अधिवक्ता वसन्त गौतम
बा–आमाको महत्त्व उहाँहरू संसारबाट बिदा भएपछि मात्र महसुस गर्नु मानवीय कमजोरी हो । जीवित छँदा उहाँहरूको स्नेहलाई स्वाभाविक ठान्ने, उहाँहरूका कुरा सुन्न समय नदिने वा आफ्नै व्यस्तताका कारण साथ दिन नसक्ने प्रवृत्ति पछि पश्चात्तापको कारण बन्न सक्छ । मानिससँग धन कमाउने, घर बनाउने र संसार घुम्ने अवसर हुन्छन्; तर गुमाइसकेका बा–आमासँग फेरि एकपटक कुरा गर्ने अवसर हुँदैन । त्यसैले बा–आमा जीवित हुनुहुन्छ भने उहाँहरूलाई समय दिनुहोस् । उहाँहरूको कुरा सुन्नुहोस्, स्वास्थ्य र आवश्यकताको ख्याल गर्नुहोस् तथा भावनाको सम्मान गर्नुहोस् । चाडपर्वमा मात्र होइन, सामान्य दिनमा पनि उहाँहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गर्नुहोस् । महँगा उपहारभन्दा सन्तानको साथ, आत्मीय बोली र सम्मानले उहाँहरूलाई बढी खुसी दिन सक्छ ।
नेपाली समाजमा दसैँ केवल एउटा चाड होइन, धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक एकता र सामाजिक सद्भावको जीवन्त उत्सव हो । धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग जोडिएको विजयादशमी असत्यमाथि सत्य, अधर्ममाथि धर्म र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो । घटस्थापनादेखि सुरु हुने नवरात्र, देवीको आराधना, फूलपाती, महाअष्टमी, महानवमी तथा विजयादशमीको टीका, जमरा र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वलाई विशिष्ट बनाएका छन् । दसैँको महत्त्व पूजाआजा र विधिविधानमा मात्र सीमित छैन । यसले टाढिएका परिवारलाई नजिक ल्याउने, ठूलाप्रति आदर र सानाप्रति स्नेह प्रकट गर्ने तथा पुर्खाबाट प्राप्त संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सन्देश दिन्छ । तर जीवनको यात्रामा बा–आमालाई गुमाइसकेपछि यही उल्लासमय पर्व विगतका सम्झनाले मन भिजाउने रिक्तताको अनुभूतिमा पनि परिणत हुँदो रहेछ । मेरा लागि दसैँ बाल्यकालको उमङ्ग, बा–आमाको निस्वार्थ माया र उहाँहरूको अनुपस्थितिले सिर्जना गरेको पीडाको सम्मिश्रण बनेको छ ।
बाल्यकालको दसैँ ः साना खुसीको ठूलो संसार
बाल्यकाल सम्झँदा दसैँको तस्बिर मनमा जीवन्त भएर आउँछ । दसैँ आउनुभन्दा धेरै दिनअघिदेखि नयाँ लुगा लगाउने, मिठोमसिनो खाने र साथीभाइसँग रमाउने उत्सुकता जाग्थ्यो । विद्यालय बिदा हुने प्रतीक्षा नै छुट्टै हुन्थ्यो । न पढाइको हतार, न गृहकार्यको चिन्ता, न जीवनका जटिल जिम्मेवारी । बालमनका लागि दसैँ भनेकै स्वतन्त्रता, रमाइलो र खुसीको संसार थियो ।
घरमा दसैँको तयारी सुरु भएपछि वातावरण नै बदलिन्थ्यो । घरआँगन सफा गरिन्थ्यो, लिपपोत हुन्थ्यो, लिङ्गे पिङ हाल्ने चटारो चल्थ्यो र नयाँ लुगा पाउने आशाले मनमा उमङ्ग भरिन्थ्यो । नयाँ लुगा हात पर्दा संसारकै ठूलो सम्पत्ति पाएजस्तो लाग्थ्यो । आजको जस्तो महँगा ब्रान्ड र फेसनको प्रतिस्पर्धा थिएन । सामान्य लुगाले पनि मनमा असाधारण खुसी दिन्थ्यो । परिवारसँगै बसेर चाड मनाउन पाउनु नै सम्पन्नताको अनुभूति थियो । दशैँका परिकारमध्ये आमाले बनाएका सेलरोटीको सम्झना विशेष छ । घरमा सेलरोटी पाक्न थालेपछि भान्साबाट आउने बास्नाले मन लोभ्याउँथ्यो । टपरीभरि सेलरोटी जम्मा गरेर राखिन्थ्यो । हामी बालबालिका त्यही टपरी वरिपरि झुम्मिन्थ्यौँ । एउटा खाइसकेपछि अर्को खाने रहर जाग्थ्यो । पेट भरिए पनि मन अघाउँदैनथ्यो । ती सेलरोटीमा चामलको पीठो र घिउको स्वाद मात्र थिएन; आमाको मिहिनेत, घरको आत्मीयता र बाल्यकालको निष्फिक्री खुसी मिसिएको थियो । आज बजारमा अनेकौँ परिकार पाइन्छन्, तर टपरीभरि सेलरोटी राखेर परिवारसँग बसेर खाएको त्यो स्वाद र आत्मीयता फेरि कहाँ पाउनु ! बा–आमासँगै मामाघर जाँदाको रमाइलो पनि अविस्मरणीय छ । मावली पुग्ने उत्सुकता, बाटोभरिका कुरा, आफन्तको स्वागत र त्यहाँ पाइने मायाले यात्रालाई नै उत्सव बनाउँथ्यो । आफन्तसँगको भेटघाट र बालबालिकाले पाउने स्नेहले मन भरिन्थ्यो । त्यतिबेला यात्राको दूरीभन्दा भेट्ने खुसी ठूलो हुन्थ्यो । आज यातायात र सञ्चारका साधनले दूरी घटाएका छन्, तर बाल्यकालको त्यो निष्कपट खुसी र आत्मीयताको सम्झना झन् मूल्यवान् बनेको छ ।
बा–आमासँगको दसैँ ः मूलघरको छुट्टै संसार
बा–आमा घरमा हुँदा दसैँको रौनक नै फरक हुन्थ्यो । काम, व्यवसाय र अध्ययनका कारण वर्षभरि आआफ्नै ठाउँमा व्यस्त रहने परिवारका सदस्य दसैँ नजिकिँदै जाँदा मूलघर फर्कने तयारी गर्थे । छोराछोरी, बुहारी, ज्वाइँ, नातिनातिना र आफन्तको आगमनले घरको आँगन भरिन्थ्यो । सुनसान कोठाहरूमा चहलपहल बढ्थ्यो, भान्सामा परिकार पाक्थे र परिवारका पुराना सम्झना फेरि जीवित हुन्थे । बा–आमा हुनुहुन्थ्यो भने सबैलाई जोड्ने साझा केन्द्र थियो—मूलघर । घरको मूलढोकामा पुगेर बाहिरैबाट ‘बा ! आमा !’ भनेर बोलाउँदाको अनुभूति आज पनि मनमा गुञ्जिरहन्छ । घरभित्रबाट आउने जवाफ, सन्तान आइपुगेको थाहा पाउँदा उहाँहरूमा जाग्ने उत्साह र ढोकातिर बढ्ने पाइला सम्झँदा मन भावुक हुन्छ । घरभित्र प्रवेश गर्दा आमाको आत्मीय बोली र बाको खुसीले स्वागत पाउनु आफैँमा ठूलो सुख थियो । त्यतिबेला घर पुग्दा बा–आमा हुनुहुन्छ, उहाँहरूले स्वागत गर्नुहुन्छ र सँगै दसैँ मनाउन पाइन्छ भन्ने कुरा स्वाभाविक लाग्थ्यो । तर जीवनमा सबैभन्दा अमूल्य लाग्ने कुरा पनि साथमा हुँदा सामान्यजस्तै लागिरहँदा रहेछन् । दसैँको तयारीमा बा–आमाको व्यस्तता कम हुँदैनथ्यो । कसका लागि के किन्ने, कसलाई कुन परिकार मन पर्छ, को कहिले आउँछ र पाहुनाको सत्कार कसरी गर्ने भन्ने कुरामा उहाँहरूको ध्यान रहन्थ्यो । आफूले खाइनखाइ, आफ्ना रहर थाती राखेर पनि छोराछोरीका लागि लत्ताकपडा र खानपानको व्यवस्था जुटाउनु उहाँहरूको स्वभाव थियो । हामी नयाँ लुगा लगाएर रमाउँथ्यौँ, मीठोमसिनो खाएर खुसी हुन्थ्यौँ, तर ती खुसी जुटाउन उहाँहरूले कति मिहिनेत गर्नुभयो भन्ने कुरा त्यतिबेला कहाँ बुझिन्थ्यो र ! सन्तानको अनुहारमा मुस्कान देख्नु नै उहाँहरूका लागि सबैभन्दा ठूलो सन्तोष थियो । बा–आमा परिवारलाई एकताबद्ध राख्ने आधार हुनुहुन्थ्यो । कसैको मनमुटाव भए मिलाउने, कोही दुःखी भए सम्झाउने र कोही समस्यामा परे सहयोग जुटाउने काम उहाँहरूले गर्नुहुन्थ्यो । उहाँहरूको उपस्थितिले पारिवारिक जिम्मेवारी हलुका हुन्थ्यो । वर्षभरि आफ्ना काममा व्यस्त रहेका छोराछोरीले मुलघर पुगेपछि ढुक्कसँग समय बिताउन पाउँथे । मूलघर केवल बस्ने ठाउँ थिएन; त्यो माया, भरोसा र आत्मीयताको केन्द्र थियो ।
बा–आमाबिनाको दसैँ ः सम्झनाले भिजेको मन
जीवनको सत्य थाहा हुँदाहुँदै पनि बा–आमाको वियोग सहज हुँदैन । उहाँहरू संसारबाट बिदा भएपछि घरको एउटा कोठा मात्र खाली हुँदैन, जीवनको एउटा युग नै समाप्त भएको अनुभूति हुन्छ । दसैँ फेरि आउँछ, टीका लगाइन्छ, मीठोमसिनो पाक्छ र आफन्तसँग भेटघाट पनि हुन्छ । तर यी सबै खुसीको बीचमा एउटा नदेखिने रिक्तता रहिरहन्छ । मनले सोधिरहन्छ—घर पुग्दा बाहिरैबाट ‘बा ! आमा !’ भनेर बोलाउँदा अब जवाफ कसले दिने ? हाम्रो बाटो हेरेर बस्ने ती आँखा कहाँ छन् ? बा–आमा नहुँदा मूलघर पुग्नुको अर्थ नै बदलिँदो रहेछ । पहिले उहाँहरूलाई भेट्न, उहाँहरूको हातबाट टीका लगाउन र उहाँहरूको सान्निध्यमा रमाउन घर गइन्थ्यो । अहिले त्यही घरमा पुग्दा विगतका दृश्यले मनलाई झस्काइरहन्छन् । कुनै कुनामा बा बस्नुहुन्थ्यो, कुनै ठाउँमा आमा काम गरिरहनुभएको हुन्थ्यो । भान्सामा पाक्ने परिकारसँग उहाँहरूको स्वर मिसिएको हुन्थ्यो । ती दृश्य अहिले आँखाअगाडि नभए पनि स्मृतिमा उस्तै जीवन्त छन् । बा–आमा नहुँदा परिवारका सबै सदस्यलाई एकै ठाउँमा जम्मा गराउने साझा केन्द्र पनि कमजोर हुँदै गएको अनुभूति हुन्छ । कामको व्यस्तता, भौगोलिक दूरी र आफ्नै परिवारको जिम्मेवारीका कारण कतिपय सदस्य दसैँमा मूलघर जान नसक्ने वा नजाने अवस्था सिर्जना हुन्छ । यी बाध्यताका आफ्नै कारण होलान्, तर मनले प्रश्न गर्छ—हामी सबैलाई एउटै घरमा बोलाउने बा–आमा हुनुहुन्न भन्दैमा के पारिवारिक सम्बन्धप्रतिको हाम्रो दायित्व पनि समाप्त भएको हो ? बा–आमा नहुँदा दसैँको खुसी पूर्ण रूपमा हराउँदैन, तर त्यसमा अपूरोपन रहिरहन्छ । पहिले उहाँहरूबाट उपहार पाइन्थ्यो, अहिले उहाँहरूले दिनुभएको संस्कार र सम्झना अमूल्य सम्पत्ति बनेका छन् । पहिले उहाँहरूको हातबाट टीका लगाएर आशीर्वाद लिइन्थ्यो, अहिले उहाँहरूले सिकाउनु भएका मूल्य र मान्यतालाई जीवनमा उतार्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली भएको छ ।
बाल्यकालको नयाँ लुगा, टपरीभरि सेलरोटी, मामाघरको यात्रा र बा–आमाको मायाले भरिएको घर सम्झँदा ओठमा मुस्कान आउँछ, तर ती दिन फेरि फर्केर आउँदैनन् भन्ने अनुभूतिले आँखाको डिल भिजाइदिन्छ । सम्झनाको विशेषता नै यही रहेछ—त्यसले एकैपटक खुसी पनि दिन्छ र अभावको पीडा पनि महसुस गराउँछ । बा–आमा आज साथमा नभए पनि उहाँहरूले दिनुभएको माया र संस्कार जीवनभरि साथ रहन्छ ।
जीवन छँदै बा–आमालाई सम्मान गरौँ
बा–आमाको महत्त्व उहाँहरू संसारबाट बिदा भएपछि मात्र महसुस गर्नु मानवीय कमजोरी हो । जीवित छँदा उहाँहरूको स्नेहलाई स्वाभाविक ठान्ने, उहाँहरूका कुरा सुन्न समय नदिने वा आफ्नै व्यस्तताका कारण साथ दिन नसक्ने प्रवृत्ति पछि पश्चात्तापको कारण बन्न सक्छ । मानिससँग धन कमाउने, घर बनाउने र संसार घुम्ने अवसर हुन्छन्; तर गुमाइसकेका बा–आमासँग फेरि एकपटक कुरा गर्ने अवसर हुँदैन । त्यसैले बा–आमा जीवित हुनुहुन्छ भने उहाँहरूलाई समय दिनुहोस् । उहाँहरूको कुरा सुन्नुहोस्, स्वास्थ्य र आवश्यकताको ख्याल गर्नुहोस् तथा भावनाको सम्मान गर्नुहोस् । चाडपर्वमा मात्र होइन, सामान्य दिनमा पनि उहाँहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गर्नुहोस् । महँगा उपहारभन्दा सन्तानको साथ, आत्मीय बोली र सम्मानले उहाँहरूलाई बढी खुसी दिन सक्छ । हाम्रो संस्कारले ‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्दै आमा र बुवालाई देवता समान सम्मान गर्न सिकाएको छ । यो सम्मान टीका लगाउने दिन खुट्टा ढोग्ने औपचारिकतामा मात्र सीमित हुनुहुँदैन । उहाँहरूको इच्छा बुझ्नु, वृद्धावस्थामा साथ दिनु र आत्मसम्मानको रक्षा गर्नु पनि उत्तिकै आवश्यक छ । बा–आमाको सेवा धार्मिक पुण्यको विषय मात्र होइन, मानवीय कर्तव्य र सन्तानको नैतिक जिम्मेवारी हो । उहाँहरू नहुनेहरूले उहाँहरूको सम्झनालाई असल कर्म, पारिवारिक एकता र सामाजिक सेवामार्फत जीवन्त राख्न सक्छन् ।
विजयादशमीको सन्देश र नयाँ पुस्ताको जिम्मेवारी
विजयादशमीले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अहङ्कारमाथि विवेकको विजयको सन्देश दिन्छ । आफ्नै मनभित्रका स्वार्थ, घमण्ड, लोभ र असहिष्णुतामाथि विजय प्राप्त गर्नु पनि उत्तिकै आवश्यक छ । परिवारभित्र प्रेमभन्दा अहङ्कार ठूलो भयो र सम्बन्धभन्दा सम्पत्ति ठूलो भयो भने धार्मिक अनुष्ठान पूरा भए पनि दसैँको वास्तविक मर्म अधुरो रहन्छ । आजको युवा पुस्ता ज्ञान, प्रविधि र अवसरका हिसाबले अगाडि छ । आधुनिकता अँगाल्नु सकारात्मक कुरा हो, तर आधुनिक हुनु भनेको आफ्नो भाषा, संस्कृति, परम्परा र पारिवारिक मूल्य बिर्सनु होइन । टीका लगाउनु मान्यजनप्रति सम्मान र आशीर्वाद ग्रहण गर्नु हो । जमरा समृद्धि र शुभकामनाको प्रतीक हो भने आफन्तसँग भेटघाट गर्नु सम्बन्ध नवीकरण गर्ने अवसर हो । यी परम्पराको अर्थ बुझेर व्यवहारमा उतार्न सक्नु नै संस्कृतिको वास्तविक संरक्षण हो । आज कतिपय अवस्थामा संस्कारलाई फेसन, टीकालाई तस्बिर र भेटघाटलाई सामाजिक सञ्जालको प्रदर्शनमा सीमित गरिँदै छ । ठूलाबडाको आशीर्वाद लिनुभन्दा तस्बिर खिच्न हतार गर्ने र परिवारसँग संवाद गर्नुभन्दा मोबाइलमा व्यस्त हुने प्रवृत्तिले चिन्ता बढाएको छ । आधुनिकतासँगै संस्कारको मूलभावना पनि जोगाउन आवश्यक छ । परिवारका ज्येष्ठ सदस्यसँग बसेर पुराना कथा सुन्ने, बालबालिकालाई संस्कृति र इतिहासबारे बताउने, टाढा रहेका आफन्तसँग सम्पर्क गर्ने र दुःखी तथा असहाय व्यक्तिसँग खुसी बाँड्ने अभ्यासले दसैँको सन्देशलाई व्यवहारमा उतार्न सक्छ । दसैँको वास्तविक खुसी खर्चको प्रदर्शनमा होइन, सम्बन्धको गहिराइमा हुन्छ । घरमा बा–आमालाई सम्मान नगर्ने, आफन्तसँग मनमुटाव राख्ने र समाजमा विभेद कायम राख्ने हो भने विजयादशमीले दिन खोजेको सद्भावको सन्देश कसरी सार्थक होला ? धर्मले असल बन्न, संस्कृतिले सम्बन्ध जोड्न र परिवारले प्रेमको अर्थ बुझ्न सिकाउँछ । यी मूल्य व्यवहारमा उतार्न सके मात्र दसैँको मर्म पूरा हुन्छ ।
अन्त्यमा ः सम्झनामा बा–आमा, संस्कारमा उहाँहरूको उपस्थिति
आज बा–आमा साथमा हुनुहुन्न । दसैँ आउँछ, टीका लगाइन्छ र शुभकामना आदानप्रदान गरिन्छ । तर घर फर्कँदा सुन्न पाइने त्यो न्यानो आवाज, खुसीले भरिएको अनुहार र निस्वार्थ प्रेमले भरिएको सान्निध्य फेरि प्राप्त गर्न सकिँदैन । उहाँहरूसँग बिताएका बाल्यकालका रमाइला दिन सम्झँदा मुस्कान आउँछ, तर ती क्षण अब सम्झनामा मात्र सीमित छन् भन्ने अनुभूतिले मन भारी बनाउँछ ।
बा–आमाले आफ्ना रहर थाती राखेर सन्तानका खुसीका लागि जीवनभरि मिहिनेत गर्नुभयो । आफूलाई दुःख भए पनि सन्तानलाई सहजता दिनुभयो । हामीले नयाँ लुगा लगाएर रमाउँदा र मीठोमसिनो खाँदा उहाँहरूका लागि त्योभन्दा ठूलो खुसी अरू केही हुँदैनथ्यो । आज उहाँहरू प्रत्यक्ष रूपमा हाम्रो बीचमा नभए पनि उहाँहरूले सिकाउनुभएका संस्कार र दिनुभएको माया जीवनका अमूल्य सम्पत्ति बनेका छन् । यस विजयादशमीमा सबैको घरमा प्रेम, सद्भाव र खुसीको दीप बलोस् । परिवारका सदस्यबीच आत्मीयता बढोस्, ज्येष्ठ नागरिकले सम्मान पाऊन्, बालबालिकाले असल संस्कार सिकून् र युवा पुस्ताले आधुनिकतासँगै आफ्नो मौलिक पहिचान पनि जोगाओस् । कसैको घरमा अभाव छ भने सहयोगको हात अघि बढोस् र परिवारमा मनमुटाव छ भने मेलमिलापको सुरुवात होस् ।
बा–आमा साथमा हुनुहुन्छ भने उहाँहरूलाई अँगालो हालेर माया व्यक्त गर्न नबिर्सौँ । उहाँहरू हुनुहुन्न भने उहाँहरूको संस्कारलाई जीवन्त राख्न नछोडौँ । टीकाको रङ समयसँगै पखालिन सक्छ, जमरा ओइलाउन सक्छ र उत्सवको चहलपहल सकिन सक्छ; तर बा–आमाले दिएको निस्वार्थ प्रेम र उहाँहरूले सिकाएको असल संस्कार जीवनभरि मेटिँदैन । सायद यही हो—बा–आमाबिनाको दशैँले सिकाउने सबैभन्दा गहिरो पाठ । धनसम्पत्तिभन्दा सम्बन्ध ठूलो हुन्छ, देखावटी उत्सवभन्दा आत्मीयता मूल्यवान् हुन्छ र परम्पराको बाहिरी स्वरूपभन्दा त्यसको मर्म महत्त्वपूर्ण हुन्छ । विजयादशमीको वास्तविक विजय पनि त्यही हो—आफ्नो मनमा प्रेम, परिवारमा एकता र समाजमा सद्भाव स्थापित गर्नु ।









प्रतिक्रिया दिनुहोस्