फोहोर व्यवस्थापनमा कडाइपछि अस्पतालको सरसफाइमा सुधार



 

मुगु ।

अस्पताल भन्नेबित्तिकै बिरामीको उपचार र स्वास्थ्य सुरक्षाको केन्द्र सम्झिन्छौँ । तर, त्यही अस्पताल परिसर फोहोर, दुर्गन्ध र अव्यवस्थित वातावरणले भरिएको छ भने उपचारका लागि पुग्ने बिरामीले थप स्वास्थ्य जोखिम बेहोर्नुपर्ने अवस्था आउँछ । यही जोखिम न्यूनीकरण गर्ने प्रयासस्वरूप जिल्ला अस्पताल मुगुले फोहोर व्यवस्थापनमा कडाइ गरेपछि अस्पतालको सरसफाइमा सुधार देखिन थालेको हो । अस्पतालबाट दैनिक निस्कने फोहोरलाई कुहिने, नकुहिने, सिसा र प्लास्टिक गरी छुट्टाछुट्टै वर्गीकरण गरेर व्यवस्थापन गर्न थालिएको छ । यसले अस्पताल परिसरको सरसफाइमा सकारात्मक परिवर्तन आएको हो ।

स्वास्थ्य सेवा व्यवस्थापक डा. दीपेन्द्रजंग शाहीले अस्पतालको फोहोर व्यवस्थापन र सरसफाइमा सुधार हुँदै गएको जानकारी दिँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनका अनुसार अस्पताल परिसर सफा राख्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक छ ।
जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव, अक्सिजन प्लान्ट सञ्चालन तथा बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । अस्पतालको सरसफाइमा सुधार हुँदै जानु सकारात्मक भए पनि पर्याप्त जनशक्ति, उपकरण र आवश्यक पूर्वाधारबिना गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न कठिन हुने उनको भनाइ थियो ।

फोहोरलाई एउटै ठाउँमा थुपार्ने वा जथाभावी फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै वर्गीकरणमा जोड दिइएको अस्पतालले जनाएको छ । स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा बिरामी, स्वास्थ्यकर्मी, कुरुवा तथा सरसफाइकर्मीसमेत संक्रमणको जोखिममा पर्ने गरेका थिए । त्यसैले अस्पतालको फोहोर व्यवस्थापनमा गरिएको कडाइलाई संक्रमण नियन्त्रण र सुरक्षित स्वास्थ्य सेवा प्रवाहसँग जोडेर हेरिएको छ । तर, सरसफाइमा देखिएको सुधारसँगै अस्पतालको समग्र सेवा प्रवाह, जनशक्ति, पूर्वाधार र नागरिकको स्वास्थ्य चेतनासम्बन्धी चुनौती पनि उत्तिकै महत्वपूर्ण देखिएका छन् । यसै सन्दर्भमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

अन्तरक्रियामा स्वास्थ्य क्षेत्रका समस्यालाई अस्पतालभित्र सीमित नराखी समुदायस्तरबाटै समाधानको पहल गर्नुपर्ने विषयमा छलफल भएको थियो । छलफलमा लागूऔषध दुव्र्यसन, सर्ने तथा नसर्ने रोग, बालबालिकाको पोषण अवस्था र अस्पतालमा आउने बिरामीप्रति गरिने व्यवहारलगायत विषयले प्राथमिकता पाएका थिए ।
त्यसैगरी पछिल्लो समय स्वास्थ्य क्षेत्रमा चुनौतीका रूपमा देखिएको एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स)बारे पनि छलफल गरिएको थियो । आवश्यकताभन्दा बढी वा चिकित्सकीय सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत जटिल बन्न सक्ने भएकाले औषधिको उचित प्रयोग र जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने चिकित्सकको सुुझाव छ ।

जिल्लाको स्वास्थ्य समस्यामध्ये बालबालिकामा देखिने कुपोषण पनि अर्को महत्वपूर्ण विषयका रूपमा उठेको थियो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार आवश्यक पर्ने भएकाले परिवार र समुदायस्तरमै पोषणसम्बन्धी चेतना फैलाउनुपर्नेमा सहभागीहरूले जोड दिएका हुुन् । त्यस्तै, गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउने वातावरण निर्माण गर्नुपर्ने र १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई लक्षित फोलिक एसिड कार्यक्रम प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । किशोरी तथा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसके त्यसको असर आगामी पुस्ताको स्वास्थ्यमा समेत पर्न सक्ने भएकाले यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

लागूऔषध दुव्र्यसन र त्यससँग जोडिएका सामाजिक तथा मानसिक स्वास्थ्यका जोखिम न्यूनीकरण पनि छलफलको अर्को महत्वपूर्ण पक्ष थियो । दुव्र्यसनले व्यक्तिको जीवनसँगै परिवार र समाजमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले आत्महत्याको जोखिम न्यूनीकरणसहित समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार