‘हाइअलर्ट’मा कर्णालीका प्रशासन



वीरेन्द्रनगर ।

लगातारको वर्षाले उच्च पहाडी क्षेत्रमा हिमपात, नदी तथा खोलामा बढ्दो बहाव र ठाउँ–ठाउँमा पहिरो खस्नेक्रम रोकिएको छैन भने कर्णाली प्रदेशका १० वटै जिल्लाको प्रशासन विपद् व्यवस्थापनमा केन्द्रित भएका छन् । सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासनले सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा राखेका छन् । जोखिमयुक्त बस्ती र सडकखण्डमा निगरानी बढाइएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको निर्णयपछि प्रदेशभर मौसमी विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी तीव्र पारिएको हो ।

प्रदेश राजधानी सुर्खेतमा भने ठूलो जनघनत्व र उच्च सवारी चापलाई ध्यानमा राखेर विपद् व्यवस्थापनको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार सुरक्षा निकाय, अस्पताल र नेपाल रेडक्रसलाई हाइअलर्टमा राखिएको छ । विपद् आइपरेमा तत्काल प्रभावित नागरिकलाई राख्न सामुदायिक भवन, विद्यालय तथा स्वास्थ्य चौकीलाई सम्भावित आश्रयस्थलका रूपमा तोकिएको छ । प्रशासनका अनुसार तत्काल उद्धार, राहत तथा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक जनशक्ति र उपलब्ध साधनस्रोत तयारी अवस्थामा राखिएको छ ।

उच्च हिमाली जिल्लामा हिमपात, नदी तटीय क्षेत्रमा बाढी तथा डुबान, पहाडी बस्तीमा पहिरो र वर्षाका कारण सडक दुर्घटनाको जोखिमसमेत बढेको प्रशासनको आकलन छ । यही कारण जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नियमित सूचना प्रवाह गर्नुका साथै सडक आवागमनसमेत परिस्थितिअनुसार नियन्त्रण गर्न थालिएको छ । सुुर्खेतसँगै डोल्पा, हुम्ला, मुगु र कालीकोट प्रशासनले नदी तटीय तथा भिरालो भूभागमा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, हुम्लाका भोलानाथ गुरागाईँ, मुगुका पोषणराज भण्डारी र कालिकोटका छविलाल भट्टराईले जोखिमयुक्त क्षेत्रमा नियमित निगरानी भइरहेको बताएका छन् ।

मुगुमा उच्च भागमा हिमपात र तल्लो क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । मौसमको यही मिश्रित अवस्थाले हिमाली क्षेत्रमा आवागमनदेखि ग्रामीण बस्तीको दैनिकीसम्म प्रभावित हुने जोखिम बढाएको प्रशासनको भनाइ छ । जुम्लामा प्रशासनले हिमनदी आसपासका बस्तीलाई जोखिमको दृष्टिले हेरेको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार सिञ्जा क्षेत्रका हिमनदी किनारमा रहेका जोखिमयुक्त बस्तीको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ । दैलेखमा भने पहिरोको जोखिममा परेका परिवारलाई तत्काल सुरक्षित आश्रयको व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार चामुण्डा बिन्द्रासैनी–६ का प्रभावित परिवारलाई नजिकैको विद्यालयमा राखिएको छ ।जाजरकोट र रुकुमपश्चिममा पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा तथा उद्धारका संयन्त्र तयारी अवस्थामा राखिएको छ । रुकुम पश्चिमको आठबीसकोटस्थित गोतामकोटमा आवश्यक परे अस्थायी बसोबासका लागि क्षेत्रसमेत तोकिएको छ ।मौसमजन्य विपद्को अर्को ठूलो असर कर्णालीका सडकमा परेको छ । भौगोलिक रूपमा कठिन भूभाग र कमजोर सडक संरचनाका कारण सामान्य वर्षामै पहिरो तथा सडक अवरोध हुने कर्णालीमा लगातारको खराब मौसमले यातायात व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार कर्णाली करिडोर, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–सल्यान तथा लुहाम–कालीमाटी सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । सल्यानमा राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुल्सीपुर सडकखण्डमा पहिरोका कारण दिउँसोको समयमा समेत सवारी आवागमन बन्द गरिएको छ । प्रशासनले एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीलाई भने सञ्चालन गर्न दिएको छ ।संक्रमणको अवस्था अध्ययन तथा व्यवस्थापनका लागि विज्ञ टोली माग गरिए पनि खराब मौसमका कारण टोलीको आगमन रोकिएको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले बताएकी छन् ।

‘रात्री बस नचलाउने’ निर्णय

मौसमजन्य जोखिमलाई ध्यानमा राख्दै प्रदेशभर असोज ८ देखि ११ गतेसम्मका लागि भन्दै रात्रिकालीन तथा लामो दूरीका सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । विशेषगरी लामो दूरीका यात्रु सवारीलाई जोखिमयुक्त सडकमा राति सञ्चालन हुन नदिँदा सम्भावित दुर्घटना घटाउने प्रशासनको तयारी छ । तर सडक अवरोधसँगै अत्यावश्यक सेवा र आपूर्ति प्रणालीमा असर पर्न सक्ने भएकाले प्रशासनका लागि अर्को चुनौती पनि थपिएको छ । त्यसैले सडकको अवस्था, वैकल्पिक मार्ग र अत्यावश्यक सेवाको निरन्तरतालाई सँगसँगै व्यवस्थापन गर्नुपर्ने अवस्था छ । प्रदेशका १० वटै जिल्ला प्रशासनले यही रणनीतिअनुसार संयन्त्र परिचालन गरेका छन् ।

जुुम्लाको तातोपानी गाउँपालिकाको पालिकास्तरीय विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी मजबुद र प्रभावकारी बनाउने निर्णय गरेको छ । शुक्रबारदेखि देशभर हुने भारी वर्षा र त्यसपछि हुने विपदका सवालमा राहत उद्वार र पुर्नस्थापनालाई प्रभावकारी बनाउन तातोपानीको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ६ वटा निर्णय गरेको छ । जसमा समुदाय, विधालय, सरकारी कार्यालय लगायतका स्थानमा विशेष सर्तकता अपनाउने, यात्रा गर्दा विशेष सावधानी अपनाउने, वडादेखि पालिकाको विपद व्यवस्थापन समितिका पदाधिकारी तैथान रहने, डोजर, जनशक्ति तयारी अवस्था राख्ने निर्णय गरिएको हो ।

यस्तै, ईन्धनको मौज्दात राख्ने, खाधन्न सामाग्रीको मौज्दात राख्ने लगायतका ६ वटा निर्णय गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए । माइकिङ गरेर सचेत गराउँदै प्रहरीजिल्ला प्रहरी कार्यालय हुम्लाले  भारी वर्षा कारण सचेत रहन सर्वसाधारणलाई माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाको सम्भाव्यताका कारण स्थानीय प्रशासनले हुम्ला खण्डको सडकमा रातीको यातायात रोक्ने निर्णय गरेको हो । भारी वर्षाको सम्भावना रहेको जानकारी मौसम विज्ञान विभागबाट भएअनुसार जिल्लावासीले पनि विशेष सतर्कता अपनाउन माइकिङ गर्ने कार्य जारी राखिएको प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।

यो अवधिमा विशेष काम नपरी यात्रा नगर्नसमेत उनले जिल्लावासीलाई आग्रह गरेका छन् । जिल्लाका धेरैजसो भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको जानकारी प्रहरीले गरिरहेको छ । हुम्ला जिल्लाको कवाडीदेखि हिल्सासम्म स्थापना गरिएका प्रहरी चौकीका प्रहरीले सो कार्य बिहानैबाट जारी राखेको छ । यस अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन भन्दै नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन र डुबान क्षेत्रका बासिन्दालाई पूर्वतयारी अपनाउन तथा जोखिमको संकेत पाउनेबित्तिकै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । सबै सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवालालाई उच्च सतर्क अवस्थामा रहन र सम्भावित विपदमा परेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

यता स्थानीय प्रशासनले कर्णाली करिडोरको हुम्ला खण्डको सडकमा रातीको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । सम्भावित जोखिमबाट जोगिन र दुर्घटना हुनबाट बच्नका लागि रातीको समयमा यातायातका साधनलाई सञ्चालनमा रोक लगाउने कार्य गरिएको हो । भारी वर्षा हुने सम्भावना रहेको कारण कर्णाली करिडोरको हुम्ला खण्डको सडकमा यातायातका साधन सञ्चालनमा रोक लगाउने कार्य गरिएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए । उनका अनुसार बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडीदेखि चीनसँगको सीमा क्षेत्र हिल्सासम्मको सडकमा राती साना ठूला यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । वर्षाको जोसिख कम भएसँगै बिस्तारै यातायात सेवा चौबिसै घण्टा सञ्चालनको व्यवस्था गरिने प्रशासनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार