डा. डक्टप्रसाद धिताल
नेपालगन्जको विकासबारे गम्भीर बहस गर्दा हामीले सबैभन्दा पहिले एउटा आधारभूत प्रश्नको उत्तर खोज्नुपर्छ, हामी कस्तो नेपालगन्ज बनाउन चाहन्छौँ ? सडक, नाला, भवन र भौतिक संरचना थपिँदै गएको सहर, कि नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने, बर्सात्मा डुबानको त्रासबाट मुक्त हुने, युवाले आफ्नै सहरमा सम्मानजनक रोजगारी पाउने, महिलाले आर्थिक रूपमा आत्मनिर्भर बन्ने, सार्वजनिक सेवा लिन घण्टौँ धाउन नपर्ने र नगरपालिकाले गर्ने प्रत्येक निर्णयप्रति नागरिकले विश्वास गर्न सक्ने सहर ? विकासको वास्तविक अर्थ दोस्रो विकल्पसँग जोडिएको छ । भौतिक संरचना विकासका आवश्यक आधार हुन्, तर तिनले मात्रै समृद्धि सुनिश्चित गर्दैनन् । समृद्धि त्यतिबेला सार्थक हुन्छ, जब विकासको प्रत्यक्ष अनुभूति सामान्य नागरिकको जीवनमा देखिन्छ, जब आर्थिक अवसर केही सीमित व्यक्तिमा मात्र केन्द्रित नभई समाजका विभिन्न वर्गसम्म पुग्छ, जब सार्वजनिक स्रोतको उपयोगले सामूहिक हितलाई प्राथमिकता दिन्छ र जब सहरको भविष्य आजको अव्यवस्थाभन्दा स्पष्ट, व्यवस्थित तथा दिगो योजनामा आधारित हुन्छ । नेपालगन्जको विकासलाई नयाँ दिशामा लैजान तीनवटा आधारभूत कामलाई प्राथमिकतामा राख्न सकिन्छ । पहिलो, डुबान र फोहोरको समस्या घटाएर सहरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने । दोस्रो, युवा तथा महिलालाई बजारको मागअनुसारको सीप, रोजगारी, उद्यमशीलता र नियमित आम्दानीसँग जोड्ने । तेस्रो, नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, छिटो, सहज र जवाफदेही बनाउने । यी तीनवटा काम आफैँमा महत्वपूर्ण छन्, तर तिनको दिगो सफलता सुनिश्चित गर्न नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडालाई समेट्ने एकीकृत गुरुयोजना आवश्यक हुन्छ । गुरुयोजनाबिना पूर्वाधार निर्माण छरपस्ट हुन सक्छ, बजेटको प्राथमिकता बारम्बार बदलिन सक्छ, एउटा क्षेत्रमा गरिएको सुधारले अर्को क्षेत्रमा समस्या सिर्जना गर्न सक्छ र दीर्घकालीन आवश्यकताभन्दा तत्कालीन दबाबका आधारमा विकास आयोजना छनोट हुने जोखिम रहन्छ । त्यसैले नेपालगन्जको विकासलाई अलग–अलग परियोजनाको सूचीबाट निकालेर स्पष्ट लक्ष्य, तथ्यमा आधारित निर्णय, जिम्मेवारीको निर्धारण र मापनयोग्य परिणाममा आधारित साझा अभियानमा रूपान्तरण गर्नुपर्छ ।
१. इतिहासको गौरव र आधुनिक सहर निर्माणको आवश्यकता
नेपालगन्जको पहिचानलाई बुझ्न यसको भौगोलिक अवस्थालाई मात्र हेरेर पुग्दैन । यो सहर लामो समयदेखि व्यापार, आवागमन, सामाजिक सम्बन्ध र सांस्कृतिक अन्तरक्रियाको केन्द्रका रूपमा विकसित हुँदै आएको छ । भारतको सीमावर्ती बजारसँगको निकटता, पश्चिम नेपालका विभिन्न जिल्लाबाट हुने आवागमन र स्वास्थ्य, शिक्षा तथा प्रशासनिक सेवाको उपलब्धताले नेपालगन्जलाई क्षेत्रीय महत्व प्रदान गरेका छन् । यसको ऐतिहासिक विकाससँगै विभिन्न समुदाय, भाषा, धर्म र संस्कृतिका मानिसले यहाँ आफ्नो जीवन, व्यवसाय र सामाजिक सम्बन्ध निर्माण गरेका छन् । यही विविधता नेपालगन्जको विशिष्ट पहिचान हो । कुनै सहरको वास्तविक शक्ति त्यहाँ बनेका भवन र सडकमा मात्र हुँदैन । त्यहाँका मानिसबीचको विश्वास, सहकार्य, सामाजिक सद्भाव र साझा भविष्यप्रतिको प्रतिबद्धतामा पनि हुन्छ । नेपालगन्ज उपमहानगरपालिकाको डिजिटल प्रोफाइलमा राष्ट्रिय जनगणना २०७८ का आधारमा नगरको जनसङ्ख्या एक लाख ६४ हजार ४ सय ४४ र घरधुरी सङ्ख्या ३४ हजार ५ सय ६५ उल्लेख गरिएको छ । सोही स्रोतले साक्षरता दर करिब ७६.२ प्रतिशत देखाएको छ । यी तथ्यांकले नगरको विकास योजना बनाउँदा जनसङ्ख्या, घरधुरी, शिक्षा, पूर्वाधार र सेवाको मागलाई व्यवस्थित रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखाउँछन् । जनसङ्ख्याको आकार र वितरणले खानेपानी, फोहोर व्यवस्थापन, सडक, स्वास्थ्य, शिक्षा तथा रोजगारीमा पर्ने दबाब बुझ्न मद्दत गर्छ । तर यी तथ्यांकलाई वर्तमान अवस्थाको पूर्ण चित्र मान्नु हुँदैन । नयाँ आवासीय क्षेत्र, बसाइँसराइ, व्यवसायको विस्तार र जनसङ्ख्याको बदलिँदो स्वरूप बुझ्न अद्यावधिक स्थानीय अध्ययन आवश्यक हुन्छ ।
२. डुबान र फोहोर ः सहरी जीवनको गुणस्तरसँग जोडिएको साझा चुनौती
नेपालगन्जको समृद्धिको पहिलो आधार नागरिकले सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न पाउनु हो । वर्षायाममा पानी जम्ने, सडक तथा बस्तीमा आवागमन कठिन हुने, नाला अवरुद्ध हुने र फोहोरको उचित व्यवस्थापन नहुँदा जनस्वास्थ्य तथा दैनिक जीवनमा समस्या उत्पन्न हुने अवस्था कुनै पनि सहरका लागि गम्भीर चुनौती हो । डुबानले घरधुरी र व्यवसायलाई आर्थिक क्षति पु¥याउन सक्छ, विद्यार्थीको विद्यालय आवागमनमा बाधा पार्न सक्छ, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन बनाउन सक्छ र दैनिक व्यापारिक गतिविधिलाई प्रभावित गर्न सक्छ । त्यसैले डुबान नियन्त्रणलाई निर्माण शाखाको प्राविधिक विषयका रूपमा मात्र होइन, नगरको आर्थिक सुरक्षा, जनस्वास्थ्य र नागरिकको जीवनस्तरसँग सम्बन्धित प्राथमिकताका रूपमा लिनुपर्छ । डुबानको समस्या समाधान गर्न नगरपालिकाले सबैभन्दा पहिले नगरको जलनिकाससम्बन्धी वास्तविक अवस्था बुझ्नुपर्छ । कुन स्थानमा पानी जम्छ भन्ने जानकारी महत्वपूर्ण भए पनि त्यति मात्र पर्याप्त हुँदैन । पानी कहाँबाट आउँछ, कुन दिशामा बग्छ, कुन नाला वा कल्भर्टमा अवरोध हुन्छ, प्राकृतिक निकासको अवस्था कस्तो छ र अन्तिम निकास बिन्दुले पानी धान्न सक्छ कि सक्दैन भन्ने कुरा प्राविधिक रूपमा अध्ययन गर्नुपर्छ । कुनै एउटा बस्तीमा नाला निर्माण गर्दा पानी अर्को बस्तीमा जम्मा हुने अवस्था सिर्जना भयो भने त्यसलाई समस्या समाधान भन्न मिल्दैन । त्यसैले जलनिकासको अध्ययन वडा सीमाभन्दा बाहिर गएर सम्पूर्ण नगरको भौगोलिक बनावट र पानीको प्राकृतिक बहावका आधारमा गर्नुपर्छ । यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध नक्सा, सडक तथा नाला अभिलेख, विगतका डुबानका विवरण र स्थानीय बासिन्दाको अनुभवलाई एकीकृत गरी डिजिटल जलनिकास नक्सा तयार गर्न सक्छ । आवश्यक स्थानमा भौगोलिक सूचना प्रणाली, उचाइसम्बन्धी तथ्यांक र प्राविधिक सर्वेक्षणको उपयोग गर्नुपर्छ । बस्तीको विस्तार, सडकको उचाइ, निर्माण भएका संरचना र प्राकृतिक पानीको बहावबीचको सम्बन्ध अध्ययन नगरी नाला थप्ने वा सडकको सतह परिवर्तन गर्ने निर्णय गर्नु उपयुक्त हुँदैन । नाला निर्माण गर्दा त्यसको चौडाइ र गहिराइ मात्र होइन, पानीको बहाव, सरसफाइको पहुँच, संरचनाको गुणस्तर र अन्तिम निकासको क्षमता पनि विचार गर्नुपर्छ ।
३. युवा शक्तिलाई बेरोजगारीको चिन्ताबाट आर्थिक समृद्धिको आधारमा रूपान्तरण
नेपालगन्जको भविष्य निर्धारण गर्ने अर्को महत्वपूर्ण पक्ष यहाँका युवा तथा महिलाको आर्थिक अवस्था हो । कुनै सहरको जनसङ्ख्यामा युवा हुनु आफैँमा लाभ होइन । युवाको ज्ञान, सीप, सिर्जनशीलता र श्रमलाई उत्पादन तथा सेवामा उपयोग गर्न सकियो भने मात्र त्यो जनसांख्यिक अवसर बन्छ । शिक्षा पूरा गरेपछि काम नपाउने, सीप भए पनि बजारमा प्रवेश गर्न नसक्ने, व्यवसाय सुरु गर्न चाहेर पनि पूँजी र परामर्श नपाउने तथा रोजगारीका लागि आफ्नो सहर छाड्नुपर्ने अवस्था रह्यो भने युवाको क्षमता स्थानीय अर्थतन्त्रमा उपयोग हुन सक्दैन । त्यसैले नेपालगन्जको आर्थिक विकासलाई युवा रोजगारी र उद्यमशीलतासँग जोड्नु अपरिहार्य छ । नेपालगन्जको व्यापारिक पहिचानले यसका लागि मत्वपूर्ण आधार प्रदान गर्छ । बजार, होटल तथा आतिथ्य सेवा, यातायात, निर्माण, शिक्षा, स्वास्थ्य, डिजिटल सेवा, कृषि उपजको व्यापार र सीमावर्ती आर्थिक गतिविधिसँग सम्बन्धित क्षेत्रमा विभिन्न प्रकारका रोजगारी सिर्जना हुन सक्छन् । तर सम्भावित क्षेत्रको सूची तयार गर्नु मात्र पर्याप्त हुँदैन । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ, रोजगारदाताले कस्ता सीप खोजिरहेका छन्, स्थानीय उत्पादनको बजार कहाँ छ, व्यवसाय सञ्चालनका लागि कस्ता अनुमति आवश्यक छन् र नयाँ प्रविधिले रोजगारीको प्रकृतिमा कस्तो परिवर्तन ल्याइरहेको छ भन्ने विषयमा व्यवस्थित अध्ययन आवश्यक हुन्छ । युवा तथा महिलालाई सीप र आम्दानीसँग जोड्ने कार्यक्रमको दीर्घकालीन लक्ष्य आर्थिक निर्भरता घटाउनु, स्थानीय उत्पादन तथा सेवाको क्षमता बढाउनु र सम्मानजनक रोजगारीको वातावरण निर्माण गर्नु हो । यसको सफलता मापन गर्न तालिम पूरा गर्ने व्यक्तिको सङ्ख्या मात्र होइन, रोजगार प्राप्त गर्ने, व्यवसाय सञ्चालन गर्ने, व्यवसाय टिकाइराख्ने र नियमित आम्दानी गर्न सफल हुने व्यक्तिको विवरण संकलन गर्नुपर्छ । महिला र सामाजिक रूपमा वञ्चित समूहको परिणाम अलग–अलग विश्लेषण गर्नुपर्छ । यसरी मात्र नेपालगन्जले सीप विकासलाई वास्तविक आर्थिक रूपान्तरणको माध्यम बनाउन सक्छ ।
४. सुशासन ः नागरिकको विश्वासबाट सुरु हुने विकास
सहरको विकासमा बजेट, जनशक्ति र पूर्वाधार महत्वपूर्ण हुन्छन्, तर यी स्रोतको उपयोग गर्ने संस्थागत क्षमता कमजोर भयो भने अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुन्छ । नागरिकले सेवा लिन अनावश्यक समय खर्च गर्नुपर्ने, प्रक्रिया बुझ्न नसक्ने, एउटै कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने वा आफ्नो गुनासोको सुनुवाइ नभएको अनुभव गर्नुप¥यो भने सरकारप्रतिको विश्वास कमजोर हुन सक्छ । त्यसैले नेपालगन्जको विकासमा सुशासनलाई छुट्टै प्रशासनिक विषयका रूपमा होइन, प्रत्येक विकास कार्यक्रमको प्रभावकारिता निर्धारण गर्ने आधारका रूपमा लिनुपर्छ । नेपालगन्ज उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा बजेट, नीति तथा कार्यक्रम र अन्य सार्वजनिक विवरण राख्ने व्यवस्था छ । आर्थिक वर्ष २०८३–०८४ को नीति, कार्यक्रम तथा बजेट वक्तव्य र अघिल्ला वर्षका बजेटसम्बन्धी सामग्री पनि नगरपालिकाको वेबसाइटमा उपलब्ध छन् । यो सार्वजनिक सूचना प्रणालीलाई नागरिकले सजिलै बुझ्न सक्ने, नियमित रूपमा अद्यावधिक हुने र बजेटदेखि आयोजनाको नतिजासम्म जानकारी दिने माध्यमका रूपमा विकास गर्न सकिन्छ । सूचना वेबसाइटमा राख्नु पहिलो चरण हो । नागरिकले त्यसलाई खोज्न, बुझ्न र प्रयोग गर्न सक्ने बनाउनु दोस्रो चरण हो ।
डिजिटल सेवा विस्तारले नागरिकको समय र खर्च घटाउन सक्छ । अनलाइन आवेदन, कागजात बुझाउने सुविधा, शुल्क भुक्तानी, आवेदनको अवस्था हेर्ने प्रणाली र प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियालाई क्रमशः डिजिटल बनाउन सकिन्छ । तर डिजिटल सेवा सबै नागरिकका लागि समान रूपमा सहज हुँदैन । प्रविधि प्रयोग गर्न नसक्ने, इन्टरनेटको पहुँच नभएका वा डिजिटल साक्षरता कमजोर भएका नागरिकलाई वडा कार्यालयबाट सहायता उपलब्ध गराउनुपर्छ । त्यसैले नेपालगन्जले डिजिटल नगरपालिका निर्माण गर्दा प्रविधि र मानवीय सेवाबीच सन्तुलन कायम गर्नुपर्छ । पारदर्शिताको अर्थ सार्वजनिक संस्थाका सबै कामलाई प्रचारको माध्यम बनाउनु पनि होइन । वास्तविक पारदर्शिता भनेको नागरिकले निर्णयको आधार, सार्वजनिक स्रोतको उपयोग र परिणामबारे भरपर्दो जानकारी प्राप्त गर्नु हो । त्यसैले नेपालगन्जले प्रचारमुखी प्रशासनभन्दा अभिलेखमा आधारित, मापनयोग्य र जवाफदेही प्रशासनिक संस्कृति विकास गर्नुपर्छ । जब नागरिकले सेवा पाउन व्यक्तिगत चिनजानमा निर्भर हुनुपर्दैन, सार्वजनिक खर्चको विवरण सहजै प्राप्त गर्न सक्छन् र गुनासोको उचित सुनुवाइ हुन्छ, तब नगरपालिकाप्रतिको विश्वास बलियो बन्न सक्छ ।
५. २३ वटै वडालाई एउटै विकास दृष्टिकोणमा जोड्ने गुरुयोजना
नेपालगन्जको समग्र विकासमा दीर्घकालीन गुरुयोजनाको आवश्यकता सबैभन्दा महत्वपूर्ण विषयमध्ये एक हो । गुरुयोजना भन्नाले सडकको नक्सा, भवनको स्थान वा नाला निर्माणको सूची मात्र बुझ्नु हुँदैन । यसले सहरको भविष्यमा कस्तो आवासीय क्षेत्र विकास गर्ने, व्यापारिक गतिविधि कहाँ व्यवस्थित गर्ने, सार्वजनिक जग्गा कसरी संरक्षण गर्ने, विद्यालय तथा स्वास्थ्य संस्था कहाँ आवश्यक छन्, पानीको निकास कसरी सुनिश्चित गर्ने, यातायातको दबाब कसरी व्यवस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने आर्थिक क्षेत्रलाई कसरी विस्तार गर्ने भन्ने प्रश्नको समग्र उत्तर दिनुपर्छ । २३ वटै वडाको विकास आवश्यकता समान हुँदैन । कुनै वडामा सडक तथा नाला प्राथमिक आवश्यकता हुन सक्छ, कुनैमा बजार व्यवस्थापन, कुनैमा सार्वजनिक सेवा पहुँच, कुनैमा आवासीय विस्तार र कुनैमा आर्थिक अवसरको कमी महत्वपूर्ण हुन सक्छ । त्यसैले सबै वडामा एउटै प्रकारका आयोजना लागू गर्नु न्यायोचित विकासको सही उपाय होइन । प्रत्येक वडाको वास्तविक आवश्यकता पहिचान गरेर त्यसलाई नगरको समग्र विकास लक्ष्यसँग जोड्नुपर्छ । सार्वजनिक जग्गाको संरक्षण पनि गुरुयोजनाको महत्वपूर्ण पक्ष हो । सार्वजनिक जग्गा भविष्यका पार्क, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय, खेलमैदान, विपद् व्यवस्थापन वा अन्य सामुदायिक आवश्यकताका लागि उपयोगी हुन सक्छ । त्यसैले सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरी कानुनी अवस्थाको समीक्षा गर्नुपर्छ ।
६. सन्तुलित वडा विकास र न्यायोचित बजेट वितरण
स्थानीय सरकारको सफलताको एउटा प्रमुख परीक्षण सबै वडाका नागरिकले विकासमा आफ्नो सहभागिता र लाभ अनुभव गर्न पाएका छन् कि छैनन् भन्ने हो । वडा विकासमा सन्तुलन कायम गर्नु भनेको प्रत्येक वडालाई बराबर रकम बाँड्नु मात्र होइन । वास्तविक आवश्यकता, जनसङ्ख्या, पूर्वाधारको अवस्था, जोखिम, गरिबी, सेवामा पहुँच र आयोजनाबाट हुने लाभलाई आधार बनाएर स्रोत वितरण गर्नु न्यायोचित हुन्छ । एउटै रकम सबै वडामा खर्च गर्दा कतिपय ठाउँमा आवश्यकताभन्दा बढी खर्च हुन सक्छ भने कतिपय क्षेत्रमा अत्यावश्यक सेवा अधुरो रहन सक्छ । नेपालगन्जले वडास्तरको बजेट निर्धारण गर्दा स्पष्ट मापदण्ड अपनाउनुपर्छ । त्यसमा आधारभूत पूर्वाधारको कमी, डुबान तथा अन्य जोखिम, जनसङ्ख्या, सार्वजनिक सेवा पहुँच, आर्थिक अवसर र सामाजिक वञ्चितीकरणको अवस्था समावेश गर्न सकिन्छ । यसरी तय गरिएको मापदण्ड सार्वजनिक हुँदा नागरिकले बजेट वितरणको आधार बुझ्न सक्छन् । कुनै वडाको प्रस्ताव तत्काल कार्यान्वयनमा नपरेमा त्यसको कारण र भविष्यमा समावेश गर्ने सम्भावित समयसीमाबारे जानकारी दिनु पनि महत्वपूर्ण हुन्छ । प्रत्येक वडाले पाँचवर्षे विकासपत्र तयार गर्न सक्छ । यस्तो विकासपत्रमा वडाको वर्तमान अवस्था, मुख्य समस्या, प्राथमिक विकास आयोजना, वार्षिक लक्ष्य र उपलब्धि मापन गर्ने सूचक समावेश हुनुपर्छ । वडाको योजना नगरपालिकाको गुरुयोजनासँग मेल खानुपर्छ । स्थानीयस्तरमा समाधान गर्न सकिने समस्या वडाबाटै सम्बोधन गर्ने र धेरै वडालाई असर गर्ने विषय उपमहानगरपालिकाको समन्वयमा अघि बढाउने व्यवस्था हुनुपर्छ ।
७. शिक्षा, स्वास्थ्य र मानवीय विकासको आधार
नेपालगन्जलाई समृद्ध बनाउने अभियान भौतिक पूर्वाधारमा मात्र केन्द्रित हुनु हुँदैन । स्वस्थ, शिक्षित र सीपयुक्त नागरिक कुनै पनि सहरको दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको आधार हुन् । विद्यालयको गुणस्तर कमजोर छ, आधारभूत स्वास्थ्य सेवामा पहुँच सीमित छ वा युवाले उपयोगी सीप प्राप्त गर्न सकेका छैनन् भने सहरको आर्थिक सम्भावना पूर्ण रूपमा उपयोग हुन सक्दैन । त्यसैले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई गुरुयोजनाको अभिन्न अंग बनाउनुपर्छ । मानवीय विकासमा सामाजिक समावेशिता पनि महत्वपूर्ण छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न परिवार र सेवा पहुँचमा कठिनाइ भोगिरहेका समुदायका लागि सार्वजनिक सेवा सहज बनाउनुपर्छ । फुटपाथ, सार्वजनिक भवन, शौचालय, पार्क र सेवा केन्द्रलाई सबैले उपयोग गर्न सक्ने गरी डिजाइन गर्नु आवश्यक हुन्छ । समावेशी विकास भनेको सबैलाई एउटै सुविधा उपलब्ध गराउनु मात्र होइन; आवश्यकताअनुसार सेवा प्राप्त गर्न सक्ने वास्तविक अवसर सुनिश्चित गर्नु हो ।
८. व्यापारिक पहिचानबाट आधुनिक आर्थिक केन्द्रतर्फ
नेपालगन्जको ऐतिहासिक व्यापारिक भूमिकालाई नयाँ आर्थिक सम्भावनासँग जोड्न सकिन्छ । व्यापारिक गतिविधिले सहरमा पूँजी, रोजगारी र सेवाको माग सिर्जना गर्छ । तर व्यापारको विस्तारले मात्रै स्थानीय समृद्धि सुनिश्चित गर्दैन । स्थानीय उत्पादन, सेवा क्षेत्र, दक्ष जनशक्ति, व्यवस्थित बजार र उद्यमशीलताको विकाससँग व्यापार जोडिनुपर्छ । नेपालगन्जले आफ्नो भौगोलिक अवस्थालाई आर्थिक लाभमा बदल्न स्थानीय व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र बजार व्यवस्थापन सुधार्ने रणनीति अपनाउन सक्छ । नेपालगन्जको आर्थिक रूपान्तरणको अन्तिम उद्देश्य स्थानीय नागरिकले आफ्नो सहरमा अवसर पाउनु हो । व्यापारको विस्तारले स्थानीय रोजगारी सिर्जना गर्नुपर्छ, स्थानीय उत्पादनले बजार पाउनुपर्छ र नयाँ व्यवसाय सुरु गर्न चाहने युवाले उपयुक्त वातावरण प्राप्त गर्नुपर्छ । यसका लागि नगरपालिकाले नियमन, पूर्वाधार, सूचना र सहकार्यको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ ।
९. यातायात, सडक सुरक्षा र व्यवस्थित सहरी आवागमन
नेपालगन्जको विकासमा यातायात व्यवस्थापनलाई दीर्घकालीन सहरी योजनासँग जोड्नुपर्छ । सडकको चौडाइ बढाउनु वा कालोपत्रे गर्नु मात्रै यातायात व्यवस्थापन होइन । पैदलयात्रीले सुरक्षित रूपमा हिँड्न पाउने, विद्यालय जाने बालबालिकालाई सडक पार गर्न सहज हुने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले सार्वजनिक स्थान प्रयोग गर्न सक्ने तथा व्यवसायिक क्षेत्रमा सामान ढुवानी गर्दा आवागमन अवरुद्ध नहुने अवस्था निर्माण गर्नु आधुनिक सहरको विशेषता हो । नेपालगन्जको व्यापारिक गतिविधि र जनआवागमनलाई ध्यानमा राखेर यातायातको वास्तविक माग अध्ययन गर्नुपर्छ । सहरको यातायात नीति निजी सवारीको सुविधा मात्र केन्द्रित हुनु हुँदैन । सुरक्षित पैदलमार्ग, सम्भव भएका स्थानमा साइकलमैत्री संरचना र भरपर्दो सार्वजनिक यातायातले सडकको उपयोगलाई थप समावेशी बनाउन सक्छन् । यसले विद्यार्थी, श्रमिक, ज्येष्ठ नागरिक र निजी सवारी नभएका परिवारलाई प्रत्यक्ष लाभ पु¥याउन सक्छ । सडक सुरक्षालाई विकासको अनिवार्य मापदण्ड बनाउँदै दुर्घटनाको जोखिम घटाउने र सबै नागरिकलाई सहज आवागमन उपलब्ध गराउने लक्ष्य लिनुपर्छ ।
१०. वातावरण संरक्षण र जलवायु अनुकूल नेपालगन्ज
नेपालगन्जको दीर्घकालीन समृद्धि वातावरणीय गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित छ । सहरी विस्तारसँगै खुला स्थान घट्ने, निर्माणका कारण पानीको प्राकृतिक बहाव प्रभावित हुने, फोहोरको दबाब बढ्ने र गर्मीको अनुभव तीव्र हुने सम्भावनालाई विकास योजनामा ध्यान दिनुपर्छ । वातावरण संरक्षणलाई विकासको विरोधी विषयका रूपमा बुझ्नु गलत हुन्छ । स्वच्छ वातावरण, सुरक्षित पानी निकास र सार्वजनिक हरियालीले नागरिकको जीवनस्तर सुधार गर्नुका साथै सहरलाई दीर्घकालीन रूपमा बस्नयोग्य बनाउँछन् । वर्षाको पानी संकलन, उपयुक्त खुला क्षेत्र, भवनको ऊर्जा दक्षता र पानीको बहावमा अवरोध नगर्ने निर्माण अभ्यासलाई स्थानीय अवस्थाअनुसार प्रोत्साहन गर्न सकिन्छ । वातावरणीय मापदण्ड कार्यान्वयन गर्दा नागरिकलाई आवश्यक जानकारी र प्राविधिक परामर्श उपलब्ध गराउनु पनि महत्वपूर्ण हुन्छ । नयाँ विकास आयोजनाको छनोट गर्दा निर्माण लागत मात्र होइन, त्यसको दीर्घकालीन वातावरणीय प्रभाव, सञ्चालन खर्च र सम्भावित जोखिमलाई समेत विचार गर्नुपर्छ ।
११. वित्तीय अनुशासन र विकास आयोजनाको प्राथमिकता
नेपालगन्जको विकासका लागि वित्तीय स्रोत आवश्यक छ, तर स्रोतको उपलब्धता मात्र पर्याप्त हुँदैन । उपलब्ध बजेटलाई प्राथमिकताका आधारमा खर्च गर्ने, आयोजना सम्पन्न भएपछि त्यसको सञ्चालन तथा मर्मत गर्ने र सार्वजनिक लगानीबाट प्राप्त हुने लाभ मूल्यांकन गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने स्रोत, अन्य वैधानिक अनुदान, खर्चको संरचना र भविष्यका दायित्वको नियमित समीक्षा गर्नुपर्छ । स्थानीय राजस्व सुधार गर्दा कर तथा शुल्कसम्बन्धी कानुनी व्यवस्था, करदाताको क्षमता र सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिनुपर्छ । व्यवसाय दर्ता, सम्पत्ति तथा व्यवसायसम्बन्धी अभिलेखको अद्यावधिक, कर तिर्ने प्रक्रियाको सरलीकरण र राजस्व चुहावट नियन्त्रणले आन्तरिक स्रोत व्यवस्थापनलाई सुदृढ बनाउन सक्छ । करदाताले तिरेको रकमबाट कुन प्रकारका सार्वजनिक सेवा र पूर्वाधारमा सुधार भइरहेको छ भन्ने जानकारी सार्वजनिक हुँदा करप्रतिको विश्वास बढ्न सक्छ ।
१२. कार्यान्वयन, अनुगमन र उत्तरदायित्वको संस्कृति
नेपालगन्जको विकास दृष्टिकोणलाई व्यवहारमा उतार्न स्पष्ट कार्यान्वयन प्रणाली आवश्यक छ । योजना निर्माण, बजेट विनियोजन, आयोजना सञ्चालन, अनुगमन र मूल्यांकनलाई अलग–अलग प्रक्रिया बनाइयो भने उपलब्धि मापन गर्न कठिन हुन्छ । प्रत्येक प्राथमिक कार्यक्रमका लागि प्रारम्भिक अवस्था, वार्षिक लक्ष्य, जिम्मेवार निकाय, आवश्यक बजेट र नतिजा मापन गर्ने सूचक निर्धारण गर्नुपर्छ ।
नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक विकास समीक्षा कार्यक्रम सञ्चालन गर्न सक्छ । त्यसमा बजेट कार्यान्वयन, आयोजना सम्पन्नता, डुबान नियन्त्रण, सरसफाइ, रोजगारी, महिला उद्यम, नागरिक सेवा र वातावरणीय सुधारको विवरण प्रस्तुत गर्नुपर्छ । नागरिकबाट प्राप्त सुझाव र गुनासोका आधारमा अर्को वर्षको प्राथमिकता निर्धारण गर्न सकिन्छ । यसरी सार्वजनिक समीक्षा विकासको नियमित संस्थागत अभ्यास बन्न सक्छ ।
निष्कर्ष ः नेपालगन्जको समृद्धि साझा सङ्कल्पबाट सम्भव छ
नेपालगन्जको भविष्यबारे सोच्दा हामीले समस्याको सूचीभन्दा समाधानको स्पष्ट मार्गचित्रमा ध्यान दिनुपर्छ । डुबान र फोहोर नियन्त्रण गर्ने कामले स्वच्छ, सुरक्षित र व्यवस्थित सहरको आधार तयार गर्छ । युवा तथा महिलालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने कामले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ । नगरपालिकाको सेवा प्रवाह पारदर्शी, छिटो र जवाफदेही बनाउने कामले नागरिकको विश्वास बढाउँछ । यी सबै प्रयासलाई २३ वटै वडाको आवश्यकताअनुसार तयार गरिएको एकीकृत गुरुयोजनासँग जोड्दा मात्र नेपालगन्जको विकासले दीर्घकालीन दिशा प्राप्त गर्न सक्छ । समृद्ध नेपालगन्ज, खुसी नेपालगन्जिया, यो केवल नारा होइन, नागरिकको जीवनस्तर सुधार्ने, अवसरको न्यायोचित वितरण गर्ने र सार्वजनिक संस्थाप्रति विश्वास निर्माण गर्ने साझा विकास दर्शन हो ।









प्रतिक्रिया दिनुहोस्