बझाङ ।
बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा (सरकारी स्कुलहरूमा) अहिले स्थानीय स्तरमा उत्पादन भएको ताजा र पोषिलो तरकारी तथा दाल पुग्ने गरेको छ । नजिकै बजार नपाएर समस्या खेप्दै आएका ग्रामीण बस्तीका साना किसानहरू अहिले मासिक रूपमा दश हजारभन्दा माथि आम्दानी गर्ने गरेका छन् ।
केही वर्ष पहिला घर तथा छोरा छोरीको पढाइ खर्चको जोहो गर्नका लागि भारतका शहरहरूमा मजदुरी गर्दै आएका साना किसानहरूले अहिले आआफ्नो करेसाबारीबाट उत्पादन भएका हरियो तरकारी र दाल सामुदायिक विद्यालयहरूमा बिक्री गर्न पाएका छन् । वर्षौँ पहिलादेखि विश्व खाद्यको सहयोगमा जिल्लाका सबै सामुदायीक विद्यालयहरूमा दिवा खाजा खुवाउँदै आएका थिए ।
विद्यालयले यसअघि बाहिर जिल्लाबाट नै सम्पूर्ण सामाग्री खरिद गरेर विद्यालयहरूमा दिवा खाजा पु¥याउने गरेका थिए । तर पछिल्लो समयमा भने उक्त दिवा खाजा कार्याक्रकलाई स्थानीय उत्पादनमा जोडेको छ । उक्त दिवा खाजालाई स्थानीय उत्पादनमा जोडेसँगै यसको प्रत्यक्ष फाइदा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई मात्रै नभएर सोही गाउँठाउँका किसानहरूलाई पनि फाइदा पुगेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ ।
जनप्रिय माविका प्रधानाध्यापक पदम खड्काले यस कार्यक्रमले किसानलाई ठूलो सहयोग पुगेको बताए । उनले भने, ‘पहिला दिवा खाजा सबै तयारी भएर विद्यालयमा नै पुग्ने गरेको थियो । तर अहिले उक्त मोडल परिवर्तन भएर स्थानीय उत्पादनसँग दिवा खाजालाई जोडेका कारण यसको लाभ साना किसानहरूलाई भएको छ ।’ जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा नजिकका साना किसानहरूले दैनिक रूपमा हरियो तरकारी, दालसमेत विद्यालयलाई बिक्री गरेर धेरै जस्तो किसानको मुख्य आम्दानीको स्रोत यो कार्यक्रम बनेको बताए ।
यस कार्यक्रमको लाभमा धेरै किसानहरू रहेका छन् । भारतका शहरमा पुगेर मजदुरी गरी जीविका चलाउँदै आएका धेरैजसो किसानहरूले अहिले भारत जान समेत छोडेका छन् । यसको बलियो उदाहरण थलारा गाउँपालिका वडा नम्बर ७ का मानबहादुर चलाउने हुन् । उनले आफ्नो जीवनकालको आधा जोवन भारतका विभिन्न शहरमा मजदुरी गरेर जीविका चलाउँदै आएका थिए । तर अहिले उनले भारत जान छोडेको २ वर्ष पुग्यो । आफूसँग धेरै जमिन नभएपनि अर्काको जमिन केही समयका लागि भाडामा लिएर भएपनि अहिले तरकारी व्यवसाय गर्दै आएको उनी बताउँछन् ।
उनले भने, ‘घरमा आयस्रोतको माध्यम केही पनि नभएका कारण लामो समय भारतमा बिताएको हुँ । पहिला तरकारी आफूलाई खाान मात्रै लगाउने गरेका थियौँ । तरकारी उत्पादन गरेपनि नजिक बजार थिएन । भने जस्तो मूल्य पनि नपाइने भएका कारण यसप्रति चासो पनि थिएन । जब आफ्नो करेसाबारीमा उत्पादन गरेका तरकारीहरू नजिकै रहेका सामुदायिक विद्यालयहरूमा बिक्री हुन थाल्यो । यसले आफूजस्ता न्यून आयस्रोत भएकाहरूका लागि ठूलो फाइदा हुनुका साथै आयस्रोतको मुख्य माध्यम बनेको छ ।’
उनले अहिले मासिक रूपमा १२ हजार रूपैयाँँ आम्दानी गर्ने गरेको बताए । २ छोरा १ छोरीसहित ५ जनाको परिवार रहेको उनको छोरीको पढाइ खर्च र घरायसी खर्चको जोहो यसै व्यवसायले हुने गरेको बताए । अहिले तरकारी व्यवसायमा एमपिडिएस बझाङ र थलारा गाउँपालिकाले समेत बेला बेला सहयोग गरेको बताए । उनले अहिले गाउँघर नजिकै रहेका डाँडा बाघ आधारभूत विद्यालय, भवानी मावि र शैलेश्वरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहका लागि आफ्नो करेसाबारीमा उत्पादन गरेको हरियो तरकारी बिक्री गर्दै आएका छन् । उनले आफूजस्ता साना किसानहरूका लागि यस कार्यक्रमले निकै ठूलो सहयोग पु¥याएको बताए ।
‘विश्व खाद्य कार्यक्रम’ अन्तर्गत साना किसानले स्थानीय रूपमा उत्पादन गरिएका बालीहरूबाट स्वस्थ पौष्टिक आहार र ताजा खाजा उपलब्ध गराइने गरेको एमपिडिएस बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले बताए । उनले भने, ‘यो कार्यक्रमले विद्यालय उमेर समूहका बालबालिकाहरूको पोषणमा सुधार र साना कृषकहरूको आयस्तरमा समेत वृद्धी भएको छ ।’
यो कार्यक्रमले स्थानीय र विद्यालयलाई समेत जोड्ने काम गरेको छ । यो कार्यक्रम बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा लागु भएको छ । बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाहरूले दैनिक रूपमा प्रति विद्यार्थीलाई ४० ग्राम तरकारी, २० ग्राम दाल, ८० ग्राम चामल, १० ग्राम तेल र नुन २ ग्रामका दरले उपलब्ध गराउने गरेको जानकारी दिए । एक दिनमा तरकारी मात्रै साना किसानले २ हजार ४२ किलोग्राम विद्यालयलाई बिक्री गर्ने गरेको उपाध्यायले बताए ।
यस कार्यक्रमले विद्यालय स्वास्थ्य र पोषण सेवाहरूको उपलब्धता, पहुँच र प्रयोगलाई सबै लक्षित विद्यार्थीहरूसम्म पुग्ने क्षमता बढाउने र सुधार गर्ने, खाद्य स्वच्छतासहित पानी र सरसफाइ सेवाहरूको पहुँच र प्रयोगको माध्यमबाट स्वास्थ्य विद्यालय वातावरण सुधार गर्ने, शिक्षा र व्यवहार परिर्वतन सञ्चारमार्फत स्वस्थ व्यवहार र बानी सुधार गर्ने र प्रणाली र कार्यान्वयनलाई बलियो बनाउने कार्य गर्दै आएको बताए । साथै उनले विद्यालय स्वास्थ्य कार्यक्रमको समग्र लक्ष्य विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शारीरिक, शिक्षा, मानसिक, भावनात्मक विकास गर्ने तरीकाले काम गरिरहेको बताए । आफूहरूले पनि समय समयमा विद्यालयमा तरकारी पुगे नपुगेको बारेमा अध्ययन अवलोकन तथा अनुगमन गर्ने गरेको उपाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस्