बढ्यो सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या



नन्दराम जैशी । सुर्खेत ।

दसैँलाई पारिवारिक पुनर्मिलन, खुसी र उल्लासको पर्वका रूपमा लिइन्छ । तर, यही चाडपर्वको समयमा हुने सवारी दुर्घटनाले बर्सेनि धेरै परिवारलाई शोकमा डुबाउने गरेको छ । २०८३ सालको दसैँ अवधिको दुर्घटनासम्बन्धी तथ्यांकले पनि सडक सुरक्षा अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ । अघिल्लो वर्षको तुलनामा दुर्घटनाको सङ्ख्या घटेको देखिए पनि दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या भने बढेको छ । यसले दुर्घटनाको सङ्ख्या मात्रै घट्नु पर्याप्त नभई दुर्घटनाको गम्भीरता न्यूनीकरण गर्नु पनि उत्तिकै आवश्यक रहेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँका अनुसार २०८३ सालको असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर छ, भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । २०८२ सालको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ११३ जनाको मृत्यु भएको थियो । त्यस अवधिमा ५१८ जना गम्भीर र दुई हजार २७९ जना सामान्य घाइते भएका थिए ।

दुवै वर्षको तथ्यांक तुलना गर्दा यस वर्ष मृत्यु हुनेको सङ्ख्या ११ जनाले बढेको छ । कूल घाइतेको सङ्ख्या पनि दुई हजार ७९७ बाट बढेर दुुई हजार ९८८ पुगेको छ । यसले दुर्घटनाको सङ्ख्या घटेको तर मानवीय क्षति बढेको देखाउँछ । उपलब्ध तथ्यांकअनुसार २०८२ सालको दसैँ अवधिमा एक हजार ४९२ सवारी दुर्घटना भएका थिए । २०८३ सालमा उक्त सङ्ख्या घटेर एक हजार ३३९ मा झरेको छ। अर्थात् दुर्घटनाको सङ्ख्या १५३ ले घटेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १०.३ प्रतिशत कम हो । तर, मृत्यु हुनेको सङ्ख्या ११ ले बढ्नुले दुर्घटनाको परिणाम थप घातक रहेको देखाउँछ ।

सवारीसाधनको प्रकार र दुर्घटनापछिको उद्धारमा भएको ढिलाइले पनि थोरै दुर्घटनाबाट धेरै मानिसको ज्यान जाने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष घाइतेको सङ्ख्या घटेको छ । २०८२ सालमा ५१८ जना गम्भीर घाइते भएका थिए भने २०८३ सालमा यो सङ्ख्या ४३७ रहेको छ । अर्थात् गम्भीर घाइतेको सङ्ख्या ८१ ले घटेको हो । अर्कोतर्फ सामान्य घाइतेको सङ्ख्या दुई हजार २७९ बाट बढेर दुई हजार ५५१ पुगेको छ ।

प्रहरीले २०८३ को दसैँ अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधनका चालकलाई पनि कारबाही गरेको जनाएको छ । जसमा कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४ जना, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ जना र तीव्र गतिमा सवारी चलाउने ७४६ जना छन् । त्यसैगरी यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ जना कारबाहीमा परेका छन् ।

यी तथ्यांकले सडक सुरक्षामा जोखिम सिर्जना गर्ने व्यवहार अझै व्यापक रहेको देखाउँछन् । मादक पदार्थ सेवनले चालकको निर्णय क्षमता, प्रतिक्रिया समय र सवारी नियन्त्रण गर्ने क्षमतामा असर पार्ने प्रहरीको भनाइ छ । केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुुसार तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृतिका कारण सवारीको सन्तुलन, ब्रेकिङ क्षमता र यात्रुको सुरक्षित बसाइमा समस्या हुुने गरेको बताए । सडक सुरक्षाका लागि नियमित निगरानी, प्रभावकारी कारबाही र चालकको जिम्मेवारी सुनिश्चित गर्ने क्रियाकलाप जारी रहेको उनको भनाइ छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना

प्रहरीको विवरणअनुसार २०८३ सालको दसैँ अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा भएका छन् । त्यहाँ ३९७ दुर्घटना अभिलेख भएका छन् । सबैभन्दा कम दुर्घटना मधेश प्रदेशमा ८० वटा भएका छन् । अन्य क्षेत्रको विवरणमा काठमाडौँ उपत्यकामा १७१, बागमती प्रदेशमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिममा १५० दुर्घटना भएको उल्लेख छ । कोशी प्रदेशमा धेरै दुर्घटना हुनुको कारण पहाडी तथा घुमाउरा सडक, लामो दूरीका यात्रा, सवारी आवागमनको चाप र सडकको अवस्था वा चालकको व्यवहार जस्ता पक्ष रहेको प्रहरीले जनाएको छ ।

कार्यालयगत विवरणमा बुटवल क्षेत्रमा ४०५, पथलैया क्षेत्रमा ३९९, इटहरी क्षेत्रमा २६९, महाशाखाअन्तर्गत १५५, मुग्लिन क्षेत्रमा १३०, कोहलपुर क्षेत्रमा ५३, अत्तरिया क्षेत्रमा ५० र बेलचौतारा क्षेत्रमा १९ वटा दुर्घटना उल्लेख छन् । त्यस्तै, मधेश प्रदेशमा दुर्घटना कम देखिनु त्यहाँ सडक सुरक्षा राम्रो हुुनुुका साथै दुर्घटनाको अभिलेख राख्ने तरिका, सवारीको आवागमन र दुर्घटनाको रिपोर्टिङ पनि छिट्टै हुुनेगरेको छ । प्रदेशगत दुर्घटना बढी भएका सडकखण्ड पहिचान गर्ने, दुर्घटनाको प्रकृति अध्ययन गर्ने र जोखिमअनुसार स्रोत परिचालन गर्ने कार्य भइरहेको छ ।

प्रहरीका अनुसार दसैँमा रोजगारी, अध्ययन र विभिन्न कामका सिलसिलामा सहरमा बस्ने मानिस गाउँ फर्कन्छन् । जसले परिवारसँग चाडपर्व मनाउन जाने यात्रुको सङ्ख्या बढ्दा सार्वजनिक यातायातमा चाप पर्छ । लामो दूरीका सवारीमा यात्रु धेरै हुने, चालकले लगातार लामो समय सवारी चलाउने, छोटो समयमा गन्तव्य पुग्ने दबाब र सवारीको प्राविधिक अवस्था कमजोर हुनेजस्ता पक्षले दुर्घटनाको जोखिम बढाएको तथ्यांकमा उल्लेख छ ।

चाडपर्वको समयमा टिकटको अभाव, निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको हतारोले पनि सुरक्षा मापदण्ड उल्लंघन हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता पर्वमा सुरक्षित यात्राको प्रत्याभूति दिन प्रहरीको सक्रियता मात्रै पर्याप्त नहुुने जनाइएको छ । यसका लागि सडक निर्माण तथा मर्मत गर्ने निकाय, यातायात व्यवसायी, चालक, यात्रु र स्वास्थ्य सेवाबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रहरीको भनाइ छ । सडक दुर्घटनालाई सामान्य घटना ठानेर बेवास्ता गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन कठिन हुने उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार