पहिरोबाट आधा दर्जनभन्दा बढी घरमा क्षति



बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ कोठ्यारामा अविरल वर्षापछि पहिरो खस्दा घर तथा गोठमा क्षति पुगेको छ । पहिरोले दुई वटा गोरु पुरिएर मरेका छन् भने एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मार्तडी क्षेत्रका विभिन्न स्थानका घर तथा गोठमाथिबाट पहिरो खसेको हो । अविरल वर्षापछि सदरमुकाम मार्तडी क्षेत्रमा ठाउँ ठाउँमा पहिरो खसेर सडक, घर तथा गोठमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

उनकाअनुसार बडीमालिका नगरपालिका– ९ बस्ने मोती उखेडाको भुईँतले गोठमाथिबाट पहिरो खस्दा गोठमा रहेका दुई वटा गोरु पुरिएर मरेका छन् । यस्तै, वडा नम्बर ८ कोठ्याराका नरे रावलको दुई तले घरमाथिबाट पहिरो खस्दा घरमा आंशिक क्षति पुगेको छ । पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक भैँसी र एक पाडो पुरिएका थिए । प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दुवै चौपायालाई जीवितै उद्धार गरिएको सूचना अधिकारी भाटले बताए ।

त्यस्तै, वडा नम्बर ९ का धनबहादुर विक र तुले लुहारको गोठमाथिबाट पनि पहिरो खस्दा विद्युत् लाइनमा क्षति पुगेको छ भने खाद्यान्न तथा लत्ताकपडा क्षति भएको छ । सोही ठाउँका करे थापाको दुई तले पक्की घरको भित्तो र आँगनमा पहिरोले क्षति पु¥याएको छ भने जंग ओखेडाको गाईगोठको आँगनसमेत पहिरोका कारण भत्किएर क्षति भएको प्रहरीले जनाएको छ । दीपक विकको टिनले बनेको घरमाथिबाट पहिरो खस्दा घर पूर्णरूपमा क्षति हुँदा खाद्यान्न, लत्ताकपडा तथा भाँडावर्तनसमेत पुरिएर क्षति भएको प्रहरीले जनाएको छ ।

शनिबार राति अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत बडीमालिका ६, ८ र ९ का विभिन्न स्थानमा सडकमाथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो भने सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै, रातिदेखि जिल्लाभर राष्ट्रिय प्रशारण लाइन विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा अवरुद्ध

शनिबार राति पहिरोले ३२ वटा पोल ढलेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ पोल ढलेपछि विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा ७ पोल र वीरेखोला क्षेत्रमा २५ वटा पोल ढलेका छन् ।

शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएकोमा सोमबारसम्म पनि सुचारु हुने सम्भावना नरहेको उनले बताए । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न आइतबार दिनभर प्राविधिकको टोली खटिएको भए पनि वर्षा सुरु भएपछि फर्किएको जोशीले बताए । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा रहेको छ । जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे–मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत्का पोल तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अविरल वर्षाका कारण बाजुरामा साँफे–मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ भने पहिरो पन्छ्याउन सुरु गरे पनि पुनः भारी वर्षा हुन थालेपछि समस्या हुँदा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार