नुवाकोट ।
त्रिशूली नदीको किनारमा बसेको विदुर नगरपालिका–९ को माछापोखरी, सिलट्याङ्की र आसपासका बस्तीहरूमा आज पनि बाढीको पीडा जीवित छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले केही मिनेटमै सयौँ परिवारको संसार उजाडिदियो । कसैको घर बग्यो, कसैले आफ्ना प्रियजन गुमाए, कतिपय अझै बेपत्ता छन् । विद्यालयका कक्षाकोठा अस्थायी आश्रयस्थल बनेका छन्, जहाँ पीडित परिवार नयाँ बिहानको प्रतीक्षामा बसिरहेका छन् ।
बाँकेको नेपालगन्जमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था शुभ सन्देश सभा नेटवर्क–नेपाल (ज्ञान, नेपाल) राहतले भरिएका आठ वटा सवारीसाधन लिएर नुवाकोट पुग्यो । संस्थाले एक करोड ३७ लाख ९ हजार रूपैयाँँ बराबरको राहत सामग्री वितरण गर्दै विपद्ले थिलथिलो बनेका परिवारलाई केवल सामग्री मात्र नभएर आशा, साथ र आत्मबल पनि प्रदान ग¥यो । विदुर–९ स्थित त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राहत वितरण गरिएको थियो ।
राहत सामग्रीको ठूलो परिमाण देखेर स्थानीय बासिन्दा आश्चर्यचकित बने । राहत लिन आउँदा आफ्ना हराएका आफन्त सम्झेर स्थानीय भावुक बनेका थिए । कतिपयको आँखाबाट आँसु रोकिएन । त्यो दृश्य केवल राहत वितरणको कार्यक्रम नभएर पीडा र सहानुभूतिबीचको मौन संवाद थियो ।
१२५ परिवारका ७०० र १,५०० विद्यार्थी प्रत्यक्ष लाभान्वित
ज्ञान नेपालका अध्यक्ष डा. डक्टप्रसाद धितालले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित १२५ परिवारका करिब ७०० महिला तथा पुरुषलाई राहत वितरण गरिएको जानकारी दिए । त्यससँगै १,५०० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । बाढीले घर र सम्पत्ति गुमाएका बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयका विद्यार्थीलाई कापी, कलम, इरेजरलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको उनले बताए । डा. धितालले भने, ‘विपद् सकिएपछि पनि पीडितको दुःख सकिँदैन । तत्काल राहत आवश्यक छ, तर त्यससँगै उनीहरूको आत्मबल बढाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हामी त्यही सन्देश लिएर यहाँ आएका हौँ ।’
के–के सामग्री वितरण गरियो ?
राहत सामग्री दैनिक जीवन पुनः सुरु गर्न आवश्यक वस्तुमा केन्द्रित थियो । वितरण गरिएका सामग्रीमा महिला तथा पुरुषका जुत्ता, गमबुट, टी–सर्ट, पाइन्ट, इनर, त्रिपाल, कम्बल, गद्दा, बिछ्याउने सामग्री, सेनिटरी प्याड, विभिन्न भाँडाकुँडा, बालबालिकाका लागि स्टेशनरी सामग्री तथा वडा कार्यालयलाई कम्प्युटरसमेत प्रदान गरिएको थियो ।
स्थानीयका अनुसार यति व्यवस्थित र विविध सामग्रीसहितको राहत पहिलो पटक पुगेको हो । राहत सामग्री पाएपछि बाढी प्रभावित स्थानीय इस्मिता तामाङले आँसु रोक्दै भनिन्, ‘घर गुमायौँ, आफन्त गुमायौँ । अब कसरी बाँच्ने भन्ने चिन्ता थियो । आज सहयोग पाएपछि हामीलाई लाग्यो—हामीलाई सम्झने मानिस अझै रहेछन् ।’ उनीजस्तै धेरै महिलाले राहत सामग्री बुझ्दै भावुक हुँदै धन्यवाद व्यक्त गरे । उनीहरूका अनुसार विपद्पछिको कठिन जीवनमा यो सहयोगले नयाँ ऊर्जा दिएको छ ।








प्रतिक्रिया दिनुहोस्