ एपीएफ र सुदूरपश्चिमले तथा थ्री अन थ्रीतर्फ आर्मी र बागमतीले जित निकाल्दै आ–आफ्नो विधामा सुखद सुरुवात गरेका छन् । मंगलबार पहिलो दिन महिला बास्केटबलतर्फ चार खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिए । दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी महिला बास्केटबल प्रतियोगिताले विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीलाई आफ्नो प्रतिभा, क्षमता र प्रतिस्पर्धात्मक कौशल प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । आगामी खेलसँगै प्रतियोगितामा प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्